पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
कालिकोट : तिलागुफा नगरपालिका-८ तलीवन र खाँडाचक्र नगरपालिका-१० चौखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। शुक्रबार राति कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडकखण्ड अन्तरगत तलीवन र चौखोलामा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्सपेक्टर देवेन्द्रकुमार मल्लले जानकारी दिए।
मल्लका अनुसार चौखोलामा सानो पहिरो गएको छ भने तलीवनमा ठुलो पहिरो गएको छ । पहिरो स्थलमा प्रहरीको टोली र डिभिजन सडक कार्यालय जुम्लाका प्राविधिकहरु गएर डोजरमार्फत पहिरो पन्छाउने प्रयास भइरहेको छ । शनिबार बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ ।
जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी बिनोद शर्माले कर्णाली राजमार्गको घट्टेखोला, दहिखोला, गगनेखोला, कालेखोला, सुनारखोला, मोल्फा बजार, पिली, चौखोला, खल्लागाड, तलीवन लगायतका दर्जनौँ ठाँउमा दैनिक रुपमा पहिरो गइ सडक अवरुद्ध हुँदा निकै सास्ती भएको बताए । उनले भने, 'विगतका वर्षहरुमा हप्तौंसम्म सडक अवरुद्ध हुन्थ्यो । यो वर्ष हामीले लगातार एक हप्ता राजमार्ग बन्द हुन दिएका छैनौँ । तर दैनिक रुपमा कुनै न कुनै ठाँउमा पहिरो जाँदा प्रहरी प्रशासन र यात्रुहरुलाई निकै सास्ती भएको छ।'
कालिकोटका प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जिल्लामा विपद् प्रतिकार्य योजना गर्न सुरु गरिएको बताए । उनले भने, 'जिल्लामा विपद् आइहाल्ला भनेर नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरुसँग भएको खोज तथा उद्धार टोली तयारी अवस्थामा राखिएको छ । जिल्लामा हुन सक्ने विपद्हरुका विषयमा पूर्ण रुपमा सूचना संकलन तथा त्यसको रोकथामका लागि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला स्तरीय समितिले विपद् प्रतिकार्य योजना पनि अद्यावधिक गर्दैछौँ ।'