खलंगा-पाँचकाटिया सडक अवरुद्ध
जाजरकोट : जाजरकोट-डोल्पा सडक अन्र्तगत खलंगा–पाँचकाटिया–पैक सडक अवरुद्ध भएको छ। वर्षाका कारण ठाउँठाउमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो। बाटो अवरुद्ध भएपछि आवतजातका साथै दुर्गम गाउँमा दैनिक उपभोग्य सामान आपूर्तीमा समस्या भएको छ। विरामीलाई स्वास्थ्य संस्था लान समस्या भएको छ।
सडक खनेको १२ वर्ष वितिसक्दा पनि स्तरोन्नती हुन नसक्दा हरेक वर्ष सडक अवरुद्ध हुने गरेको हो। बाटो बिग्रिएपछि पैदलै हिड्नुको विकल्प नभएको कुशे ५ की निर्मला थापाले बताइन। उनले ठाँउ–ठाँउमा बाटो बिग्रिएकाले तत्काल मर्मत गरेर बाटो संचालनमा ल्याउन अवसम्भव जस्तै भएको बताइन्।
सडक डिभिजनले गत वर्षदेखि यो सडकको स्तरोन्नती गर्ने कार्य गरिरहेको छ। तर सडक स्तरोन्नतिको काममा ढिलाई हुँदा यातायात संचालनमा समस्या भएको हो। सम्बन्धित निकायको लापरवाही र उदासिनताले सडक निर्माणमा ढिलाई हुँदा यातायात अवरुद्ध हुने गरेको कुशेगाउँपालिका ८ का कालीप्रसाद थापाले बताए।
जाजरकोट– जुम्ला सडकको खलंगा–पाँचकाटिया सडकखण्ड २२ किलोमिटर मात्र छ खन्न थालेको १२ वर्ष बढी भैसक्यो बजेट ७० करोड खर्च भैसक्यो तर अहिलेसम्म गाडी गुड्न लायक सडक निर्माण भएको छैन। सम्बन्धित निकायको लापरवाहीले सडक संचालनमा आउन नसकेको थापाको भनाइ छ।
बर्षा लाग्ने बित्तिकै यो सडक बर्षेनी अवरुद्ध हुने गरेको छ। साना जिप, ट्याक्टर चल्ने यो सडक अवरुद्ध भएसँगै कुशे र बारेकोट गाउँपालिकाको सदरमुकाम सँगको सम्पर्क टुटेको छ। स्थानीय बासिन्दा पैदल हिड्न बाध्य छन्। धेरै ठाउँमा सडक बिग्रिएकोले तत्काल मर्मत गर्न समस्या भएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ।