अन्तरिक्षमा अगुवा बन्ने चीनको आकांक्षा
चीनले आकाशमा ठूलठूला योजना बुनेको छ। मंगल ग्रहमा मात्र होइन, वृहस्पति र अरुण ग्रहमा समेत यान पठाउने योजना बनाएको छ। चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा वैज्ञानिक अनुसन्धान स्टेसन निर्माण गर्ने लक्ष्य पनि राखेको छ।
चार्ली क्याम्पबेल
चीनको गोबी मरुभूमिमा बालुवाका ढिस्काहरूको बीचमा एउटा सेतो भवन उभिएको छ। भवनभित्र नवोदित अन्तरिक्षयात्रीलाई अध्ययन र अनुसन्धान गराइन्छ। केही समययता बेइजिङ आफूलाई नम्बर एक अन्तरिक्ष शक्तिका रूपमा उभ्याउन जोडबल लगाइरहेको छ। यो स्थान त्यसैको पछिल्लो अभिव्यक्ति हो।
यो स्थानलाई ‘मार्स बेस १’ नामाकरण गरिएको छ। र, यो चिनियाँ निजी कम्पनी सी स्पेसले बनाएको हो। यो स्थान पृथ्वीमा निर्मित अन्तरिक्ष स्टेसनजस्तै छ। जहाँ हावा नछिर्ने च्याम्बर, हरितगृह, व्यायामशाला, बासस्थान र कन्ट्रोल रुमसमेत बनाइएका छन्। उत्तरपूर्वी प्रान्त गान्सुमा पर्ने यो स्थानमा सौर्य ऊर्जाबाट चल्ने साना–साना गाडी र अनुसन्धान उपकरणहरू जमिनमा डुलिरहेका देखिन्छन्। मरुभूमिको विशाल उजाड क्षेत्र मंगल ग्रहजस्तै देखिन्छ। यहाँ अर्को वर्ष चीनले यान पठाउने योजना बनाइरहेको छ।
साँच्चैको अन्तरिक्ष यात्रामा मान्छेको जीवन कस्तो हुन्छ, यहाँ आउनेले अनुभूति लिन पाउँछन्। माटोबिनाको प्रयोगशालाभित्र अल्ट्राभ्वाइलेट किरणको प्रकाशमा बालीनाली हुर्केको हेर्न पाउँछन्, स्पेस सुटको अवलोकन गर्न पाउँछन्। प्रोटिनका लागि जनावर होइन, जौमा किरा हुर्काइन्छ। ‘यो ठाउँ घुम्न म अत्यन्त उत्साहित छु,’ घुम्न आएका १२ वर्षीय विद्यार्थी चाङ हुआन भन्छन्, ‘चीनले सबैभन्दा पहिले मंगल ग्रहमा मान्छे उतार्न सक्ने हो भने त्यसले हाम्रो देशका हरेक मान्छेलाई प्रेरित गर्ने थियो।’
चिनियाँ महत्त्वाकांक्षा
सायद मंगल ग्रहमा पाइला टेक्न चीनले धेरै कुर्नुपर्ने छैन। यसै पनि उसलाई धेरै पहिलेदेखि नै ‘तियानचाओ’ अर्थात् ‘आकाशीय साम्राज्य’ भन्ने गरिन्थ्यो। अहिले त चीन सरकारले अन्तरिक्ष विजयलाई आफ्नो रणनीतिक प्राथमिकतामै राखेको छ। अमेरिकी गैरनाफामुलक संस्था स्पेस फाउन्डेसनका अनुसार यो वर्ष उसले अन्तरिक्षको क्षेत्रमा आठ अर्ब डलर बजेट छुट्याएको छ। यो क्षेत्रमा चीनभन्दा बढी खर्च गर्ने मुलुक अमेरिका मात्रै हो।
चिनियाँ वैज्ञानिकहरूले नै सबैभन्दा पहिले सन् ९०० मा प्रारम्भिक विमानको आविष्कार गरेका थिए। तर, लङ मार्च अन्तरिक्ष यान प्रक्षेपण गर्न उनीहरूलाई सन् १९७० सम्म कुर्नुपर्यो। त्यो यान पनि सोभियत प्रविधिमा आधारित थियो। चीनले सन् २००३ मा मात्रै अन्तरिक्षमा मानिस पठाउन सक्यो। तर, अहिले यो मुलुकले तीव्र प्रगति गरिरहेको छ। गत जनवरीमा मात्रै चीनले सबैभन्दा पहिला चन्द्रमाको अँध्यारो भागमा अवतरण गर्यो। त्यहाँ उसले आफ्नो ‘चाङ ४’ यान पठाएको थियो।
चन्द्रमाले २८ दिनमा पृथ्वीको एक चक्कर लगाउँछ। आफ्नो अक्षमा पनि २८ दिनमै एक फन्को घुम्छ। जसले गर्दा चन्द्रमाको एउटै भाग सधैं पृथ्वीतिर फर्केको हुन्छ। अर्को भाग सधैं लुकेको हुन्छ। त्यहाँ पुग्न निकै कठिन थियो, जसमा चीनले विजय हासिल गरेको छ। चन्द्रमाको त्यो भागमा पुगेको चिनियाँ जेड र्याबिट २ रोभरले पृथ्वीमा सूचना पठाइरहेको छ। यसअघि नै चन्द्रमासँग रेडियो सम्पर्क कायम गर्न पठाइएको स्याटेलाइटमार्फत ती सूचना पृथ्वीसम्म आइरहेका छन्।
त्यस्तै, चीनले ‘चाङ ४’ यानभित्रै पहिलो पटक कपासको बीउ उमार्न सफल भएको छ। यो अभियान सफल भएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले यसको ठूलो प्रशंसा गरे। ‘यो अभूतपूर्व उपलब्धि हो,’ उनले भने, ‘यसले पूरै चिनियाँ कम्युनिस्ट पार्टी, जनमुक्ति सेना र चीनका सम्पूर्ण समुदायका जनताका लागि उदाहरण पेश गरेको छ।’
अन्तरिक्ष अभियानप्रति चीनले कत्रो महत्त्वाकांक्षा राखेको छ, शीर्षस्थ नेताको यो सराहना र समर्थनबाट बुझ्न सकिन्छ। चीनसँग यसअघि नै संसारकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप छ। १६ सय ४० फिट फराकिलो यो टेलिस्कोपले पृथ्वीबाहिरको जीवन, गुरुत्वाकर्षण तरंग र नयाँ ताराहरूको खोजी गर्छ। चीनले आकाशमा ठूलठूला योजना बुनेको छ। मंगल ग्रहमा मात्र होइन, वृहस्पति र अरुण ग्रहमा समेत यान पठाउने योजना बनाएको छ।
चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा वैज्ञानिक अनुसन्धान स्टेसन निर्माण गर्ने लक्ष्य पनि चीनले राखेको छ। १० वर्षभित्र आफ्नै अत्याधुनिक र विशाल स्पेस स्टेसन बनाउने योजनामा पनि उसले काम गरिरहेको छ। ‘उनीहरूले लामो अवधिका लागि रणनीतिक महत्त्वका लक्ष्य तय गरेका छन्,’ नासामा ३६ वर्ष बिताएकी क्याथी लाउरिनी भन्छिन्, ‘त्यो लक्ष्य हासिल गर्न उनीहरू योजनाबद्ध र व्यवस्थित रूपले काम गरिरहेका छन्।’ उनले नासाको एक्स्प्लोरेसन एन्ड स्पेस अपरेसन्स कार्यक्रमका लागि वरिष्ठ सल्लाहकारको जिम्मेवारी पनि वहन गरेकी थिइन्।
व्यावसायिक अन्तरिक्ष उद्योग
चीनको प्राथमिकतामा रहेको अर्को कार्यक्रम हो, स्याटेलाइट प्रक्षेपण। गत वर्ष उसले ३८ वटा स्याटेलाइट प्रक्षेपण गर्यो। यो अन्य कुनै पनि देशको भन्दा बढी हो। चीन पश्चिमाहरूको स्याटेलाइट पूर्वाधारलाई भेट्टाउन प्रयासरत छ। गत महिना मात्र चीनले पीत सागरबाटै यान प्रक्षेपण गर्यो। उसले पहिलो पटक समुद्रबाट पाँच वटा व्यावसायिक र दुई वटा प्रयोगात्मक प्रविधिसम्बन्धी स्याटेलाइट रहेको यान प्रक्षेपण गरेको हो। अर्थात्, समुद्रबाट यान छाड्ने तेस्रो मुलुक बन्न सफल भयो चीन। यसअघि अमेरिका र रुसले मात्र यो सफलता हात पारेका छन्।
