‘नेपालमा हस्क्षेप गर्ने रणनीति भारतको छैन’

‘नेपालमा हस्क्षेप गर्ने रणनीति भारतको छैन’

काठमाडौं : भारतीय सत्तारूढ दल बीजेपीका एक नेताले नेपालको आन्तरिक राजनीतिमा भारतले कहिल्यै हस्तक्षेप वा कुनै रणनीतिक चाल नचाल्ने प्रस्ट पारेका छन्। 

‘सबैभन्दा निकट छिमेकी नेपालमा एकथरी मानिसले भारतको ठूलो डिजाइन रहेको आशंका गरे पनि भारतले कहिल्यै त्यस्तो गरेको छैन,’ भारतीय जनता पार्टी (बीजेपी) का विदेश विभाग प्रमुख (इन्चार्ज) डा. विजय चौथाइवालेले भने, ‘नेपाल र भारत यति निकट छ कि सहकार्य गर्दा पनि एकाथरीले आशंका व्यक्त गरिरहेका हुन्छन्।’

दलका नेताहरूसँग अनौपचारिक संवादपछि उनले शुक्रबार ललितपुरमा आयोजित ‘नेपाल–भारत सम्बन्ध ः वर्तमान अवस्थामा आशा र चुनौती’ कार्यक्रममा यस्तो धारणा राखेका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लो कार्यकालमा जनकपुर भ्रमण गर्दा उनी (चौथाइवाले) झन्डै १० दिनअघि नै जनकपुर आएर सहकार्य गरेका थिए। 

मोदीले आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता दुई छिमेक श्रीलंका र माल्दिभ्सको भ्रमण गरिसकेका छन्। नेपालमा भने भारतीय राष्ट्रपति रामनाथ कोविन्दा वा उनीमध्ये को आउने भन्ने विषयमा छलफल भइरहेको अधिकारीहरूले बताए। त्यसका लागि वातावरण बुझ्न चोथाइवालेको भ्रमण भएको धेरैको अड्कलबाजी छ।

बीजेपीका विदेश विभाग प्रमुख चौथाइवालेले नेपाल–भारत सम्बन्ध विश्वमै पृथक र विशेष रहेको बताए। उनले भने, ‘भारत सधैं नेपालको विकास र उन्नतिका पक्षमा छ। नेपालको विकास र समृद्धिका लागि भारत सहयोगी हुँदै आएको छ।’

छिमेकलाई अस्थिर बनाएर तीव्र विकासमा अग्रसर मुलुक अघि बढ्न नसक्ने उनको भनाइ थियो। उनले भने, ‘भारतको तीव्र आर्थिक विकासबाट नेपालले लाभ लिन सक्नुपर्छ। नचाहिँदो विषयमा समय खेर फाल्नु हुँदैन।’

भारतबारे नेपाल स्पष्ट हुन जरुरी रहेको पनि उनले बताए। ‘वर्तमान सरकार भारतमा अहिलेसम्मकै बढी समर्थन पाएको र बलियो सरकार हो। यो सरकार भारतको विकासमा अग्रसर छ,’ उनले भने, ‘छिमेकलाई साथसाथ विकास पनि हाम्रो आवश्यकता हो।’ 
नेपालीले वर्तमान भारतीय सरकारलाई बुझ्न जरुरी रहेको उनले बताए। उनले भने, ‘भारतीय प्रधानमन्त्री त्यस्ता व्यक्ति छन् उनले भारतसँग लामो दूरी राखेका मुलुकलाई निकट ल्याइसके। सम्बन्ध र भ्रमणको दूरी पनि हटाए। नेपालमै १७ वर्षपछि भारतीय प्रधानमन्त्रीका भ्रमण २०७१ सालमा भएको हो।’

