भेन्टिलेटरमा उच्च शिक्षा
६० वर्षको लोकतन्त्रमा आइपुग्दा विश्वविद्यालय राजनीति गर्ने ‘गृह’ वा वैज्ञानिक उत्पादन गर्ने संस्था हो भनी छुट्ट्याउने पारख हामीसँग कति छ ?
सन् १९४५ पूर्व एसिया र अफ्रिकामा उपनिवेशी राष्ट्रहरूले उनीहरूका शिक्षा प्रणाली लागू गरे। त्यसको मुख्य उद्देश्य उपनिवेशमै जनताको कल्याण हुन्छ भन्ने अनुभूति गराउनु थियो। अंग्रेज कवि किपलिङले ‘ह्वाइटमेन्स वर्डन’ मा लेखेकै छन्, कत्रो महान् सपना र आकांक्षा बोकेर ‘सेता मानिस’ एसियाका पहेंला, गहुँगोरा, अँध्यारा र अफ्रिकाका अश्वेत मानिसलाई सभ्य बनाउन गएका थिए। तत्कालै पादरीहरूले भने, ‘हो, परमेश्वर पनि यही चाहना राख्नुहुन्छ। ती अश्वेतलाई इसाई बनाइदिएपछि सभ्य हुन्छन्।’ उपनिवेशीहरूले ‘राजनीति र धर्म’ लिएर युरोपबाट एसिया र अफ्रिका प्रस्थान गरे। त्यहाँ पुगेपछि थाहा भयो– जे कुरा भगवान् र धर्मले गर्न सक्तैन, त्यो शिक्षाले गर्छ। त्यसैले सन् १८३५ मा ब्रिटिस उपनिवेशका व्याख्याता वा विद्वान् वेविङ्टन माकाउलेले लेखे, ‘उपनिवेश जोगाइराख्ने हो भने उपनिवेशी समाजको संस्कृतिको मेरुदण्ड भाँचिदिनुपर्छ।’ त्यो भनेको मानिसको सोचाइ पद्धतिलाई पश्चिमीकरण गरिदिनुपर्छ।
संस्कृतिको मेरुदण्ड भनेको ‘मानिसको दिमाग’ हो र दिमाग उसकै परिदृश्य र सामाजिक धरातलबाट बनेको हुन्छ। किनभने मानिसको चिन्तनमन्थन (कगनिटिभ प्रोसेस) उसकै अवलोकनबाट सक्रिय हुन्छ। त्यसैले उपनिवेशले विचित्रको शिक्षा प्रणालीको प्रारम्भ गर्यो। त्यो हो– अरूको आख्यान (न्यारेटिभ) लाई ज्ञानको रूपमा ग्रहण गर्ने प्रणाली। यो प्रणालीलाई अप्रिय शब्दमा भन्ने हो भने ‘ब्रेन वास पद्धति’ भनिन्छ। यस पद्धतिले मानिसलाई आफ्नो मौलिक अध्ययन र अन्वेषणबाट बाहेक गर्छ। यस पद्धतिले पश्चिमी आधुनिक (? ) विद्वान्का सिद्धान्तको विचरण गर्नु हो भन्ने मान्यता राख्छ। जर्मन दार्शनिक आर्थर सोफेनहरले भने, ‘आफ्नो वरिपरि हेर र चिन्तन गर। यसबाट प्राप्त ज्ञान नै यथार्थ ज्ञान हो। तर, हामी पहिला अरूको सिद्धान्तबाट दीक्षित हुन्छौं अनि यथार्थको अवलोकन गर्छौं। अनि विश्वलाई अरूका आख्यानका आधारमा परिभाषित गर्छाैं।’