चीनले तीव्र गतिमा हरेक प्राविधिक बाधालाई पार गरिरहेको छ। बेइजिङले अन्तरिक्ष कार्यक्रमलाई दिएको महत्त्व यसबाट प्रस्ट हुन्छ। उसको अर्थतन्त्रका लागि पनि यो महत्त्वपूर्ण छ। प्रविधिको विकासलाई उसले प्रमुख लक्ष्य बनाएको छ। ‘उनीहरू अन्तरिक्षको सफलतालाई आर्थिक वृद्धि र प्रतिस्पर्धात्मकतालाई हाँक्ने साधनका रूपमा हेर्छन्,’ चीनको अन्तरिक्ष कार्यक्रमसम्बन्धी रिपोर्टिङ गरिरहेका पत्रकार एन्ड्र्यू जोन्स भन्छन्।
यति हुँदाहुँदै पनि अन्तरिक्ष अभियान सजिलै सफल हुँदैन। चीनले लङ मार्च ५ यान प्रक्षेपण गर्ने दुई पटकको प्रयास स्थगित गर्नुपर्यो। यानमा अक्सिजन आपूर्ति प्रणालीमा समस्या आएको बताइएको छ। यस्ता बाधालाई तत्काल समाधान गर्न नसके चीनले सन् २०२० मा मंगल ग्रहमा यान पठाउने मौका गुमाउनेछ। किनभने, मंगल ग्रहमा यान पठाउने अवसर हरेक २६ महिनामा एक पटक मात्रै आउने गर्छ। त्यसबेला पृथ्वी मंगल ग्रहको निकट पुग्छ। यसको समय सीमाका कारण समस्या आउनु स्वाभाविक छ। नासाले पनि सन् २०१६ मा आफ्नो इन्साइट यान मंगल ग्रहमा पठाउने मौका गुमायो। एक्जोमार्सले पनि २०१८ मा यस्तै मौका खेर फाल्यो। ‘यस्तो भइरहन्छ,’ लाउरिनी भन्छिन्, ‘मंगल ग्रह पुग्न सजिलो कहाँ छ र !’
मंगल ग्रहभन्दा कम चुनौतीपूर्ण तर बढी फाइदाको सम्भावना भएको क्षेत्र चीनसँग छ। त्यो हो, उसको व्यावसायिक अन्तरिक्ष उद्योग। निजी कम्पनीहरूको ठूलो समूहले नै स्याटेलाइट पठाइरहेको छ। पैसा कमाउने अन्तरिक्ष यात्रासम्बन्धी उपयोगी उपकरण बनाइरहेको छ। चीनमा सैन्य ठेगानाबाट मात्रै प्रक्षेपण गर्न पाइन्छ। त्यसैले यस्ता निजी कम्पनीले अनुमति पाउन राज्यसँग निकट भएर काम गर्नुपर्छ। अमेरिका र रुसमा जस्तै चीनमा पनि निजी कम्पनीहरू तरल इन्धनले चल्ने इन्जिन बनाउन सफल भइसकेका छन्। यसलाई पुनःप्रयोग गर्न सकिने हुनाले ठोस इन्धनबाट चल्ने इन्जिनभन्दा यो सस्तो पनि पर्न जान्छ।
पछिल्ला केही वर्षमा व्यावसायिक अन्तरिक्ष उद्योगमा आमूल परिवर्तन आएको छ। ठूला र चर्चित उद्योगीहरूको स्वामित्वमा रहेका निजी कम्पनी धमाधम खुलिरहेका छन्। विश्वकै धनी व्यक्ति जेफ बेजोसको ब्लू ओरिजिन, अर्बपति रिचर्ड ब्रान्सनको भर्जिन ग्यालाक्टिक र एलन मस्कको स्पेसएक्स सबैभन्दा चर्चित छन्। सन् २०१८ मा स्याटेलाइट प्रक्षेपणको बजार तीन अर्ब डलरको मूल्यांकन गरिएको थियो। त्यसमध्ये ६५ प्रतिशत त स्पेसएक्सकै भागमा रह्यो। स्याटेलाइट इन्डस्ट्री एसोसियसनको रिपोर्टअनुसार सन् २०१३ देखि २०१७ सम्ममा अन्तरिक्षमा रहेका स्याटेलाइटको संख्या डेढ गुणा बढेर १ हजार ७ सय ३८ पुग्यो। ब्लू ओरिजिन र भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष पर्यटन सुरु गर्ने योजना सार्वजनिक गरिसकेका छन्।
सन् २०१४ मा चीनको स्टेट काउन्सिलले सर्वप्रथम निजी अन्तरिक्ष उद्योग विकास गर्ने उल्लेख गरेको थियो। उसले ‘चीनको गैरसैनिक अन्तरिक्ष पूर्वाधार निर्माणमा निजी पुँजीको सहभागितालाई प्रोत्साहन दिने’ वाचा गरेको थियो। त्यसयता सैनिक र गैरसैनिक साझेदारी फस्टाएको छ। सैन्य शिविरबाट निजी कम्पनीहरूले यान प्रक्षेपण गर्ने अनुमति पाएका छन्।
