उत्तम त उद्यम नि

उत्तम त उद्यम नि

मासिक एक लाख रुपैयाँभन्दा माथि कमाउने जागिर छोडेर उद्यमी बनेका युवाको काम–कहानी :


बिहानदेखि साँझसम्म कलेज र ट्युसनका कक्षा धाउँदै खानेसम्म फुर्सद नपाउने उनी अचेल उद्योगपतिका रूपमा चिनिन्छन्, सुर्खेत वरिपरि। करिब तीन वर्षसम्म विभिन्न कलेजमा अध्यापन गरेपछि उनी महिनामा एक लाख रुपैयाँभन्दा बढी कमाउने जागिर नै छाडेर उद्योगतिर लागे। सधैं अर्काकहाँ जागिरका लागि धाउनुभन्दा आफैं केही गरौं भन्ने सोचका साथ सुरु भएको उनको उद्योगले अहिले उनलाई सबैमाझ सफल उद्योगीका रूपमा चिनाएको छ। उनी अर्थात् राजेन्द्र विष्ट।

गगनबहादुर विष्ट र जमुना विष्टको जेठो सन्तानका रूपमा दैलेखको चामुण्डा वृन्दाशैनीको सिरौलमा जन्मेका हुन्, राजेन्द। बुवाले सुर्खेतमा सानो होटल चलाउने भएकाले उनको बाल्यकाल अभावमा रहेन। पढाइ पनि सुर्खेतको निजी स्कुल आदर्श माविबाट भयो। उनले प्रवीणता प्रमाणपत्र तह काठमाडौंको महेन्द्र–रत्न क्याम्पस ताहाचलबाट विज्ञानमा गरे। त्यसपछि स्नातक अध्ययनका लागि भारतको देहरादुन गए। केन्द्रीय विश्वविद्यालय गढवाल, देहरादुनमा बायो केमेस्ट्रीमा स्नातक गरे।

घरमा अरू भाइबहिनी पनि भएकाले लगातार स्नातकोत्तर गर्ने उनको सपना अधुरै रह्यो। उनी दैलेखको विजय माविमा अध्यापन गर्न लागे। ‘घरमा भाइहरूलाई पढाउन र घर खर्च चलाउन बुवाको कमाइ ठिक्क हुने भएपछि मैले जागिर खानुपर्ने भो’, उनले भने, ‘करिब दुई वर्षसम्म दैलेखको जीवनज्योति माविमा पढाएँ। पढाइमा अब्बल भएकाले सबैले सरकारी जागिरका लागि दबाब दिइरहेका थिए। तर मलाई अझै अध्ययन गर्ने मन थियो।’

उनका बुवा गगनबहादुरलाई बे्रन ट्युमरको संक्रमण देखियो। पूर्ण उपचार असम्भव यो रोगको निदानका लागि राजेन्द्रले बुवालाई लखनउ–नेपाल गराउँदै धेरै खर्च भयो। ‘पढाएर केही पैसा जम्मा गर्दै थिएँ, त्यत्तिकैमा बुवा सिरियस बिरामी हुनुभयो। ब्रेन ट्युमर हो भन्ने थाहा पाएपछि मेरो सातो नै गयो’, विष्टले आफ्नो विगत सुनाउँदै भने, ‘मेरो मात्रै होइन, बुवाले कमाएर जम्मा गरेको रकम पनि उपचारमै सकियो। धेरै ऋणमा डुब्यौं तर बुवालाई बचाउन सकेनौं।’

केही समय पढाएपछि केही पैसा जोहो गरी उनी देहरादुनतिर लागे। बायो केमेस्ट्रीमा स्नातकोत्तर गरेर फर्केलगत्तै उनले सुर्खेतस्थित एक कलेजमा जागिर पाए। उनले लगातार तीन वर्षसम्म सुर्खेतका पाँच/छवटा कलेजमा पढाए।

‘बिहानको कक्षा र दिउँसोको ट्युसन गरेर मासिक साढे एक लाख रुपियाँसम्म कमाएँ तर खाना खाने र आराम गर्ने फुर्सद पनि पाइनँ’, विष्टले थपे, ‘कलेज पढाएको कमाइले बुवाको उपचार गर्दा लागेको ऋण तिरेँ।’

बिस्तारै बायोलोजी विषयमा सुर्खेतका कलेजहरूमा एक नम्बर रोजाइका शिक्षक बनिसकेका थिए, विष्ट। तर, उनको बाटो मोडियो। उनले एकाएक जागिर छाडे। घरपरिवारदेखि आफन्तसम्मले उनलाई ‘बहुलायो’ पनि भने।

बायो केमिकलबाट निर्मित विभिन्न वस्तुबारे ज्ञान हासिल गरेका विष्टलाई आफूले पढाउने कलेजका शौचालय र भान्सामा भारतीय उत्पादन देख्दा मन खिन्न हुन्थ्यो। नेपालीहरू परर्निभर भएको देख्दा उनी दुःखी हुन्छन्। भने, ‘ज्ञानसीप हुँदाहुँदै हाम्रो ठाउँमा भारतीय बजारको उत्पादन खपत हुनु दुर्भाग्य हो।’

उनले उद्योग खोल्ने सोच बनाए तर प्रशस्त रकम थिएन। सुरुमा उनले साढे एक लाख रुपैयाँ लगानीमा सुर्खेत साइन्स एन्ड सर्जिकल नामक विज्ञानका अभ्यास शिक्षणमा आवश्यक सामग्री बिक्री केन्द्र खोली एक वर्ष निरन्तरता दिए। अहिले त्यो पसल उनका भाइले हेर्छन्। उनले बायोकेमिकल उद्योगका लागि चाहिने सामग्री जोरजाम पारेपछि २०७३ सालमा पाँच लाख रुपैयाँको लगानीमा उद्योग स्थापना गरे। आधा कट्ठा जमिनमा सानै भए पनि उनको उद्योग अहिले पश्चिम नेपालमा स्थापित भएको छ।

‘जागिर छाडेर शौचालयमा प्रयोग हुने सामग्री उत्पादकका रूपमा काम गरेपछि सबै अचम्म छन्। आठजनालाई रोजगारी दिएका विष्टप्रति घरका परिवार पनि खुसी छन्। उद्योगमा उत्पादन हुने १० वटा आइटम भान्छा, शौचालय, बाथरुम र घर सफाइका लागि प्रयोग हुन्छ। हातखुट्टा फुट्नेहरूका लागि ग्लिसिरिन, मेटल कलिन–भाँडा चम्काउने केमिकल उत्पादन भइरहेको छ। भाइरेक्स अस्पतालका औजारहरू सफा गर्नेका लागि प्रयोग हुने भाइरेक्स, भाँडा माझ्ने डिसवास, भुइँ सफा गर्न सेतो फिनायल, ग्लास क्लिनर, ट्वाइलेट क्लिनर हार्पिक, हात सफा गर्ने ह्यान्ड वास र बाइक क्लिनर उत्पादन भइरहेको छ।

कर्णालीका बजारमा अहिले आफ्नो उद्योगबाट उत्पादित सामान खपत भइरहेको दाबी विष्टको छ। मासिक पाँच लाख रुपियाँभन्दा बढीको कारोबार गर्ने बताउँछन् उनी।

विष्टलाई सबैभन्दा समस्या कच्चा पदार्थको छ। ८० प्रतिशत कच्चा पदार्थ भारतीय बजारबाट आउने भएकाले पनि उत्पादनमा समस्या पर्ने गरेको छ।

उनले आफ्ना उत्पादनको ब्रान्ड नाम सुविन राखेका छन्। बायोपिक उद्योगमा उनले नकुहिने १० केजी प्लास्टिकबाट ८ लिटर डिजेलसमेत उत्पादन गरेका छन्।

सम्भावना छैन भन्दै वैदेशिक रोजगारीमा हिँड्ने र सरकारी जागिर मात्रै रोजगारी हो भन्नेलाई विष्ट ‘अल्छी’को संज्ञा दिन्छन्। ‘कुनै पनि सीप हातमा हुँदा काम गर्न कसैले रोक्दैन। लगानी छैन, मान्छे छैन भन्नेहरू अल्छी हुन्’, उनले भने, ‘जाँगर भए सानै लगानीमा पनि काम सुरु गर्न सकिने उनको अनुभव छ।’ अल्छी गरी सजिलो काम खोज्नेलाई कहीँ गए पनि सफलता नमिल्ने ठोकुवा विष्टको छ। अहिलेसम्म कुनै पनि निकायबाट अनुदानसमेत लिएका छैनन्, उनले।

आफ्नै लगानीमा सानै काम भए पनि महत्त्वपूर्ण हुने उनको ठम्याइ छ। स्थानीय सरकार र प्रदेश सरकारले काम गर्ने युवालाई रकम दिनेभन्दा पनि जग्गा र पूर्वाधार तयार पार्नसके स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने विष्टको सुझाव छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.