नेकपाको ‘हेडसर’ धपेडी
‘हेडसर’ को हुने भन्ने बार्गेनिङका पछाडि त्यही कडीले काम गरेको छ। जुन नेता ‘हेडसर’ भयो, स्कुलिङ त्यतै मोडिनेछ।
नेपाल कम्युनिस्ट पार्टी एकीकरण टुंग्याउने सकसमा छ। दुई ध्रुवका दुई दलका ‘हार्डवेयर’ जोडिएको १५ महिना बित्यो, व्यथा ‘सफ्टवेयर’ को छ। ‘सफ्टवेयर’ एकीकरण त्यतिबेला टुंगिनेछ, जब पार्टीका सांगठनिक अवयवहरूले पूर्णता पाउनेछन्। नेताका मनमा म यताको, ऊ उताको भन्ने दिग्भ्रम टुट्नेछ। पार्टी पानीभित्र माटो राखेजस्तो होइन, मिस्री हालेजस्तो हुनेछ। अर्थात्, पूर्णतः घोलिएको।
अहिलेसम्मको एकता भनेको पानीमा मिस्रीचाहिँ हालिएको छ, बाँकी छ चम्चाले घोल्न। त्यसमा थोरै मतभेद छ– कुनचाहिँ चम्चाले घोल्ने ? कसको कुन हातले चम्चा समात्ने ? कति मिहिन तरिकाले घोल्ने ? ‘चम्चा’ हरूको यस्तै आआफ्नै ढाँचाका तानातानयुक्त ताउरमाउरले एकता प्रक्रिया लम्ब्याएको छ। त्यसकै एउटा कडी हो– स्कुल विभाग प्रमुख अर्थात् ‘हेडसर’ खोसाखोस।
‘हेडसर’ कसलाई दिनेभन्दा पनि कताकालाई पार्ने भन्ने हारालुछ नेकपाको खास समस्या हो। प्रस्तावित मुख्य नाम नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेल पार्टी मर्यादाक्रममा क्रमशः ६ र ७ नम्बरमा पर्छन्। श्रेष्ठ पूर्वमाओवादी र पोखरेल पूर्वएमालेका नेता हुन्। दुवैलाई मूलतः आआफ्नै पूर्वगोठबाट साथ छ। यसले पनि पानीमा मिस्री नघुलिएको अथ्र्याउँछ। सहमति खोज्ने दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रयत्नले पार लाग्न सकेको छैन। दुवै अध्यक्षले नै प्रत्यक्ष यो विभाग सम्हाल्नेसम्मका आकलन बाहिर आएका छन्।
त्यही सकसको धपेडीबाट सास फेर्न दुवै अध्यक्षले आराम खोजेका छन्। दाहाल दुबई पुगेर फर्किएका छन्। उनी आएकै दिन ओली सिंगापुरतिर उडेका छन्। दुवैका अल्पविश्रामले यो समस्याको निकास पक्कै ल्याउने छैन। किनकि, ‘हेडसर’ तकाइ चानचुने विषय होइन। अब छानिने ‘हेडसर’ ले हाँक्ने स्कुलको काँधमा ठूलै दायित्व हुनेछ। यसले पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिलाई व्यापकीकरण गर्छ। त्यसअनुरूप नियमित वा आवधिक स्कुल चलाउँछ। त्यसको कार्ययोजना बनाउँछ। सदस्यहरूका सैद्धान्तिक–वैचारिक स्तर उठाउन योजना बनाउँछ। कार्यान्वयन गर्छ। प्रशिक्षक र विशेषज्ञहरू उत्पादन गर्छ। पाठ्यक्रम–पाठ्यपुस्तक तयार गर्छ। प्रशिक्षकको मूल्यांकन गर्छ। प्रशिक्षार्थीको परीक्षा लिन्छ। प्रमाणपत्र दिन्छ। विदेशका पार्टी स्कुलहरूसँग समन्वय गर्छ। नवआगन्तुकलाई विशेष प्रशिक्षण दिन्छ। आदि।
स्कुल विभाग एकता अड्काउने सिंगौरी मात्र हो। यसमा हुने विलम्बले समग्र एकतालाई पछि धकेल्नेछ। एकताको अल्झनले सांगठनिक निष्क्रियता बढाएको छ। नेताले जिम्मेवारी पाएका छैनन्। गाउँसम्म को जाने, कसरी जाने, के लिएर जाने टुंगो छैन। सैद्धान्तिक दस्ताबेज बल्ल छापिँदै छ।
स्कुल : किन र कसलाई ?
