विज्ञान बुझ्दै प्रयोगात्मक शिक्षा

विज्ञान बुझ्दै प्रयोगात्मक शिक्षा

सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक ज्ञान बढी प्रभावकारी हुन्छ। विज्ञान र प्रविधिको क्षेत्रमा यो झनै अनिवार्य मानिन्छ। अर्थात् प्रयोगात्मक ज्ञान बिना सैद्धान्तिक ज्ञान अधुरो रहन्छ।

विद्यार्थी सामान्यतः जिज्ञासु स्वभावका हुन्छन्। नयाँनयाँ कुरा जान्न खोज्छन्। आफूले सिके, जानेको कुरा सबैसामु बाँड्न चाहन्छन्। तर, सीप अभावमा उनीहरू काम गर्न डराइरहेका हुन्छन्। यसै कारण विद्यार्थीले बेलैमा आफ्नो सीप र क्षमताको पहिचान गर्न नसकि पछाडि परिरहेका देखिन्छन्। हाम्रो शिक्षा ऐनमा पनि प्रयोगात्मक शिक्षालाई विशेष जोड दिइए तापनि व्यवहारमा भने लागू भएको देखिँदैन।

प्रयोगात्मक शिक्षाको अभावमा विद्यार्थी सैद्धान्तिक ज्ञानमा अब्बल भए पनि व्यावहारिक ज्ञान वा शिक्षामा कमजोर हुन्छन्। त्यसको परिणाम उनीहरूको कार्यक्षेत्रमा देखिन्छ। त्यसैले विद्यार्थीलाई पढेको कुरामा सक्षम बनाउन सानो कक्षादेखि नै प्रयोगात्मक शिक्षामा ध्यान दिनु जरुरी छ। तर, नेपालमा यस्तो ठाउँको अभाव देखिन्छ।

यस्ता अभावलाई हटाउन र विद्यार्थीलाई विज्ञान तथा प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले ललितपुरको भैंसेपाटीमा ‘सिमुलेसन साइन्स सेन्टर’ सञ्चालनमा आएको छ।

सिमुलेसन साइन्स सेन्टर विज्ञानका विविध विषयमा चासो भएकाहरूका लागि एउटा राम्रो प्लेटफर्म हो। साथै यहाँ विज्ञान र प्रविधिबारे नयाँ नयाँ सामग्रीहरूको प्रस्तुति रहेको सेन्टरका अध्यक्ष प्रतीक्षा थापा बताउँछिन्। उनी भन्छिन्, ‘विज्ञान र प्रविधिको बारेमा सिकाउनु हाम्रो लक्ष्य हो। यहाँ विद्यार्थीको पाठ्यक्रममा आधारित प्रोग्रामहरू तयार गरेका छौं।’ सेन्टर आइतबारदेखि शुक्रबारसम्म विद्यार्थीका लागि खुल्ने गरको छ।

कसका लागि उपयोगी

शनिबारका दिन सामान्य मानिसका लागि सेन्टर खुला गरिन्छ। गत साताको शनिबार त्यहाँ जाँदा धेरै अभिभावकले आआफ्ना छोराछोरीलाई लिएर आएका देखिन्थे। अभिभावक आफ्ना छोराछोरीलाई मनोरञ्जनसँगै उत्साहित भएकोे देखेर खुसी भएका थिए। आफू पनि नयाँनयाँ कुरा देख्न पाउँदा एकदमै खुसी थिए।

बाँसघारीकी सदीक्षाले फेसबुकमार्फत यो सेन्टरको बारेमा थाहा पाएकी हुन्। कक्षा १ मा पढ्ने छोरालाई लिएर उनी सेन्टरमा आएकी थिइन्। सेन्टर बच्चाहरूका लागि मात्र उपयोगी ठानेकी थिइन् उनले। तर त्यहाँ जाँदा सबैका लागि उपयोगी रहेछ भन्ने उनलाई लाग्यो। उनले भनिन्, ‘यो त विज्ञान र प्रविधिबारे चासो राख्ने सबैका लागि ज्ञानको भण्डार रहेछ।’ उनी पनि विज्ञानकी विद्यार्थी रहिछिन्।

भीएस निकेतनमा कक्षा ६ मा पढ्ने आयुषी गौतमले आफ्नो बाबा हेमन्त गौतमले भनेपछि मात्रै सेन्टरको बारेमा थाहा पाइन्। बुवासँगै उनी पनि सेन्टरमा घुम्न आएकी थिइन्। त्यहाँ उनले कुन उमेरका बालबालिकाले के खाने, के नखाने भन्ने जानकारी पाइन्। साथै ग्लोबल वार्मिङसम्बन्धी भिडियो पनि हेरिन्। खुसी हुँदै उनले भनिन्, ‘स्कुलमा यस्ता कुरा पढाइ त हुन्छ तर प्राक्टिकल अलि कम हुन्छ। यहाँ मैले हेर्ने मौका पाएँ र धेरै कुरा सिकेँ।’ उनका मनका सबै खुल्दुली पनि मेटिए। रकेटका बारेमा उनले सुनेकी थिइनँ। तर त्यहाँ पुगेर त्यो कसरी माथि जान्छ भन्ने समेत थाह पाइन्। यसलाई नजिकबाटै नियाल्ने मौका पाएको उनले बताइन्।

