गाउँमै अल्ट्रासाउण्ड सेवा
बेनी : मालिका गाउँपालिकाको केन्द्र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सुरु भएको छ। उपचारका लागि सदरमुकाम वा बाहिर जिल्ला महँगो खर्चेर जाने स्थानीय गाउँकै स्वास्थ्य केन्द्रमा आउन थालेका छन्। मालिका, धवलागिरी, मंगला र तमानखोला गाउँपालिकाका बासिन्दालाई अल्ट्रासाउण्ड सेवाका लागि सदरमुकाम बेनी, बागलुङ तथा पोखरा पुग्नुपर्ने बाध्यता हटेको हो।
गाउँमै सेवा पाएपछि गर्भको बच्चाको अवस्था पहिचानका लागि अल्ट्रासाउण्ड गर्न सदरमुकाम पुग्दा हुने समय र रकम जोगिएको दरवाङकी बिमला विश्वकर्माले बताइन्। ‘बेनी जान–आउन पूरै दिन लाग्ने थियो। दुई÷तीन हजार खर्च हुन्थ्यो,’ उनले भनिन् ‘गाउँमै उपचार हुन थालेपछि सेवा लिन सजिलो भएको छ। टाढा जाँदा गर्भ खस्ने चिन्ताबाट पनि मुक्ति मिलेको छ।’
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको २० लाख रुपैयाँ सहयोगमा गाउँपालिकाले अल्ट्रासाउण्ड लगायतका उपकरण खरिद गरेर केन्द्रलाई उपलब्ध गराएको वडाध्यक्ष सन्तोष सुवेदीले बताए। अल्ट्रासाउण्ड सेवा सुरु भएपछि गर्भमा रहेको बच्चाको अवस्था, पित्तथैली, मृगौला, मुत्रथैलीको पत्थरी, कलेजोको रोग पत्ता लगाउन सहज भएको केन्द्रका डाक्टर तिलक गौतमले बताए।
रोगको पहिचान गर्न सजिलो हुने र बिरामीले सहुलियतमा उपचार पाउन थालेपछि स्थानीय स्वास्थ्य संस्थामा सेवा लिन आउन थालेका छन्। अल्ट्रा साउण्डका साथै अक्सिजन कन्सटेटर, नवजात शिशूलाई न्यानो बनाउने उपकरण, आकस्मिक ट्रलीसमेत उपलब्ध गराइएको छ। केन्द्रबाट गत आर्थिक वर्षमा १६ हजार जनाले सेवा लिएका छन्।
स्वास्थ्य सेवालाई गुणस्तरीय र सहज बनाउन विद्युत्को बैकल्पिक व्यवस्था गर्न जेनेरेटर, सोलार, भिडियो एक्सरे र ल्याबका उपकरण आवश्यक रहेको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गणेश श्रेष्ठले बताए। सामाजिक विकासमन्त्री नरदेवी पुनले स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि दरबन्दीअनुसारका जनशक्ति, उपकरण र पूर्वाधारमा जोड दिएको बताइन्। गत आर्थिक वर्षमा प्रदेशका स्वास्थ्य संस्था र अस्पतालहरुलाई ३२ करोड रुपैयाँ बराबर मूल्यका उपकरण सहयोग गरेको जानकारी दिइन्।