नेपाली वामजनमा कम्युनिस्ट चरित्र स्खलन हुँदै गएको छ। पार्टी पुँजीवादउन्मुख छ। धनी र गरिब, शक्तिशाली र निरीह, नेता र कार्यकर्ताको खाडल उच्च छ। नेताहरू भ्रष्ट हुँदै गएका छन्। अनुशासन अभाव बढ्दो छ। अध्ययनशीलता घट्दो छ। सिद्धान्त र आचरणको शिक्षा तिनलाई जरुरी छ। सम्भवतः स्कुल विभागले त्यसमा कसिकसाउ गर्नेछ। र, गर्नुपर्ने पनि छ।
त्यही कारण ‘हेडसर’ सर्वमान्य हुन आवश्यक देखिन्छ। हेर्दा नेकपा भए पनि त्यसभित्र दुई दल, तिनका गुट–उपगुट, प्रभावशाली व्यक्तिजस्ता ‘समानान्तर संगठन’ का अभ्यास निरन्तर छन्। दुवै दलका सैद्धान्तिक धरातल भिन्न छन्। त्यसबाट उठेर बार्दलीमा दुवै पक्ष सँगै बसेकासम्म छन्। ‘हेडसर’ को हुने भन्ने बार्गेनिङका पछाडि त्यही कडीले काम गरेको छ। जुन नेता ‘हेडसर’ भयो, स्कुलिङ त्यतै मोडिनेछ। र, एकीकृत पार्टीभित्र आफ्नो ‘स्कुलिङ’ को पल्ला भारी गराउन दुवै पक्ष जोडतोडले लागेका छन्।
‘हेडसर’ को बुद्धिमत्ता पुग्यो भने नेकपा सुदूर भविष्यमै किन नहोस्, फुट्नबाट पनि जोगिनेछ। फुट दुईखाले द्वन्द्वबाट हुन्छ– सिद्धान्त र स्वार्थ। दुवैलाई नियन्त्रण गर्ने ‘स्कुल’ ले हो।
वाम समुदायमा बढी प्रचलनमा आउने शब्दावलीमध्ये एक हो– स्कुलिङ। स्कुलले स्कुलिङ निर्माण गर्छ। जसरी डीएनए परीक्षणबाट कुनै व्यक्तिको पुर्खा चिनिन्छ, उसरी नै स्कुलिङ पहिल्याउँदै गएर कम्युनिस्ट खेमाको फेदसम्म पुग्न सकिन्छ। भनिन्छ– स्कुलिङ रगत हो, यो हतपत बदलिँदैन। नेकपामा फरक दुई स्कुलिङका पात्रहरूको जमघट छ। सम्भवतः अबको स्कुल त्यस्तो बनाउन खोजिँदै छ, जसमा दुवैलाई नजिक–नजिक गर्दै एकै ठाउँ ल्याउन सकियोस्। हो, त्यसैका लागि ‘हेडसर’ तटस्थ हुनु वाञ्छनीय देखिन्छ।
केही उदाहरण हेरौं। पहिला कम्युनिस्टले रक्सी खाँदैनथे। बीचमा लुकेर खान थाले। अचेल देखादेख खान्छन्। तास खेल्नेलाई तासै कोच्याइदिनेहरू अचेल ‘टाइमपास’ त्यसैबाट गर्छन्। कुनै दिन यस्तो पनि आयो– जिन्स पाइन्ट लगाएका महिलालाई नाङ्गै पारेर सडकमा छाडियो। अचेल तिनै ‘कारबाहीकर्ता’ लाई जिन्स सजिलो हुन थाल्यो। कोकाकोला पिउनेहरू साम्राज्यवादी कहलिन्थे। अचेल तिनैका जमघटमा कोकाकोला नभई शीतलै हुँदैन। समयले कम्युनिस्ट बदलिए। तिनले आफ्नो विगत बिर्सिए। हेर्दाहेर्दै ती त ठिमाहा पनि होइन, अर्कै जातका उत्पादनजस्ता देखिन थाले। बनेका हुन् कि बिग्रिएका– रूपै फेरे।
त्यही कारण ‘स्कुल’ को आवश्यकता खट्किएको हुन सक्छ। त्यसको नेतृत्व गर्नेको गरिमा बढेको हुन सक्छ। तँछाडमछाड भएको हुन सक्छ। खेमा प्रस्टै छुट्टिएको हुन सक्छ। बाटो बिराएर निरक्षर हुँदै गएकालाई साक्षर बनाउने अवसरका रूपमा यसलाई लिइएको हुन सक्छ। वा, आफ्नो ‘स्कुलिङ’ मा सबैलाई होम्ने चतुर्याईंपूर्ण रणनीति हुन सक्छ।
चुनौती : नेपथ्य शक्ति
नेकपा एकीकरण मात्र भएको छैन, संघ र ६ प्रदेशमा दुईतिहाइको सरकार चलाएको छ। उसको सामथ्र्य बढेसँगै नेपथ्य शक्तिहरू सल्बलाएका छन्। अहिले मूलभूत रूपमा तीनखाले शक्ति देखिएका छन्– भूमिगत विद्रोह गर्ने, हिन्दु धार्मिक अस्त्र प्रयोगबाट फरक समुदायलाई समेट्न चाहने र अन्तर्राष्ट्रिय स्वार्थ केन्द्रका डलरमा देशलाई अस्थिरमा लैजान जेसुकै गर्ने÷गराउने। नेपालको राजनीतिक अस्थिरताका नाममा खर्बौं डलरको ‘कारोबार’ देश–विदेशमा भयो। फेरि त्यसको माहोल बन्दै गएको छ।
यो परिस्थिति नेकपाको मुख्य चुनौती हो। नेपथ्यमा सक्रियमध्ये कसैलाई मूलधारमा र कसैलाई आकारमा ल्याउने उपाय पनि तीनटै छन्– दुईतिहाइको सरकारमार्फत सुशासन प्रवद्र्धन, आचरण परिवर्तन र पिँधका कार्यकर्ता/मतदाताका मर्का पहिचान/समाधान। त्यसका लागि स्कुल विभागको भूमिका अहम् हुन सक्छ। त्यो पनि तब मात्र सम्भव हुन्छ, जब ‘हेडसर’ गतिला छानिनेछन्। आदर्शवान् हुनेछन्। सर्वमान्य हुनेछन्। तटस्थ रहनेछन्। नत्र नेकपा फेरि निचोरिएर एकीकरणअघिको माओवादीको आकारमा आउन बेर छैन।
अन्यथा नठान्नु होला– यहाँ असम्भव केही छैन। सम्भव बनाउने आफ्नै इमानदार ‘स्कुलिङ’ ले हो। सिद्धान्त र नैतिकताको पाठशाला त्यसैले नेकपामा जरुरी छ।
आशंका : एकता कति टिकाउ ?