आख्यानबाट व्यक्तिलाई विचारको प्रभावमा ल्याउने अर्थात् आख्यानद्वारा व्यक्तिको दिमागमा विचार निर्माण गर्ने कार्यलाई ‘इनडक्ट्रिनेसन’ भनिन्छ। भारतमा तत्कालीन उपनिवेशी सरकारले लागू गरेको शिक्षा पद्धति यस्तै नै हो। नियतवश, इतिहासको झूटो व्याख्या गर्ने, एसियायी समाजलाई परम्परावादी ठहर गर्ने, विज्ञानविरोधी करार गर्ने र पश्चिमी इतिहासलाई विश्वको इतिहास प्रमाणित गर्ने, पश्चिमी साहित्यलाई विश्वको प्रतिनिधिमूलक साहित्य बनाउने र बुद्ध धर्म र वैदिक सनातन धर्मलाई पर्दाभित्र छोप्ने कार्य गरियो। ‘संस्कृताइजेसन’ जस्ता विवादास्पद सिद्धान्त निर्माण गर्नेदेखि सबै किसिमका एसियाविरोधी शिक्षा भारतमा निर्माण गरियो।
यही शिक्षाको विस्तार नेपालमा भयो। प्राविधिक वैज्ञानिक निर्माण गर्ने र वैज्ञानिक शिक्षा विस्तार गर्ने उपनिवेशी शिक्षाको चाहना थिएन। ‘टाई लगाएर अंग्रेजी बोल्न र बनार्ड शाका गद्य, वर्डस वर्थका कविता, लकको राजनीति सिकाउने शिक्षा थियो त्यो। त्यसले हिमालयको ग्ल्यासिएर, गंगा नदीबेंसी संस्कृति, ब्रह्मपुत्रको कृषिमा देन, एसियाका मक्याकेक बाँदर, गर्मीको मौसममा बस्ने घर, पहाडमा पानी तान्ने प्रविधि, ट्रपिकल रोगको निदानजस्ता विषयमा यो शिक्षाको सरोकार थिएन।
पश्चिमी सभ्यताको आधुनिक इतिहास २५० वर्षको छ। यस आधुनिकतासँगै पश्चिमी सभ्यताले उपनिवेश र प्रभुत्वद्वारा अरू सभ्यतामाथि दमन पनि गरेको छ। औद्योगिक क्रान्तिपछाडि विज्ञान निर्माणमा यसको योगदान ठूलो छ, तर उसले विज्ञानको यस उपलब्धिलाई प्रयोग गर्दै, एसिया र अफ्रिकामा दुई सय वर्ष दमन गरेको इतिहास छ। विज्ञान, औद्योगिक क्रान्ति र आधुनिकतालाई उसले मानव जातिको उत्थानका रूपमा होइन, युरोपलाई मालिक र अरूलाई दास बनाउन प्रयोग गरेको छ। उसले उद्दण्डता प्रकट गरेको छ। त्यसकै छाप युरोपबाट आयातीत उपनिवेशी शिक्षामा परेको थियो– त्यस शिक्षाले खासगरी भारतमा भारतीय दर्शन, गणित, ज्योतिषशास्त्र, खगोलशास्त्र, चिकित्साशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, न्यायशास्त्रलाई ध्वस्त पार्यो। त्यसले अरिस्टोटल, लक, मेकियाभेली, ह्युम, कान्टलाई प्रस्तुत गर्यो। त्यस शिक्षाले संस्कृत र उर्दूलाई दमन गर्यो। त्यो शिक्षा भारतीय उपमहाद्वीपमा ज्ञानको प्रवद्र्धन गर्न, विज्ञान निर्माण गर्न र मानवता विकासका लागि लागू गरिएको थिएन। त्यो शिक्षा सांस्कृतिक प्रभुत्व, युरोपियन सर्वोच्चता र एसियायी स्रोतको दोहनका लािग लागू गरिएको थियो।
यही शिक्षा हामीले आयात गर्यौं। त्रिभुवन विश्वविद्यालय स्थापना भएको ६० वर्षमा हामी हाम्रो विद्यार्थीलाई के अध्ययन गराइरहेका छौं ? ६० वर्षको लोकतन्त्रमा आइपुग्दा विश्वविद्यालय राजनीति गर्ने ‘गृह’ वा वैज्ञानिक उत्पादन गर्ने संस्था हो भनी छुट्ट्याउने पारख हामीसँग कति छ ? प्राध्यापन नै सबैभन्दा ठूलो व्यवसाय हो भनी मान्यता राख्ने र सरकारले उपकुलपति बन भनी अनुरोध गर्दा मेरो अनुसन्धान क्रम भत्किन्छ भन्ने प्राध्यापक कति छन् ? मकै भुटेर राजनीति गर्ने नेतालाई, प्रतिनिधिसभा भंग गर्नु प्रधानमन्त्रीको विशेषाधिकार हो भनी सिकाउने प्राध्यापक कुन शिक्षाले जन्मायो ? नेपालको इतिहासको विसर्जन गर्ने र देशलाई पहिचानहीन बनाउने काम विश्वविद्यालयमा कसले गर्यो ? विश्वविद्यालयहरूलाई अनुसन्धान गर्ने निकाय होइन, प्रमाणपत्र बेच्ने थलो कसले बनायो ? विश्वविद्यालयलाई भ्रष्टाचार गर्ने थलो कसले बनायो ? यति मात्र होइन, आज नेपालको उच्च शिक्षालाई मूर्छित बनाउने अरू पनि थुप्रै कारण छन्। अब देशको अस्तित्वको खोजी गर्नेहरूले पहिला त देशको उच्च शिक्षाको बर्बादीका कारण खोज्नुपर्ने अवस्था छ।
प्राध्यापन जागिर होइन। प्राध्यापन धनार्जन गर्ने व्यवसाय पनि होइन। प्राध्यापन ‘ज्ञान उत्पादन गर्ने अभियन्त्रण’ (नोलेज इन्जिनियरिङ) हो। तर कस्ता मानिसलाई प्राध्यापन गर्ने अवसर प्रदान राजनीतिक दलहरूले प्रदान गरे ? आज उच्च शिक्षा पूर्वमाओवादी, एमाले र कांग्रेसका प्राध्यापकको जागिरको थलो बनेको छ, ज्ञान निर्माण गर्ने शिक्षकको होइन। उच्च शिक्षामा अनुसन्धानको हैसियत जिरो छ। विद्यार्थीको ‘स्नात्तकोत्तर तहको शोधपत्र विद्यावारिधिमा शोधपत्रका रूपमा पेस गरेका ‘प्राध्यापक पनि देख्न पाइन्छन्। अर्को विद्यावारिधि गर्ने अयोग्य मानिस ‘विद्यावारिधिका सुपरिवेक्षक बनेर विद्यावारिधि बेच्ने व्यवसाय बनेको छ। अनुसन्धानका लागि बजेट विश्वविद्यालयसँग हुँदैन।
विद्यावारिधिको प्रमाणपत्र राखेर निवेदन दिई राष्ट्रपतिबाट पदक लिने संसारमा कहीं नभएको चलन चलाइएको छ। ‘विश्वविद्यालयका पदाधिकारी भ्रष्टाचारमा लिप्त छन्’ भनी अख्तियारले मुद्दा चलाएको छ। विद्यार्थी कक्षामा पढ्न आउँदैनन्। एउटा कक्षामा १२ हजार मानिस भर्ना हुन्छन्। परीक्षामा संस्थागत चोरी हुन्छ। उच्च शिक्षामा देशको इतिहास पठनपाठनभित्र छैन, तर पश्चिमी इतिहासको प्रत्येक विषयमा पढाइ हुन्छ। देशका विभूतिहरूका बारेमा अनुसन्धान हुँदैन। देशका सांस्कृतिक धरोहरका बारेमा अध्ययन हुँदैन। माफियाले सरकारी जमिन खाइसके, सरकारी जमिन विदेशी कम्पनीका नाममा गइसके, राज्यका उद्योगका जमिन माफियाका हातमा छन्। यी कुनै विषयमा अध्ययन–अनुसन्धान विश्वविद्यालयमा हुँदैन। जलवायु परिवर्तनले हिमाल पग्लिँदै छ, यसमा अध्ययन–अनुसन्धान हुँदैन। विषादी प्रयोगले मानिसको जीवनलाई चुनौती दिइरहेको छ, त्यस विषयमा विश्वविद्यालयमा अनुसन्धान हुँदैन। अझ विश्वविद्यालयमा पदाधिकारीले के काम गर्ने भन्ने छलफल पनि हँुदैन।
यी समस्या त उदाहरण मात्र हुन्। नेपालको उच्च शिक्षा तहसनहस भएको छ। यसको समाधान गर्न सकिएन भने नेपालको आर्थिक विकासको कुनै भविष्य छैन। ‘राज्य र सरकार मन्त्री र मन्त्रालयबाट चल्ने होइन, ज्ञानबाट चल्छ। जब ज्ञानलाई राजनीतिक स्वार्थले विस्थापित गर्छ, त्यो समाजको विघटनलाई कसैले रोक्न सक्तैैन। जुन देशले आफ्नो उच्च शिक्षालाई अनुसन्धानमूलक, समसामयिक र समस्या सम्बोधनजन्य वा समाधान निर्माणयोग्य बनाउँदैन, उसले आर्थिक विकासको सपना देख्नु भनेको तेल दलेको बाँसको लिंगोमा चढ्नुजस्तै हो।’
नेपालमा उच्चशिक्षाको यो दुर्दशा कसरी भयो ? यसका कारणको खोजी गर्नुपर्ने समय ढिला भइसक्यो। नेपालको उच्च शिक्षा ‘भेन्टिलेटरमा रहेको छ’। यो जिउँदै छ। किनभने, कतिपय असल मानिसले नेतृत्व गरेका (संयोगले त्यसो भएको हो) संस्थाहरूले काम गरिरहेका छन्। अर्थात् शरीरका केही अंग अहिले पनि क्रियाशील छन्। तर, दिमाग ‘मृतसरह’ छ। यसका पछाडिका ‘बाहिरी र भित्री कारण छन्।’
यसको भित्री कारण हो, प्राध्यापनका लागि एवं उच्च शिक्षाका लागि चाहिने ज्ञान उत्पादनको प्रयोगशाला ‘अनुसन्धान’ माथिको बेवास्ता। नेपालमा विश्वविद्यालय भनेको ‘माध्यमिक विद्यालय’ को माथिल्लो निकाय हो भन्ने बुझियो। राजनीतिमा लागेको एकजना शिक्षक पश्चिमी लेखकको एउटा पुस्तकमा आधारित नोटबुक लिएर कक्षामा आउँछ। फुर्सद भएका र अल्छी नलागेका विद्यार्थीको एउटा जमात कक्षामा उपस्थित हुन्छ। उनीहरूलाई जाँच दिई पास हुनुपर्छ। त्यसैले शिक्षकले व्याख्यान दिन्छन्। विद्यार्थीहरूले टिप्छन्। तब एक दिन परीक्षा हुन्छ। यही नै नेपालको उच्च शिक्षा हुन्छ। एउटा कक्षामा सयजना भर्ना भएका हुन्छन् र २५ जना फुर्सद भएका कक्षामा आउँछन्। यस शिक्षामा ज्ञानको ‘तार्किकता, सत्यता र औचित्यता’ को कुनै खोजी हुँदैन र खोजी गर्ने चाहना पनि राखिँदैन। अनुसन्धान, खोज र अन्वेषणविनाको ‘यो औपचारिकताले कस्ता विज्ञ र जागिरेहरू’ निर्माण गरिरहेको होला ?
