विप्लवका जिल्ला नेता पक्राउ
बागलुङ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता हरिबहादुर कुवँरलाई प्रहरीले गिरफ्तार गरेको छ। जिल्लाको पश्चिम बुर्तिबाङ बजारबाट पक्राउ गरिएका ४० वर्षीय कुँवरलाई आइतबार जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको छ।
बुर्तिबाङ बजारमा औषधि व्यवसाय गर्दै आएका नेकपा जिल्ला सदस्य कुँवरलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले शनिबार निवासबाटै पक्राउ गरेको हो। आइतबार मात्र जिल्ला सदरमुकाम ल्याएर जिल्ला अदालतबाट थप अनुसन्धानका लागि तिन दिनको म्यादसमेत थप गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानाकारी दिए।
गत साउन १६ गते राति सरकारले प्रतिबन्ध लगाएपछि उनका नेता तथा कार्यकर्ता पक्राउपर्ने क्रम जारी छ।
सरकारले प्रतिबन्ध लगाए लगत्तै नेकपाले बागलुङको निसीखोला गाउँपालिका ७ राजकुतमा रहेको एनसेलको टावरमा आगजनी गरेको थियो। ‘आवश्यक अनुसन्धानका लागि कुँवरको मोवाएल फोन काठमाडौंमा पठाइसकिएको छ,’ डीएसपी भट्टराईले भने,‘ल्याब रिपोर्ट आएपछि, त्यसको आधारमा आवश्यक कारवाही हुन्छ।’