बाजुरामा महिला तथा बालबालिका हराउने क्रम बढ्यो
बाजुरा : जिल्लामा महिला तथा बालबालिका हराउने संख्या बढ्दो छ।जिल्ला प्रहरी कार्यालयमा आएका निवेदनका अनुसार गएको तीन आर्थिक वर्षमा एक सय ५२ जना महिला तथा बालबालिका हराएको तथ्याङ्क रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनकराज ढुंगानाले बताए।
ढुंगानाका अनुसार आर्थिक वर्ष ०७३-०७४ मा महिला र बालबालिका गरी ६१ जना हराएको उजुरी दर्ता भएको छ।६१ हराएकामध्ये ३२ जना फेला पारेको तथ्याङ्क छ भने ३२ जनाको खोज तलास भइरहेको बताए।
यसैगरी ०७४-०७५ मा महिला र बालबालिका गरी २७ जना हराएका छन्।२७ जनामध्ये १४ जना महिला तथा बालबालिका फेला पारेका छन् भने १३ जना खोज तलासमा रहेका छन्। त्यस्तै, गत आर्थिक वर्ष ०७५-०७६ असारसम्ममा बालबालिका २० जना, महिला १९ जना र जिल्ला प्रहरी कार्यालय बाजुरा मातहतका इलाका र प्रहरी चौकीमा उजुरी नआएको तर बेवारिसे अवस्थामा फेला पारिएका बालबालिकामध्ये बालक चारजना र बालिका तीनजनासहित सातजना गरी ६४ जना हराएको तथ्याङ्क प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए।
गएको आर्थिक वर्ष ०७५-०७६ गत वर्षमा हराएका महिला तथा बालबालिकामध्ये खोजीबाट फेला परेका बालक १९, बालिका १५ र महिला ८ गरी ४२ जना भेटिएका छन्। बाँकी खोज तलास प्रक्रियामा रहेका एक बालक, तीन बालिका र ११ महिला गरी १५ जनाको खोजी भइरहेको सूचना अधिकारी ढुंगानाले जानकारी दिए।
पहाडी जिल्लामा हराउने घटना कमै हुने गरेका थिए। यो वर्ष अत्याधिक बढेको प्रहरीले बताएको छ। सडक सञ्जालको पहुँचसँगै बढ्दो आवतजावत र अरुको नक्कल पहिलो समस्या हुने गरेको खप्तड छेडेदह गाउँपालिका-३ का अध्यक्ष एवं बाल मनोविमर्शकर्ता दिपक रावतको भनाई छ।
बाजुरा प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट गएको आर्थिक वर्षमा १६ हजार ९ सय एक लिटर अवैध मदिरा बरामत गरी नष्ट गरेको बताएको छ।यस्तै १ सय २० रोपनीमा लगाएको गाजाका बोट फडानी गरेको छ।
एक वर्षमा जिल्ला प्रहरी कार्यलय महिला तथा बालबालिका सेवा केन्द्रमा ५० वटा निवेदन आएकोमा ४८ वटा निवेदनको मिलापत्र गरेर बाँकी दुईवटा बाजुरा जिल्ला अदालत पठाएको छ। २० वटा लैंगिक हिसाका निवेदनमा सबै मिलापत्र गरेको छ। १० वटा बालविवाहका उजुरीमा १० जना जोडीलाई सम्झाएर अभिभावको जिम्मा लागएको जिल्ला प्रहरी कार्यलयक प्रमुख प्रहरी उपरीक्षक डिएपी उद्धव सिंह भाटले बताए।
बाजुरामा रहेको छाउपडी न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले ९ वटा स्थानीय तहमा ३ सय ८९ वटा छाउपडी गोठ पहिचान गरेर उनीलाई सम्झाई बुझाई १ सय ६८ वटा छाउपडी गोठ स्थानीयको पहलमा भत्काइएको छ।
पछिल्लो समय बाजुरा प्रहरीको सक्रियताले गर्दा बाजुली जनाता उत्साहित भएका छन्। यसअघिका वर्षभन्दा यो वर्ष बाजुरामा हिंसाका घटनामा कमी आएको छ।