हाम्रा श्री ३ महाराज, कुलमान घिसिङ र वर्षमान पुनलाई कसरी भेट्ने ?
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गजेन्द्रबहादुर महतले संसदबाटै ऊजामन्त्री वर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका छन्।
प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै मंगलबार सांसद महतले मन्त्री पुन र घिसिङले जुम्लाको समस्यालाई बेवास्ता गरेको आरोप लगाउँदै उनीहरुलाई श्री ३ को संज्ञा दिएका हुन्।
‘हामीले हाम्रा श्री ३ महाराजलाई भेट्ने कोशिस गर्यौं। ती श्री ३ महाराज हुन् कुनमान घिस्रिङ। अर्का हुनुहुन्छ ऊर्जामन्त्री वर्षमान पुन। उहाँहरुको फोन पनि उठ्दैन भेटघाट गर्न पनि पाइँदैन’, सांसद महतले भने,‘अब यी ३ महाराजहरुलाई कसरी भेट्ने हो? हाम्रो जिल्लाको समस्या सामाधान कसरी हुने हो? विद्युत प्राधिकरण भन्ने छैन नेपालमा? के जुम्ला जिल्ला भन्ने छैन? जुम्ला जिल्लामा १ लाख मानिस बस्छन्।’
सांसद महतको भनाइ जस्ताको तस्तै :
जुम्ला अहिले अध्यारो छ, ३८ सालमा बनेको २ सय किलोवाटको बत्ती अहिले बिग्रेर थन्किएको छ। त्यो बन्न अझै तीन चार महिना लाग्छ। त्यसो भएको हुनाले त्यसैकारण हामीले हाम्रा श्री ३ महाराजलाई भेट्ने कोशिस ग¥यौं। ती श्री ३ महाराज हुन् कुनमान घिस्रिङ। अर्का हुनुहुन्छ ऊर्जामन्त्री वर्षमान पुन। उहाँहरुको फोन पनि उठ्दैन भेटघाट गर्न पनि पाइँदैन।
अब यी ३ महाराजहरुलाई कसरी भेट्ने हो? हाम्रो जिल्लाको समस्या सामाधान कसरी हुने हो? विद्युत प्राधिकरण भन्ने छैन नेपालमा? के जुम्ला जिल्ला भन्ने छैन? जुम्ला जिल्लामा १ लाख मानिस बस्छन्। त्यहाँ मोबाइल चलाउन नपाएर कति गाह्रो भइरहेको छ। जात्रा आयो दसैं आयो, तिहार आयो। हामीले यति प्रगती गर्यौं भनेर यिनिहरु कुर्लेको कुल्यै छन्। इन्डियालाई बत्ति बेच्दैछु भन्छन्। कृपया हामीलाई बेचिदिनुस्। जुम्लालाई बेचिदिनुस्।
त्यहाँ पनि नागरिक छन्। मोबाइल छन्, पढ्ने विद्यार्थी छन्, त्यहाँ पनि बिरामी छन्। हाम्रा यी ३ महाराजलाई फेरि भन्न चाहन्छु तपाईहरुले जुम्लाको समस्या हेरिदिनुपर्यो। मैले सुन्ने गरेको थिए यिनिहरुको सेवा, कामकाज जहाँ कमिसन आउँछ त्यहाँ मात्र विस्तार गर्छन भनेर। आज मलाई यो कुरामाथि विश्वास लागेको छ। जहाँ कमिसन आउँछ जहाँ पैसा आउँछ यिनिहरु त्यहाँ मात्र सेवा विस्तार गर्ने रहेछन्। ३ महाराजले यी कुरा सुनिदिनु पर्यो यत्ति भन्न चाहन्छु।