किस्ट मेडिकल कलेजमा कार्यरत डा. एन्जेला बस्नेत आफ्ना बच्चाहरूसँगै आएकी थिइन्। उनले आफ्नो विगत सम्झिँदै भनिन्, ‘हाम्रो पालामा यस्तो प्राक्टिकलका सामान त्यति थिएनन्। सूत्रहरू घोक्यो, कण्ठ पार्‍यो। यस्तो देख्न पाएको भए अझै धेरै कन्सेप्ट आउँथ्यो होला।’

श्रेयाङ श्रेष्ठ पनौतीको मल्पी इन्टरनेसनल स्कुल कक्षा ५ मा पढ्छन्। उनलाई पनि विज्ञान र प्रविधिमा एकदमै चासो छ। उनले यहाँ आएर राबोट, भीआर क्रेनआदि देखे। ती चलाएर खुसी पनि भए। इन्जिनियरिङको सामान कसरी बन्छ ?       उनीहरूले के–के प्रयोग गर्छन् भन्ने पनि उनले थाहा पाए। उनले भने, ‘मैले एउटा इलेक्ट्रिक सर्किट बनाएँ। लाइट कसरी बल्छ भनेर बालेर हेरेँ। अनि भीआरबाट विश्वका धेरै ठाउँ घुम्न पाएँ।’

के के छन् त्यहाँ ?

यस्ता सेन्टर अरू देशमा थुप्रै छन्। तर, नेपालमा भने पहिलो हो। यहाँ आएपछि विद्यार्थीले नयाँ प्रविधिसँग खेल्न र प्रयोग गर्न पाउँछन्। ‘हामीसँग फरकफरक थिमका फरकफरक सेक्सन (कक्षा) छन्’ सेन्टरकी भीआर एन्ड डेमो इन्स्ट्रक्टर अंशु कर्णले बताइन्। सेन्टरमा ‘फिजिक्स डेमो,’ ‘रोकोटिक्स’, ‘प्रोग्रामिङ’, ‘इन्भेन्सन’, ‘इनर्जी’, ‘सर्किट्स’, ‘इन्जिनियरिङ’, ‘टेक्नोलोजी’, ‘मेकानिक्स’, ‘स्पेस म्युजियम’, ‘भीआर एजुकेसन’, ‘मोसन सिमुलेटर’ आदि बारे अध्ययन र प्राक्टिकल गर्न पाइन्छ।

भीआर क्लास

यसको अर्थ हो, भर्चुअल रियालिटी। भीआर केस युज गरेर थ्री डी मोडेलमा विभिन्न सिनारियोहरू हेर्ने मौका पाइन्छ। साँच्चै नै त्यहाँ पुगेका महसुस गर्न सकिन्छ। भीआरमा समावेश गरिएका ठाउँ वा क्षेत्र सबै पाठ्यक्रममा आधारित नै रहेका छन्। जस्तै ः ताजमहल, तारापुञ्ज, सौर्यमण्डल, ग्रेटवाल अफ चाइना आदि।

फिजिक्स डेमा

विज्ञान पनि नेचुरल फेनोमेना हो। अलि ठूला विद्यार्थीका लागि फिजिक्स अफ लाइट, नेचुरल अरोडा, सोलार सिस्टम आदिबारे जानकारी गराइन्छ। नेचुरल साइन्समा फिजिकल सिद्धान्तमा आधारित विभिन्न विषयहरू राखिएका छन्। जस्तैः गिअर्स, पोर्टल इन्टरनल रिफ्लेक्सन, न्युटन्स क्रेडल आदि उनीहरूले आफूले मन लागको कुरा आफंैले फिट गरेर चलाउन सक्छन्। ती कसरी बन्छन् भन्ने कुरा उनीहरूले आफैं पनि अवलोकन गर्न सक्छन्।

रोबोटिक

विद्यार्थी यहाँ आउँछन् र उनीहरू आफैंले रोबोटसँग कुरा गर्ने कोड सेट गर्छन्। रोबोटलाई अर्डर दिन्छन्। जे जे भन्छन् रोबोटले त्यही नै गरेर देखाउँछ। त्यहाँ विभिन्न खालका रोबोट राखिएका छन्। जस्तै ड्यास एन्ड डट, ओजोबोट एन्ट क्युलेस आदि।

स्पेस म्युजिय

यसमा एस्ट्रो फिजिक्समा आधारित दुईवटा कक्षा छन्। अडिटोरियम र प्लानिटोरियम। प्लानिटोरियमा विद्यार्थीले रकेट, डिफरेन्ट प्लानेट इन थ्री डी मोडेल, रकेटको पार्ट्सको बारेमा थाहा पाउन सक्छन्।

इन्जिनियरिङ

यसमा आधारभूत इन्जिनियरिङ कक्षा छ। त्यहाँ घरमा प्रयोग विभिन्न सर्किटहरू विद्यार्थीले आफैं बनाउने प्रयास गर्छन्। त्यसैगरी उनीहरूले इन्जिनियरहरूले गर्ने कामको जानकारी पाउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.