राज्यले शिक्षणलाई जीवनको ‘थकानहीन यात्रा’ मान्ने प्राध्यापकहरू विश्वविद्यालयमा पुर्याउन किन सकेन ? जो आफ्नै ढिपी, इच्छाशक्ति र मेहनतले त्यहाँ पुगे, उनीहरूलाई देख्न र सम्मान गर्न किन सकेन ? प्राध्यापनलाई ‘जागिर’ किन बनायो राज्यले ? यी प्रश्नको उत्तरले नेपालको उच्च शिक्षाको अलिकति इतिहास खोतल्नुपर्ने माग गर्छ। २०१६ सालमा नेपाल प्रवेश गरेको उच्च शिक्षा भारतमा ‘उपनिवेशवादले उसकै हित र रक्षा गर्न निर्माण गरेको छद्म ज्ञानको ‘प्रतिरूप’ (प्रोटोटाइप) का रूपमा आयो। यो व्यावहारिक पनि थिएन, हाम्रो समाजको मौलिक उत्कृष्टताका लागि रूपान्तर गर्न सक्षम पनि थिएन र आवश्यकता सापेक्षित पनि थिएन। तर यसमा संलग्न प्राध्यापकहरू नैतिकवान्, सदाचारयुक्त र कर्तव्यपरायण थिए। उनीहरू इमानदार थिए। उनीहरूले प्राध्यापनलाई जागिर मानेनन् र भ्रष्टाचार हुन दिएनन्। त्यसैले उनीहरूका हातबाट शैक्षिक संरचनाहरू निर्माण भए। शंकरराज पन्त, अमृत श्रेष्ठ, रामराजा पन्त, देवीप्रसाद उप्रेतीहरू यस कालमा जन्मिए।
प्राध्यापन नै सबैभन्दा ठूलो व्यवसाय हो भनी मान्यता राख्ने र सरकारले उपकुलपति बन भनी अनुरोध गर्दा मेरो अनुसन्धान क्रम भत्किन्छ भन्ने प्राध्यापक कति छन् ?
पछिल्लो समय त्रिविमा पञ्च भएपछि प्राध्यापक हुन पाउने प्रवृत्तिको विकास भयो। त्यसमा पनि ‘क्याम्पस र माथिल्ला पदमा ‘गाउँ फर्क र जाँचबुझ’ जस्ता निकाय र राजदरबारको विश्वास प्राप्त हुनुपर्ने परम्परा निर्माण भयो। जब सन् १९९० मा राजनीतिक परिवर्तन भयो, परिवर्तनकारी शक्तिले पनि पञ्चायत र दरबारकै सिको सिके। सुरुमा पार्टीका मानिसभन्दा ‘विचारधाराका’ मानिस आए। तर विस्तारै विचारधारा छोडेर ‘पञ्चायतमा पछिल्लो समयमा मण्डलेहरू’ नियुक्ति भएजस्तै लोकतन्त्रमा ‘झोले र चाकरीबाज’ हरू हावी भए। अझ पछिल्लो समयमा ‘झोले, चाकरीबाज र भ्रष्टहरू’ प्रवेश गरे। एकातिर उच्च शिक्षाको उद्देश्य अस्पष्ट रह्यो। अर्कोतिर शिक्षण पद्धति त्रुटिपूर्ण थियो। अनि, त्यसमा पनि शिक्षण जागिरमा रूपान्तरण भयो। र, अन्त्यमा उच्च शिक्षा ‘चाकरीबाज भ्रष्ट’ हरूका हातमा पुग्यो। त्यस तत्वले असल शिक्षकहरूलाई दमन गर्यो र ठगहरूलाई अगाडि बढायो। यसरी उच्च शिक्षा बर्बाद भयो।
उच्च शिक्षाको निजीकरण पनि उत्तिकै समस्यापूर्ण कारण बन्यो। उच्च शिक्षाका केही विशेषता हुन्छन्। प्राज्ञिक स्वतन्त्रता उच्च शिक्षाको प्राण हो। उच्च शिक्षाले ज्ञान निर्माण गर्छ र त्यही ज्ञान वितरण गर्छ। ज्ञान निर्माण कसैका ‘आदेशले’ हुने होइन, यो लगनशीलता, समर्पण, मानसिक श्रम र इमानदारीबाट निर्देशित हुन्छ। त्यसैले उच्च शिक्षा ‘प्रांगारिक’ हुन्छ, सापेक्षित हुन्छ, विश्वव्यापी पनि हुन्छ, र सबैभन्दा महत्र्वपूर्ण मौलिक (इनोभेटिभ) हुन्छ। त्यसैकारण यो प्रतिस्पर्धी पनि हुन्छ। त्यसैकारण हरेक विश्वविद्यालय अर्कोभन्दा भिन्न हुन्छ। त्यसैकारण उच्च शिक्षामा ‘प्राज्ञिक उद्देश्य’ भएका व्यक्तिले सरकारी संयन्त्रबाहिर वा राज्यको लगानीभन्दा बाहिर पनि विश्वविद्यालय, कलेज, अनुसन्धान केन्द्र, प्रशिक्षण केन्द्र निर्माण गर्छन्। लगानी निजी र समूहको हुन्छ। तर शिक्षा निजी र सरकारी हुँदैन। तर, नेपालमा ‘उच्च शिक्षालाई कमाउने उद्यम–उद्योग बनाइयो। निजी लगानी होइन, व्यापारिक लगानी प्रवर्धन भयो।’ यही व्यापरिक लगानीले ‘हेल्मेट’ शिक्षक, श्रमिक ‘शिक्षक’ र व्यापारी शिक्षक निर्माण गर्यो। विश्वविद्यालयका कलेजको शिक्षक ‘प्रहरीको घुमन्ते’ कर्मचारीजस्तो भयो। यसले ‘प्राज्ञिकता’ को विनाश भयो। ‘इनोभेसन’ को हत्या भयो।
यसबेलासम्म आइपुग्दा नेपालको उच्च शिक्षा उपनिवेशी विरासतमा खडा रहेको, जागिर खाने थलोका रूपमा प्राज्ञिक स्वतन्त्रता विनाश भएको व्यापारिक पथप्रदर्शनमा सञ्चालित मौलिकता र उद्यमशीलताविहीन ‘कुरौटेशास्त्र’ मा परिणत भयो। हाम्रो उच्च शिक्षाले उत्पादन गरेका विद्यार्थीसँग ‘प्रमाणपत्र’ छ ‘ज्ञान’ छैन। त्यसैले उसलाई काम गर्नु नपर्ने ‘जागिर’ चाहिन्छ। उसमा उद्यमशीलता छैन। त्यसैले बेइमानी, अनियमितता र भ्रष्टाचार सिकाउँछ। यी चरित्रले ‘देशभक्ति’ मर्दछ। देशको आजको राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, व्यवसायी, उद्यमी र नागरिक समाज यही शिक्षा पद्धतिको उत्पादन हो।
त्यसैले उच्च शिक्षाको आधारभूत समस्या ‘ज्ञान’ हीनता हो। नेपालमा अनेक खेलहरू विदेशीहरूले प्रायोजन गर्छन्। हामी पढेलेखेका मानिस तिनीहरूका मोहरा बन्न बाध्य छौं। देशको राजनीतिमा ‘नैतिकताको खडेरी’ छ। नैतिक विज्ञहरू होइन, ‘राज्य सञ्चालनमा’ धूर्त, स्वार्थी र समर्थकले प्राथमिकता प्राप्त गर्छ। देशको विकास राष्ट्रमा ‘उपलब्ध विज्ञता’ को गठजोड (सिनर्जी) बाट सञ्चालित हुन्छ। राजनीति गर्नेले विकासको अवधारणा निर्माण गर्छन् र त्यस अवधारणालाई विज्ञहरूले ‘परियोजना’ मा परिणत गर्छन्। त्यसैले विश्वविद्यालयहरू ‘ज्ञान’ को पद्धति प्रयोग गरेर ‘विज्ञान’ को नर्माण गर्छन्। तर, अहिले विश्वविद्यालयहरू ‘बौद्धिक चोरी, भ्रष्टाचार, अनियमितता, अकर्मण्यता र कथित हैसियत’ को प्रयोग गरी अनैतिक र दूराचार उत्पादन गरिरहेका छन्। यसलाई सहयोग हुने संरचना निर्माण गरिएका छन्।
देशमा थुप्रै विश्वविद्यालय खुलेका छन्। ती सबै विश्वविद्यालय सरकारबाट अनुदान लिन्छन्। त्यो अनुदान शिक्षक र प्रशासनका लागि तलबमा प्रयोग हुन्छ। यी विश्वविद्यालयमा त्रिविका शिक्षक उपकुलपति, रजिस्ट्रार, डिन र निर्देशक भएर जान्छन्। उनीहरूको बफादारी यी विश्वविद्यालयप्रति हुँदैन। उनीहरू भागबण्डामा नेताहरूको फेर समातेर जान्छन्। पाँच वर्ष उनीहरू सम्बन्धन बाँडेर कमाउँछन्। सर्टिफिकेट बेचेर कमाउँछन्। विदेश डुलेर कमाउँछन्। प्रवेश परीक्षामा सिट बेचेर कमाउँछन्। विदेशीलाई प्रमाणपत्र बेचेर कमाउँछन्। भित्रको बजेट खाने त स्वाभाविकै हो। यसरी देशको उच्च शिक्षालाई निरर्थक, पङ्गु, विज्ञान र ज्ञानहीन, जागिरको अखडामा रूपान्तरण गरिएको छ।
सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं देशको उच्च शिक्षाको अभिभावक हुनुहुन्छ। देशको उच्च शिक्षाले आवश्यक ज्ञान निर्माण नगरी देशको आर्थिक विकास र जनताको समृद्धि हुँदैन। त्यसैले उच्च शिक्षाको आमूल परिवर्तन गर्न एउटा क्रान्तिको सुरुवात गर्नुहोस् भन्ने अनुरोध गर्छु। त्यसैले केही सुझाव ग्रहण गरिदिनुहोस् :
(क) देशलाई चाहिने विचार ढुकुटी निर्माण गर्न, राज्य सञ्चालनलाई आवश्यक विज्ञहरू निर्माण गर्न नेपाल स्टाफ कलेज, न्यायिक प्रतिष्ठान, मिलिटरी डिफेन्स कलेज, सशस्त्र प्रहरी स्टाफ कलेज, नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, न्याय सेवा तालिम केन्द्र र त्यस्तै प्रतिष्ठानलाई जोडेर ‘राष्ट्रिय विश्वविद्यालय’ निर्माण गर्नुहोस्। राष्ट्रका लागि जीवन समर्पण गर्ने सामाजिक विज्ञानका प्राध्यापकलाई यस विश्वविद्यालयमा राखेर चाहिएजति किताब र अनुसन्धान खर्च दिनुहोस्। राष्ट्रलाई चाहिने विज्ञता र ज्ञान निर्माण गर्ने अनुसन्धान केन्द्र यसमा राख्नुहोस्। यस विश्वविद्यालयलाई जनताले तिरेका करबाट चलाउनुहोस्। विदेशी सहायता अस्वीकार गर्नुहोस्।
(ख) उपकुलपतिको नियुक्ति गर्ने समय आएको छ। कांग्रेस, कम्युनिस्ट नखोज्नुहोस्। प्राध्यापक खोज्नुहोस्, जसले प्राज्ञिक स्वतन्त्रता र इनोभेसन बुझेको होस्। शिक्षा गणेशको क्षेत्र होइन, शिक्षा सरस्वतीको क्षेत्र हो। विश्वविद्यालय सञ्चालन गर्न सक्ने र अन्य पदाधिकारी नियुक्ति गर्ने अख्तियार उपकुलपतिलाई दिनुहोस्।
(ग) विश्वविद्यालयलाई हड्ताल, तालाबन्दी र तनावमुक्त गर्न र केही समयका लािग ‘औद्योगिक सुरक्षा बल’ जस्तै विश्वविद्यालय सुरक्षा बल खटाउनुहोस्। विश्वविद्यालयका संरचनाहरू र प्राज्ञिकताको संरक्षण गर्नुहोस्। अमेरिका र बेलायतमा यस्ता निकाय राखिएका छन्।
(घ) अहिलेसम्म भएका विश्वविद्यालयका भ्रष्टाचार अनुसन्धान गर्न राष्ट्रिय जाँचबुझ कार्यदल घोषणा गर्नुहोस्। सर्टिफिकेट बिक्री गर्ने, नक्कली प्रमाणपत्र लिने, बौद्धिक चोरी गर्ने विद्यावारिधि गर्ने, सम्बन्धन बिक्री गर्ने पदाधिकारी र संलग्न व्यक्तिलाई यसले अनुसन्धान गर्ने छ।
तपाईको कार्यकालमा यति काम भए देश आर्थिक विकासको गतिमा हिँड्न थाल्ने छ।