विप्लव समूहका केन्द्रिय सदस्यसहित तीनजना पक्राउ
टिकाराम खनाल। रुकुम : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृ्त्वमा रहेको नेकपाका केन्द्रिय सदस्यसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। रुकुम पश्चिम त्रिबेणी गाउँपालिका वडा नम्बर २ का श्यामबहादुर बोहरा,अनेरास्ववियु क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समिति रुकुम पश्चिमका सह-संयोजक प्रेम प्रशान्त बोहरा र आठबिस नगरपालिका वडा नम्बर ११ का रुकुम पुर्वका अनेरास्ववियु क्रान्तिकारीका जिल्ला सम्मेलन आयोजक समिति संयोजक हरि पुनलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको टोलीले मंगलबार राति त्रिबेणी गाउँपालिका वडा नम्बर ६ को मुरुबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।
केहि दिन यता छिमेकी जिल्ला रोल्पा, सल्यान र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको बजार तथा स्थानीयसँग चन्दा रकम माग गर्दै अवान्छित गतिविधी सञ्चालन गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी जनाएको छ। पक्राउ गरिएका तिनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए।