मातृत्व
कसैसँग बोल्दैन
साथीसँग खेल्दैन
कक्षामा पछा...डि बस्छ
म कसैसँग मीठो बोल्दा चिड्चिडिन्छ ऊ
म ज्ञानी बन भन्छु— ऊ झनै चकचके भइदिन्छ
म नरिसाऊ भन्छु— ऊ झनै रिसाहा भइदिन्छ
म मीठो बोल भन्छु— ऊ झर्केर बोल्छ
म राम्रो पढ भन्छु— ऊ झर्को मान्छ
म सम्झाउँछु, उपदेश दिन्छु— ऊ मौन बस्छ
उता कान्ति छैन उसको मुहारमा
एता शान्ति छैन मेरो मनमा
गाली गरेँ, धम्क्याएँ, घुक्र्याएँ
कहिलेकाहीँ त पिटेँ पनि
जसरी मेरा आमाबाले मलाई पिट्थे
सम्झाउने, फकाउने, घुक्र्याउने, धम्क्याउने
र पिट्ने क्रिया अचुक सावित कतै भएनन्
बरु,
ऊ झनै उच्छृंखल र उद्दण्ड हुन थाल्यो
अफिसबाट केही दिन बिदामा बसेँ
भरपूर माया दिएँ
तिनताका केही ठीक देखियो ऊ
अफिस त जानै पर्थ्यो आखिर
उसलाई फेरि,
निःशब्दताले शून्यताले च्याप्पै समात्यो
पहिलाजस्तै गरी
पिरोलिन थाल्यो ऊ
फेरि केही दिन बिदामा बसेँ
भरपूर माया दिएँ
केही ठीक देखियो
फेरि अफिस त जानै पर्थ्यो आखिर
ऊ फेरि टोलाउन थाल्यो
झगडालु रिसालु हुन थाल्यो
अन्ततः जँचाउन लगेँ
उसले डाक्टरलाई भनेछ—
‘डाक्टर अंकल म बिरामी भ’कै छैन
बरु मलाई सधैं बिरामी हुने औषधि दिनु न
ममुले धेरै माया गर्नुहुन्छ क्या
म बिरामी हँदा कतै जानुहुन्न ममु, मसँग बस्नुहुन्छ !’
कक्रक्कै परेँ म
केही सोच्नै सकिनँ
आफूलाई निकै संवेदनशील आमा ठान्थेँ म
आफूलाई निकै जिम्मेवार आमा भन्थेँ म
उसको त्यो आवाज केवल आवाज मात्रै थिएन
पीडा, चित्कार र कारुणिक कथाको
कंकला थियो
बल्ल बुझेँ— ऊ टोलाउनुको कारण
बल्ल बुझेँ— ऊ रिसाहा हुनुको कारण
बल्ल बुझेँ— ऊ चकचके हुनुको कारण
बल्ल बुझेँ— ऊ उद्दण्ड हुनुको कारण
जतिखेर उसलाई मेरो आवश्यकता हुन्थ्यो
त्यतिखेर म पैसाको पछि नभागेको भए
घरलाई अफिस नबनाएको भए
उसँग समय बिताएको भए
बेड टाइम स्टोरी सुनाएको भए
मायाले उसलाई मुसारेको भए
ध्यान दिएर उसलाई सुनेको भए
हेरचाह र जिम्मेवारी आफैं लिएको भए
उसलाइ आफैंले होमवर्क गराएको भए
उसका कमजोरीप्रति बारम्बार
कुटिल प्रहार नगरेको भए
उसको जीवनमा मेरो भौतिक र मनोवैज्ञानिक उपस्थिति
भएको भए ऊ पनि बुद्धिमानी बन्थ्यो होला
एउटी आमाका लागि
सन्तान पहिलो प्राथमिकता हुनुपर्ने रहेछ
बुझिनँ मैले त्यतिखेर
हो छोरा,
खटिँदा म दिनरात तिम्रो भविष्यका खातिर
एस्तो अवस्था पनि आउला सोचिनँ मैले
माफी देऊ बिन्ती
एक पल्टलाई
जागिर राजीनामा दिएर
अब मातृत्वको जागिर खान्छु म
हो छोरा,
केवल तिम्रा लागि
मातृत्वको जागिर खान्छु म
असलमा तिम्री आमा बन्छु म।