मिल्नुअघिका दुवै दलका नेता–कार्यकर्ता एकीकरणलाई ऐतिहासिक उपलब्धि मान्छन्। यसलाई दर्बिलो पार्न चाहन्छन्। तर, शरीर मिल्यो। मन मिलेको छैन। आफ्नो अस्तित्व र औकातअनुसार अंशबन्डाको मनोविज्ञान व्याप्त छ। गुट हाबी छन्। गुटलाई भाग ‘मन्छिने’ वाम–रोगबाट यो अपवाद हुन सकेको छैन। म यत्रो, मलाई कत्रो ?
प्रायःको आशय त्यही हुन्छ। त्यसैले भनिएको हो– मिस्री घोलिएको छैन। नेपालका वामपन्थी दलमा जुट र फुट नौलो होइन। फेरि फुट्लान् कि भन्ने परिकल्पना पनि अप्राकृतिक होइन। तर, इतिहासले केचाहिँ प्रस्ट्याएको छ भने– जुटेर ढिक्का बन्छ, फुटेपछि चोइटो। जुट्नुअघि जत्रो आकार थियो, फुटेपछि त्यत्रो हुँदै हुँदैन। किनकि, मूलधारमा आएका कार्यकर्ता पुनः चोइटिन चाहँदैनन्। र, ‘हेडसर’ को बुद्धिमत्ता पुग्यो भने नेकपा सुदूर भविष्यमै किन नहोस्, फुट्नबाट पनि जोगिनेछ। फुट दुईखाले द्वन्द्वबाट हुन्छ– सिद्धान्त र स्वार्थ। दुवैलाई नियन्त्रण गर्ने ‘स्कुल’ ले हो।
सरकार : ‘ब्रान्डिङ’ पुगेन कि ?
एक कूटनीतिक नियोगका प्रमुखले हालै ‘सरकारको गतिशीलता’ बारे अनौपचारिक जिज्ञासा राखे। सुनिसकेपछि उनैलाई सोधिएको त्यही प्रश्नमा भने, ‘काम गरिरहेको छ, ब्रान्डिङ गर्न सकेको छैन कि जस्तो लाग्छ मलाई।’
हुन पनि गतिलो ‘स्कुल’ चाहिएको नेकपाको मुख्य तागत सरकारको बागडोर हो। दुईतिहाइको सरकारले जे चाह्यो त्यही गर्न सक्छ। मेलम्ची पानीको धारो काठमाडौंमा बेलैमा नझरे पनि अमलेखगन्जमा पेट्रोलको धारो खस्न थालेको छ। रेल सञ्चालनका गृहकार्य बढेका छन्। बाढीले डुबाउँछ, भिन्नै कुरा– मधेसको एउटा खण्डमा छकछके रेलको लिक बनेको छ। नदी–यातायात (त्यसलाई पानीजहाज भनौं वा अरू नै) का लागि अब धेरै लामो कुराइ नहोला।
सामाजिक सुरक्षामा राज्य एक कदम अघि पुगेको छ। भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता बढेको छ। राजनीतिक वातावरण (खासगरी सत्तारूढ दलसम्बद्ध) प्रतिकूल भएमा यो सम्भव छैन। अर्थात्, भ्रष्टविरुद्ध कठोर हुन सरकारको ‘ग्रिन सिग्नल’ छ। परराष्ट्र सम्बन्धमा असन्तुलन हट्दै गएको छ।
तर, पनि यो साँचो हो– ‘ब्रान्डिङ’ भएको छैन।
एकतालाई टिकाउ बनाउन, स्कुलको गरिमा बढाउन, नेपथ्य चलखेललाई परास्त गर्न एवं सरकारका कामलाई दलको सञ्जालबाट जनस्तरसम्म पुर्याउन चाहने हो भने– त्यस्ता ‘हेडसर’ बनाउन जरुरी देखिन्छ, जो वास्तविक ‘हेडसर’ बन्नलायक हुन्। त्यसमा दुई अध्यक्ष नै उचित हुन् कि ?