मृत्युपछि आश्रितको गोजीमा भेटिएको १३ सय...

मृत्युपछि आश्रितको गोजीमा भेटिएको १३ सय...

सङ्ग्रहालयको मूलढोकाबाट प्रवेश गर्ने बित्तिकै सिसाले छोपेर राखिएका एक हजार ३०० मा सबैको ध्यान तान्छ। उभिएर छेउछाउमा नजर डुलाउँदा फिलिप्स कप्पनीको पुरानो रेडियो, केही थान पुरुषले प्रयोग गर्ने कपडालगायतका बस्तु देख्दा कौतुहलता बढ्छ।

सिसाभित्रको एक हजारको एउटा नोट र एक सयका तीनवटा नोट २६ वर्ष अगाडि चितवनको दासढुङ्गामा दुर्घटनामा ज्यान गुमाएका नेता जीवराज आश्रितको गोजीबाट निकालिएको थियो। 

आश्रितको मृत्युपछि उनले लगाएको कपडामा भेटिएका ती नोट अहिले बुटवलमा जीवराज आश्रित स्मृति प्रतिष्ठानले स्थापना गरेको जीवराज आश्रित स्मृति सङ्ग्रहालयमा राखिएको छ।

‘आश्रितले प्रयोग गरेका नोटमात्र होइन उहाँले प्रयोग गरेका रेडियो, कपडा, पुस्तकलगायतका सामग्री देख्दा उनलाई नजिकैबाट चिन्नेको मन भक्कानिन्छ’, पूर्व सांसद तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र घिमिरेले भने, ‘सङ्ग्रहालय अवलोकन गर्न आउनेलाई आश्रितको जीवनी र उहाँले प्रयोग गरेका सामग्री पहिचान गराउँदा कैयौं व्यक्तिका आँखा रसाउँछन्, आश्रितलाई नजिकबाट चिन्नेहरु सङ्ग्रहालयमा पुगेर टोलाउँछन् र श्रद्धाका आँसु झारेर फर्किन्छन्।’ 

नेपाली इतिहासकै र रहस्मय घटनाका साक्षी बनेका रुपैयाँ र अन्य सामग्रीले आश्रितको दुर्घटना भएको दिनको स्मरण गराउँछ।

‘यहाँ आउँदा शुरु शुरुमा धेरै रोएँ, दाजु आश्रित यहीँ बसे जस्तो लाग्थ्यो, तर जीवराज आश्रित स्मृति प्रतिष्ठानका कारण दाजु अमर हुनुभएको छ भन्ने ठानेर अचेल खुशी हुन्छु’, आश्रितकी माइली बहिनी सुशीला न्यौपानेले भनिन्। 

आश्रित कुशल सङ्गठक मात्र नभएर सानैदेखि जातीय विभेद् र असमानताको विरोध गर्थे।  उनले घरबाटै त्यसको परिवर्तको शुरुवात गरी आफूले जनजातीसँग विवाह भने बहिनीको समेत जनजातीमै विवाह गराएका थिए। पार्टीमासमेत समान सहभागिता र समावेशीकरणको मुद्दा जोडतोडले उठाउने गरेका आश्रितलाई नजिकबाट चिन्नेको भनाइ छ। 

‘उहाँले बाँचुञ्जेल महिलालाई राजनीतिमा आउन प्रेरणा दिनुभयो, महिला अगाडि नबढेसम्म देश अगाडि बढ्दैन भन्नुहुन्थ्यो’, आश्रितसँगै राजनीतिकयात्रा अगाडि बढाएकी हीरामाया थापाले भनिन्, ‘महिला राजनीतिमा आउनुमा उहाँको ठूलो देन छ, उहाँको देनको भावि पुस्ताले समेत कदर गर्नुपर्छ।’

विसं २०४९ चैतमा आश्रितले थापाकै घरमा पार्टीको जनवर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्घलाई प्रशिक्षण दिएका थिए।। 

‘उहाँको प्रशिक्षणले महिलालाई उत्साहित बनाएको थियो तर त्यो उत्साह जगाउने व्यक्ति नै नरहेपछि हामी केही समय निराश भयौ’, उनले भने। 

बुटवल उपमहानगरपालिका–७ श्रवणपथमा स्थापना गरिएको सङ्ग्रहालयमा आश्रितले प्रयोग गरेका सामग्रीका साथै पर्यटकीय क्षेत्रको जानकारी, भौतिक ज्ञानमा आधारित विभिन्न सामग्री, औजार तथा उपकरण राखिएका प्रतिष्ठानका महासचिव कल्पना थापाले जानकारी दिइन्। 

सङ्ग्रहालयलाई अझै व्यवस्थित गर्न बाँकी रहेको उनको भनाइ छ। सङ्ग्रहालयमा नेपाली समाजको प्रतिनिधत्व हुनेगरी विभिन्न जातजाती र सम्पदाका वेषभूषा समावेश गरिएको छ। 

सङ्ग्रहालय प्रवेशका लागि ५० र ज्येष्ठ नागरिक, विद्यार्थी र फरक क्षमता भएका नागरिकलाई २५ शुल्क लिने व्यवस्था गरिएको छ। 

जीवराज आश्रित स्मृति प्रतिष्ठानको सचिवालय भवनमा स्थापना गरिएको सङ्ग्रहालयको गतवर्ष फागुन २५ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका हुन्। 

सर्वसाधारणका लागि भने आश्रितको जन्मजयन्तीको अवसर पारेर शनिबारदेखि खुला गरिएको छ। 

आश्रितले नेपाली राजनीतिका आन्दोलन सफन बनाउन खेलेको भूमिका र पुर्‍याएको योगदानको स्पष्ट झल्को दिनेगरी सङ्ग्रहालयकलाई अझै व्यवस्थित र स्तरोन्नति गदै लैजाने प्रतिष्ठानका अध्यक्ष उमाकान्त बस्यालले बताए। 

जीवराज आश्रितको जीवनशैलीको अनुकरण र कृतित्वको रक्षा गरौं भन्ने मूलमान्यतासहित देवेन्द्र घिमिरेको नेतृत्वमा २०६६ माघ १९ गते जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालको स्थापना भएको थियो।

२००१ साउन १८ गते आजका दिन गुल्की जिल्लाको हरेवामा जन्मिएका आश्रित विद्यार्थीकालबाट राजनीतिमा सक्रिय भएका थिए । उनले २०२१ मा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। आश्रितले २०२६ देखि २०२८ सम्म जेल जीवन बिताएका थिए।

तत्कालीन नेकपा एमालेको सङ्गठन विभाग प्रमुख आश्रितको पार्टी निर्माणकै क्रममा चितवन जाँदै गर्दा २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा कार दुर्घटनामा निधन भएको थियो। उनीसँगै मालेका तत्कालीन महासचिव तथा जननेता मदन भण्डारीको पनि निधन भएको थियो।  निरा गौतम/रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.