मोदीले एकातिर चीन र रुससँग त्रिपक्षीय अर्कोतर्फ अमेरिका र जापानसँग त्रिपक्षीय वार्ता गरेर सम्बन्धलाई सन्तुलनमा राखेको दृष्टान्त दिँदै चौथाइवालेले भने, ‘सम्बन्ध विस्तार सहकार्यमा मोदी अब्बल छन्।’ उनको विदेश नीति प्रभावशाली बन्दै गएको छ।’ यस क्षेत्रमै भारतले विकासका लागि सहकार्य गरिरहेको उनले स्पष्ट पारे। 

‘नेपालको पनि भूराजनीति हामी बुझ्छौं। नेपालले सम्बन्ध विस्तार र सहकार्यमा बढी स्वतन्त्रता अनुभूत गर्न आवश्यक छ,’ उनले भने, ‘अनावश्यक आशंका नराखी भारतसँग सहकार्य गर्दै आफ्नो हितमा नेपाली नेताले काम गर्नुपर्छ।’ 

उनका अनुसार भारतले नेपाललाई विशेष सम्बन्ध राख्ने मुलुकको सूचीमा राखेर सहकार्य अघि बढाएको छ। नेपालसँग मात्र होइन यस क्षेत्रका पाकिस्तानसहित सबै छिमेकलाई सँगै लिएर भारत अघि बढ्न चाहेको छ। सार्कलाई अघि बढाउन पाकिस्तानसँगको वार्ता महत्त्वपूर्ण रहने उनले बताए।

चौथाइवालेले भारत सुरक्षाका विषयमा निकै सचेत रहको बताए। उनले भने, ‘नेपाल–भारत सम्बन्धमा खुला सीमा छ भने जनस्तरको सम्बन्ध निकै सुमधुर छ। यसलाई धूमिल पार्ने कुनै समस्या नआओस्।’ उनले भारतले गरिरहेको तीव्र विकासबाट नेपालले लाभ लिन सक्ने पनि बताए।’ 

भारतमा विगत पाँच वर्षदेखि अर्थतन्त्रमा व्यापक रूपान्तरण भएको चर्चा गर्दै उनले भने, ‘भारत विश्वकै प्रमुख अर्थतन्त्र भएका मुलुकमा पुगेको छ र अबका दिनमा अझ अगाडि बढ्ने प्रक्षेपणले देखाएको छ।’

पूर्व परराष्ट्रमन्त्री डा. रामशरण महतले नेपाल र भारतबीच अन्य सम्बन्धसँगै राजनीतिक सम्बन्ध पनि बलियो रहेको बताए। राजनीतिक नेतृत्वबीच हुने संवाद र छलफलले यसलाई उजागर गरेको बताए। 

उनले भारत र नेपालबीच रहेको सम्बन्ध थप बलियो र प्रभावकारी बनाउन प्रबुद्ध व्यक्ति समूह ईपीजीको प्रतिवेदन तयार रहेको र यसलाई दुवै पक्षले अध्ययन गरेर सुधार गर्दै अग्रसर हुनुपर्ने बताए। उनले डुबानमा विषयमा पनि द्विपक्षीय सहकार्यमा समाधान निकाल्नुपर्नेमा जोड दिए।

पूर्वमन्त्री महेन्द्र यादवले ईपीजीमा मधेसीको प्रतिनिधित्व नभएकाले यसमा भएका काममा आशंका गर्ने ठाउँ नरहेको बताए। उनले पनि डुबानका विषयमा दुवै सरकार गम्भीर हुनुपर्ने बताए।

भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपाल–भारत सम्बन्ध र सम्मान अन्य मुलुकका लागि स्मरणलायक रहेको बताए। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले दुई देशको सम्बन्धबाट एक अर्काले लिन सक्ने लाभका विषय र आयाम बाहिर ल्याएका थिए। कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, पूर्वमन्त्रीहरु, पूर्व राजदूत, प्राध्यापकलगायत सहभागी थिए।

विदेश विभाग प्रमुख आउनुअघि रिसर्च एन्ड एनालाइसिस विङ (रअ) प्रमुख समान्त गोयल र मोदी निकट नेता मानिने सुब्रमण्यम स्वामीले नेपाल भ्रमण गरेका थिए। अन्य बीजेपी नेता पनि लगातार नेपाल आइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.