दार्चुलामा जताततै पहिरो : दर्जनौं घर जोखिममा, महाकाली लोकमार्ग अवरुद्ध

दार्चुलामा जताततै पहिरो : दर्जनौं घर जोखिममा, महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला : अबिरल वर्षाका कारण दार्चुलाका विभिन्न स्थानमा बाढी पहिरोले वितण्डा मच्चाएको छ। अविरल वर्षाका कारण खोला तथा नदीमा पानीको सतह बढेको छ।जिल्लाका विभिन्न स्थानमा पहिरो खसेको छ।

यस्तै वर्षाका कारण महाकाली नगरपालिकाको बडाली गाउँमा पहिरोका कारण १३ घरधुरी जोखिममा परेका छन्।  बस्तीभन्दा तल पहिरो खसेको र पहिरो खस्ने क्रम नरोकिएकाले बडालीगाउँका १३ घरधुरी उच्च जोखिममा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर बिष्टले जानकारी दिए।

पहिरोको उच्च जोखिममा परेका १३ घरधुरीबाट सामान सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। पहिरो खस्ने क्रम नरोकिएपछि स्थानीय त्रसित भएका छन्। वर्षा भइरहेकाले सामान सार्न समेत समस्या भएको छ।

सशस्त्र प्रहरीका डिएसपी डम्बरबहादुर विष्टको नेतृत्वको २५ जनाको सशस्त्र प्रहरीको टोली तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रबिन्द्र कठायतको टोली उद्धारका लागि खटिएको छ।

यस्तै लास्कु खोलाले बंगाबगडको तल्लो सडक बगाएको स्थानीय चक्रबहादुर बमले बताए। उनले भने,' दार्चुला तिंकर सडकसम्म जोडिएको बंगाबगड दल्लेख सडकखण्ड लास्कु खोलाले कटान गरेपछि यातायात सेवा ठप्प भएको छ।'

यस्तै, श्रीबगडस्थितको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको पोष्ट नजिककैको अस्थायी काठेपुल बगाएको छ भने पोष्ट समेत जोखिममा परेको छ। अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको श्रीबगड पोष्ट जोखिममा परेपछि उक्त पोष्टमा कार्यरत कर्मचारी पोष्ट छाडेर सदरमुकाम झरेको कर्मचारी गोकर्ण अवस्थीले बताए। महाकाली नगरपालिका-२ बुढीचौराका बिरादत्त बडुको खेत बाढी र पहिरोले बगाएको उनले बताए।

महाकाली लोकमार्ग अवरुद्ध 

महाकाली लोकमार्गअन्तरगत पर्ने बैतडी दार्चुला सडक पूर्णरुपमा अवरुद्ध भएको छ। अबिरल वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरोका कारण महाकाली लोकमार्ग अवरुद्ध भएको हो। महाकाली लोकमार्गको गोकुलेश्वर-खलंगा सडकखण्डका विभिन्न स्थानमा खसेको पहिरोका कारण सवारी साधन चल्न नसकेको स्थानीय अकबरसिंह धामीले बताए। मंगलबार बिहान खसेको पहिरोले बैतडी जिल्लामा पर्ने बंगाबगड क्षेत्रमा ठूलो पहिरो खस्दा दार्चुला तथा बैतडी जिल्लाका सवारी साधन बीच बाटोमा रोकिएका छन्।

बिहान ६ बजेतिर बैतडीको बंगाबगडमा खसेको पहिरो कारण महाकाली लोकमार्ग अवरुद्ध हुँदा दार्चुलाबाट काठमाडौं महेन्द्रनगर तथा धनगढीका लागि छुट्ने तथा जिल्ला भित्रिने सवारी साधन चल्न सकेका छैनन्।

बंगाबगडमा ठूलो पहिरो खस्दा दार्चुलाको खलंगा तथा बैतडीको गन्ना बसपार्कबाट छुट्ने तथा महेन्द्रनगर, धनगढी तथा काठमाडौंबाट भित्रिने सवारी साधन चल्न नसकेको पहिरोस्थलमा रोकिएका यात्रु नबिन जोशीले बताए। 

गाडीहरु चल्न नसकेपछि यात्रु बीचबाटोमा अलपत्रमा परेको जोशीले बताए। बिहान ६ बजेदेखि आएको पहिरो अहिलेसम्म पन्छ्याउने सकेको छैन। यस्तै गोकुलेश्वर-खलंगा सडकखण्डका विभिन्न स्थानमा खसेको पहिरो पन्छ्याउन गोकुलेश्वरबाट जेसिबी लगाई पहिरो हटाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.