जग्गा कब्जा गर्ने स्थानीयलाई प्रहरीले धपायो : भन्छन्, ‘मेयर सा’बले पठाएका हुन्’

जग्गा कब्जा गर्ने स्थानीयलाई प्रहरीले धपायो : भन्छन्, ‘मेयर सा’बले पठाएका हुन्’

नवलपुर : पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१७ मा रहेको खेतान गु्रपको जग्गा कब्जा गरी खनजोत गरिरहेका स्थानीयको समूहलाई प्रहरीले हटाएको छ ।

गोर्खा बु्रअरीका मोहन खेतानले केही वर्षअघि नारायणी नदी किनारमा ३६ विगाहा जमिन स्थानीयबाट खरिद गरेका थिए । लामो समयदेखि खाली रहेको उक्त जग्गा खनजोत गर्न हर्कपुर, बेल्डिया, नगरटाँडीलगायत स्थानबाट करिब एक सयदेखि डेढ सयको संख्यामा स्थानीय पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक अर्जुन रानाभाटले बताए ।

स्थानीयले आ–आफ्नो क्षेत्रफल छुट्टाएर शनिबार र आइतबार खनजोत गरेका थिए । ट्याक्टरसहित दुई दिनसम्म खनजोत गर्न थालेपछि उद्योगले त्यसबारे प्रशासनलाई जानकारी गराएको थियो ।

प्रशासनको निर्देशनपछि प्रहरीको टोलीले गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलसहितका जनप्रतिनिधि लिएर उक्त स्थानमा पुगेको थियो । प्रहरी र जनप्रतिनिधिले अर्कैको जग्गा खनजोत बारे सोधपुछ गरेका थिए । त्यस क्रममा केही जनप्रतिनिधिले खाली जग्गा जोतभोग गर भनेर पठाएकाले आफूहरु आएको भन्ने जवाफ दिएको स्थानीयलाई उद्दृत गर्दै नायब उपरीक्षक रानाभाटले बताए ।

‘मेयर साहेबले खाली रहेको जग्गामा खेती गर्दा हुन्छ, गएर खनजोत गर्नूस् भनेर पठाउनुभयो, त्यसैले औजारसहित आएका हौँ,’ एक स्थानीयले भने । जग्गा खनजोत गर्ने कार्य नरोके कारवाही हुने जनाएपछि दुई दिनपछि स्थानीयहरु त्यहाँबाट हटेको नायब उपरीक्षक रानाभाटले जानकारी दिए ।

नगरप्रमुख पौडेलले आफूले कसैलाई पनि अरुको सम्पत्ति खनजोत गर्न नपठाएको बताए । ‘खनजोत गरेको जानकारी पाएपछि मैले १४ र १७ नं.का वडाअध्यक्षलाई लिएर त्यस स्थानमा पुगेको छु । कसैले बदनाम गर्न मेरो नाम जोडेका होलान् । त्यो गलत हो,’ नगरप्रमुख पौडेलले भने ।

एक्कासी समूह बनाएर उद्योगको जग्गा खनजोत गर्नुले नेत्रविक्रम चन्द विप्लव समूहले पठाएको हुनसक्ने प्रहरीसहित केहीले आशंका गरेका छन् । तर विप्लव समूहका जिल्ला नेताहरुले आफूहरुको उक्त कार्यमा संलग्नता नरहेको स्पष्ट पारे ।

‘स्थानीयले गरेको जग्गा कब्जा बारे हाम्रो पार्टीसँग जोडिएका कुरा सुन्यौँ । त्यो गलत हो । उक्त जग्गा जोतभोग गर्न कसैलाई पठाएका छैनौँ । पार्टीले त्यसबारे कुनै निर्णय गरेको पनि छैन । यो अनर्गल प्रचार हो,’ विप्लव समूहका एक जिल्ला नेताले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.