अगुवा बन्न सक्छ चीन
चीन त्यस्तो शक्ति हो, जसले विद्यमान व्यवस्थाको हरेक क्षेत्रमा क्रमभंग गरेको छ। त्यसैले व्यावसायिक अन्तरिक्ष उद्योगमा पनि उसले उत्पादनको क्षेत्रमा जस्तै अभूतपूर्व सफलता हासिल गर्न सक्ने सम्भावना छ। खर्च कम गर्न, क्षमता बढाउन र यो उद्योगको अगुवा बन्न चीन सफल हुनसक्छ। साना स्याटेलाइटको बजार पनि सन् २०२७ सम्ममा १५ अर्बको बन्नेछ। सामान्यतः २ सय २० पाउन्डभन्दा कम तौल भएकालाई सानो स्याटेलाइट भन्ने गरिन्छ।
यो मौकाको सदुपयोग गर्न खोजिरहेको एउटा कम्पनी हो, बेइजिङको स्टार्टअप आई–स्पेस। आउँदो केही साताभित्रै यो कम्पनीले आफ्नो तेस्रो प्रक्षेपणको तयारी गरिरहेको छ। ५० करोड डलर मूल्यांकन गरिएको यो कम्पनीका सीईओ जिङ्ची साईदेखि धेरैजसो कर्मचारीले राज्यको अन्तरिक्ष संस्थामा काम गरिसकेका छन्। चीनको व्यावसायिक अन्तरिक्ष उद्योगले असीमित सफलता प्राप्त गर्न सक्ने जिङ्चीको भनाइ छ। ‘चीनले जति तीव्र गतिमा काम गर्न सक्ने कुनै देश छजस्तो मलाई लाग्दैन,’ उनी भन्छिन्।
निजी चिनियाँ कम्पनीको यो विशाल क्षमतलाई इन्टरनेसनल ट्राफिक इन आम्र्स रेगुलेसन्स (आईटीएआर) का नियमले रोकेर राखेको छ। जसका कारण चीनले अमेरिकी उपकरण जोडिएको स्याटेलाइट प्रक्षेपण गर्न पाउँदैन। यसको बदलामा उसले अमेरिकी उपकरणविहीन स्याटेलाइट प्रक्षेपण गर्दै आएको छ। व्यावसायिक रूपमा स्याटेलाइट प्रक्षेपणमा चीनको हिस्सा अझै कम अर्थात् पाँचदेखि १० प्रतिशतसम्म मात्र रहेको विश्लेषकहरू बताउँछन्। तर, यो छिटो–छिटो वृद्धि भइरहेको छ। चीनले ब्राजिल, भेनेजुएला, लाओस, नाइजेरिया र अल्जेरियाको सञ्चार तथा सर्भिलेन्स स्याटेलाइट प्रक्षेपण गरिसकेको छ। त्यसैकारण युरोपेली स्याटेलाइट निर्माताहरूले समेत आफ्ना सामग्री ‘आईटीएआरविहीन’ बनाउन थालेका छन्।
चीनको अन्तरिक्ष यात्रा र व्यावसायिक कार्यक्रम साथसाथ अघि बढ्ने सम्भावना छ। आई–स्पेसका चिफ इन्जिनियर यी वेई भन्छन्, ‘पहिले म राज्यको अन्तरिक्ष कार्यक्रम डिजाइन गर्थें। त्यो कामभन्दा अहिले स्याटेलाइट प्रक्षेपण सजिलो छ। यहाँ कुनै दबाब छैन।’
अन्य निजी कम्पनीजस्तै आई–स्पेस पनि अन्तरिक्ष पर्यटनमा सफल हुने सपना देखिरहेको छ। स्पेसएक्सजस्ता अमेरिकी प्रतिस्पर्धीभन्दा निकै पछि रहे पनि आफ्नो कम्पनीले पाँच वर्षभित्रै मानिससहितको यान प्रक्षेपण गर्ने जिङ्ची बताउँछिन्। निश्चय नै त्यो अमेरिकी तथा युरोपेली कम्पनीको भन्दा सस्तो पर्न जानेछ। कम्पनीको पहिलो अन्तरिक्ष यात्रामा आफ्नी छोरीलाई पनि लैजाने जिङ्चीको योजना छ। उनी हाँस्दै भन्छिन्, ‘मैले त धेरै छुट पाउँछु होला !’
(‘टाइम’ म्यागजिनबाट अन्नपूर्ण सम्पूर्णका लागि अनुवादः कवि आचार्य।)