ब्लड बैंकमा रगत अभाव
वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा सुत्केरी गराउन बिहीबार भर्ना भएकी अनिता देवीको शल्यक्रिया रगत अभावमा दुई दिनसम्म रोकियो। अस्पताल छेउमै रहेको रक्त संचार केन्द्रमा रगत अभावले श्रीमति अनिताको शल्यक्रिया दुई दिन रोकिएको सन्दिप साहले बताए। उनले भने,' दुई दिनपछि शनिबार एक दाताले रगत दिएपछि मात्र चिकित्सकले अप्रेशन गरे।'
'डाक्टरले अप्रेशन गरेर बच्चा निकाल्नुपर्छ, रगत लिएर आउनुस् भनेपछि ब्लड बैंकमा गए तर त्यहाँ रगत सकिएको रहेछ, सर्लाहीको पडरीयाका सन्दिपले भने, 'रगत पाएपछि दुई दिनपछि श्रीमतीको अप्रेशन भयो।'
पर्सा, बारा, रौतहट र सर्लाही गरी चार जिल्लाका बिरामीलाई आपतकालीन अवस्थामा रगत आपूर्ति गर्न एक मात्र रक्त संचार केन्द्र वीरगन्जमा छ। तर, रक्त संचार केन्द्रमा रगतको मौज्दात नरहेका कारण रगत लिन केन्द्रमा धाउने आफन्त र कुरुवा रित्तो हात फर्कन बाध्य छन्।
रक्त सन्चार केन्द्रमा वैशाखदेखि रगत अभाव भएपछि आपूर्तिमा समस्या भइरहेको केन्द्रका प्राविधिक धिरेन्द्र झा बताउँछन्। 'गर्मीमा रगत संकलन कम भइरहेको छ। तर, अस्पतालमा बिरामीको चाप अत्याधिक भएकाले रगतको माग बढी छ, झाले भने, 'अहिले केन्द्रमा दैनिक ५०/५५ जना रगतका लागि आइरहेका छन्, तर रगत नपाउदा उनीहरु खाली हात फर्कन बाध्य छन्।'
असार महिनायता रक्त संचार केन्द्रमा रगतको मौज्दात नरहेको रक्त संचार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डेले बताए।रक्तादाताहरुको कमीका कारण केन्द्रमा रगतको अभाव हुन पुगेको केन्द्रका प्रमुख सौरभराज पाण्डले जानकारी दिए।
'गर्मी सुरु हुने बित्तिक्कै रक्तदान कार्यक्रममा कमी आयो। त्यससँगै असारमा अविलरल वर्षापछि आएको डुबान र बाढीको कारणले पनि पहिले निर्धारित भइसकेका ४÷५ वटा संस्थाको रक्तदान कार्यक्रम पनि रद्ध भयो, पाण्डेले भने, 'अहिले केन्द्रमा कुनै पनि समूहको एक पिन्ट पनि रगत जगेडामा छैन।'
पाण्डेका अनुसार महिनामा मुस्किलले दुई तीनवटा संघ संस्थाले रक्तदान कार्यक्रम गरे पनि माग अत्याधिक रहेकाले संकलित रगत एक दुई दिनमै सकियो। रगत लिन आउने गम्भीर बिरामीका कुरुवालाई भने केन्द्रको सम्पर्कमा रहेका नियमित रक्तदातालाई बोलाएर रक्तदान गर्न लगाइने गरेको पाण्डले बताए।
पाण्डेका अनुसार गत वैशाखमा ७ सय ६५ पिन्ट रगत संकलन भएको थियो। माग भने १ हजार ५० रहेको थियो। यस्तै जेठमा ७ सय १६ पिन्ट संकलन भएकोमा माग भने १ हजार १ सय १५ र असारमा ९ सय ८ पिन्ट संकलन भएकोमा माग भने १ हजार ४१ रहेको थियो ।
साउनमा दोश्रो सातासम्म करिब तीन सय पिन्ट मात्र रगत संकलन भएको भएपनि माग अत्याधिक भएका कारण संकलन भएको एक दुई दिनमा रगत सकियो।
भारतीय बिरामी वीरगन्जमै आउँछन्
भारतका सीमावर्ती बजार र गाउँबाट पनि बिरामी उपचारका लागि वीरगन्जमै आउने गर्छन्। जसकारण बिरामीको चाप बाक्लो हुने गरेको हो। भारतमा ब्लड बैंकले एक पिन्ट रगतको चेकजाँच शुल्क ५ हजारदेखि २० हजार भारुसम्म लिन्छ, पाण्डेले भने,' तर यहाँ हामीले एक हजार रुपैयाँ मात्रै लिन्छौं, चार्ज निक्कै सस्तो भएका कारणले पनि उताका अधिकांश बिरामी पनि वीरगन्जमै उपचारका लागि आउँछन्।
बिरामीका आफ्नतले रगत दिन मान्दैनन्
सर्वसाधारणमा अझै पनि रक्तदानसम्बन्धी चेतनाको अभावले तुलनामा रुपमा रगत संकलन हुन नसकेको केन्द्रका प्राविधिक बताउँछन्। रगत दान गर्दा शारीरिक कमजोरी हुने, दुब्लो पातलो मान्छेले रगत दिन नहुने, गर्मीमा रगत दिँदा बिरामी पर्नेजस्ता भ्रमका कारण रक्तदान गर्न हिच्किचाउने गरेको केन्द्रका प्राविधिक झाले बताए।
अस्पतालको बेडमा आफ्नै श्रीमती, बावु -आमा रगतको अभावमा छटपटाइ रहेका हुन्छन्, झाले भने, 'त्यस्ता बिरामीका आफन्त सकेसम्म कुनै संघसंस्थाको सिफरिस लिएर आउँछन्, सिफारिस पाएनन् भने हामीलाई हार गुहार गर्छन्, कतिपयले रगत दिनुपर्छ भन्ने डरले बिरामी आफ्नै बुवा-आमा वा श्रीमती भएपनि आफू नातेदार रहेको भनेर ढाट्छन्।'