पूर्वराजदूत उपाध्यायले यसरी सम्झिए स्वराजलाई
नयाँ दिल्ली : भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएका बेला भारतका लागि नेपाली राजदूत थिए दीपकुमार उपाध्याय । मंगलबार राति स्वराजको निधन भयो राजदूत उपाध्यायले उनलाई यसरी सम्झिएका छन्। (टेलिफोनमा गरिएको कुराकानीमा आधारित)
नेपालमा भूकम्पको समयमा म दिल्लीमा थिएँ। सुष्मा स्वराजसँग निकट भएर काम गर्दा सरल र असल व्यक्तित्वका रुपमा पाएँ । त्यो मेरा लागि सौभाग्य थियो । उहाँले त्यसबेला नेपाललाई सहयोग गर्न देखाएको तत्परता सह्रानायोग्य छ ।
हुनत नेपाल र नेपाली जनताप्रति सद्भाव राख्ने स्वराजकै कार्यकालमा नेपालले नाकाबन्दीको पीडा भोग्नुपर्यो। स्वराजको विदेश मन्त्रीकालमा नेपालले जारी गरेको संविधानप्रति असन्तुष्टि जनाउँदै भारत सरकारले अघोषित नाकाबन्दी लगायो । ६ महिना लामो नाकाबन्दीका कारण नेपाली जनताले निकै दुख पाएका थिए।
त्यतिबेला विपक्षी पार्टीहरुले भारतको संसद्मा नेपालमा गरेको नाकाबन्दीबारे प्रश्न उठाएका थिए। विपक्षीलाई जवाफ दिनेक्रममा स्वराजले राजीव गान्धीको समयमा पनि नेपालमा नाकाबन्दी लगाएको र पहिलो पटक नभएको भनी घुमाउरोरुपमा नेपालमा नाकाबन्दी लगाएको स्वीकार्नु भएको थियो ।
नाकाबन्दीका समयमा नेपाली जनताका दुःख पीडा लिएर उहाँको कार्यालय, निवासमै भेटेर पनि कुराकानी हुन्थ्यो । नेपालीले जनताको दुःख सुनेर व्यक्तिगतरुपमा उहाँ पनि निकै दुःखी हुनुहुन्थ्यो–‘भारत सिस्टममा चल्ने मुलुक हो, म एक्लैले चाहेर पनि केही हुँदैन्’–उहाँले भनेको कुरा मलाई सम्झना छ ।
नाकाबन्दी खुलाउनका लागि मैले पटक–पटक उहाँलाई भेटें । उहाँलाई भेट्न कुनै प्रोटोकल थिएन। चाहे कार्यालय होस अथवा निजी निवास, मलाई बोलाएर मेरा कुरा सुन्नुहुन्थ्यो, म निकै दुखी भएको देखेर उहाँले भन्नुहुन्थ्यो–‘राजनीति र कूटनीतिमा कहिलेकहीं असहज परिस्थिति पनि आउँछन् । हरेश खानु हुन्न, धैर्य गर्नुपर्छ।’ नेपाली जनता मेरा परिवारका सदस्यजस्ता हुन् भन्नुहुन्थ्यो ।
नाकाबन्दी खुलाउने काम भारतको प्राथमिकतामा नपर्न पनि सक्थ्यो । स्वराजको अथक प्रयास नभएको भए नाकाबन्दी अझै लम्बिन सक्थ्यो । त्यसैले नाकाबन्दी खुलाउनका लागि उहाँले गर्नुभएको सहयोग म भुल्न सक्दिनँ ।
स्वराजले नेपाल निकट मानिएका भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरसँग नजिक भएर कामगर्नु भएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहयोग पुर्याएका चन्द्रशेखरको प्रभावका कारण नेपाललाई नजिकबाट बुझेकी सुश्माको नेपालप्रतिको लगाव गहिरो थियो । पूर्वीय संस्कृतिकी जानकार स्वराज नेपालको संस्कृतिलाई आदर सम्मान गर्ने नेताहरुमा पर्नुहुन्थ्यो ।