बढ्यो बलात्कार घटना, कहिले कति भए ?
काठमाडौं : ६ वर्षमा बलात्कारका घटना दोब्बर बढेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार २०७०/२०७१ मा ९ सय ५ वटा घटना भएको थियो। त्यो संख्या २०७५/७६ सम्म आइपुग्दा २ हजार २ सय ३३ पुगेको छ। २०७१/७२ मा ९ सय ८१, २०७२/७३ मा १ हजार ९३, २०७३/७४ मा १ हजार १ सय ३७ र २०७४/७५ मा १ हजार ४ सय ८० घटना भएको देखिन्छ।
७७ वटै जिल्लामध्ये सबैभन्दा बढी घटना काठमाडौंमै भएको छ। त्यसपछि झापामा धेरै घटना भएको प्रहरी तथ्यांकले देखाउँछ। काठमाडौंमा २०७५/७६ मा २ सय १० वटा घटना भएका थिए भने झापामा १ सय ३०। त्यसपछि सुनसरी, मोरङ र कैलालीमा धेरै घटना भएको तथ्यांक छ। सुनसरीमा १ सय १०, मोरङमा १ सय २ र कैलालीमा सय घटना भए।
प्रदेशअनुसार विश्लेषण गर्दा प्रदेश १ मै बढी घटना भएको देखिन्छ। उक्त प्रदेशमा २०७५/७६ मा ५ सय ९४ वटा घटना भए। त्यसपछि प्रदेश ५ मा ४ सय १ घटना भएको देखिन्छ। उपत्यकामा बलात्कारका घटना बढी भएका छन्। उपत्यकामा २ सय ९४, प्रदेश २ मा २ सय ८०, ३ मा २ सय २५, ४ मा १ सय ६७, ६ मा १ सय ३५ र ७ मा १ सय ६० वटा बलात्कार घटना भएको मुख्यालयले जनाएको छ।
२६ देखि ३५ वर्ष उमेर समूहका महिला बढी बलात्कारको सिकार हुँदै आएको देखिन्छ। २०७५/७६ का कुल घटनामध्ये यो उमेर समूहका ७ सय ३४ महिला पीडित भए। त्यसपछि ३६ देखि ४५ वर्ष उमेर समूहका ४ सय १० जना बलात्कृत भएको देखिन्छ।
१७ देखि १८ वर्ष उमेर समूहका ३ सय २८, १० वर्षमुनिका १ सय ६ र ११ देखि १६ वर्षका ९२ जना बलात्कृत भएको प्रहरी तथ्यांकले देखाउँछ। सातै प्रदेशको अभिलेखअनुसार अपहरणपछि ४१ जना बलात्कृत भए। १० जनाको बलात्कार गरी हत्या र दुई जनाको बलात्कारपछि हत्या प्रयास भएको मुख्यालयले जनाएको छ।
बलात्कारका घटना न्यूनीकरणको प्रयास भइरहेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए। प्रहरीले अवलम्बन गरिरहेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि यस्ता विकृति न्यूनीकरण गर्ने प्रयास गरिरहेको उनको भनाइ छ।
‘मानवीय मूल्य र मान्यतासँगै नैतिकतामा पनि ह्रास आएकाले बलात्कारका घटना बढेको देखिन्छ’, उनले भने, ‘सामाजिक सञ्जालको बढ्दो दुरुपयोग पनि यसको कारक बनेको छ।’ बलात्कारका घटना घरपरिवारकै सदस्यसँग जोडिएको उनले सुनाए बताए।