बाढीले पर्सामा ३ हजार ७ सय हेक्टर खेत बाँझो
वीरगन्ज : असारमा आएको बाढी र डुबानका कारणले धान रोप्न नपाउँदा पर्सा जिल्लामा ३ हजार हेक्टरभन्दा बढि खेत बाँझो भएको छ। बाढी आउनुभन्दा पहिले रोपको धान र ब्याडमा रहेको डुबेर सखाप भएको छ। बीउ नपाइएका कारण किसानले दोहोरयाएर रोपाइँ गर्न नसकेकाले खेत बाँझै रहन पुगेको हो।
बाढी र डुबानका कारण पर्सामा यो वर्ष धानको रोपाइँ नै कम भएको जिल्ला कृषि विज्ञान केन्द्र पर्साले बताएको छ। गत आर्थिक वर्षको तुलनमा यो वर्ष जिल्लामा ८ प्रतिशत कम धानको रोपाइ भएको केन्द्रका बाली सरंक्षण अधिकृत समसुल हकले जानकारी दिए।
साउन १८ सम्म संकलन गरिएको तथ्याङकअनुसार पर्सा जिल्लमा ९२ प्रतिशत रोपाइँ भएको छ। गत आर्थिक वर्षमा गरिएको धान खेतीलाई आधार मानेर यो वर्ष पर्सा जिल्लामा ४६ हजार ३ सय ६० हेक्टरमा धानको खेती हुने अनुमान थियो। तर बाढी र डुबानका कारण ४२ हजार ६ सय ५१ हेक्टरमा मात्र धानको रोपाइँ भएको हकले बताए।
अब धानको बीउ पनि नपाइने र रोपाइँको समय पनि बितिसकेका कारण थप रोपाइँ हुने सम्भावना नरहेको भन्दै हकले भने,‘ रोपाइँ हुन नसकेका ३ हजार ७ सय ८ हेक्टर जग्गा यो वर्ष बाँझो नै रहने भयो। '
छरछिमेक र आसपासका गाँउ चहार्दा पनि बीउ नपाएपछि धान रोप्न नपाएर खेत बाँझै राख्न बाध्य भएको दुखेसो पर्सा झौवाका किसान दिपन रामको थियो। उनी भन्छन्,‘सालभरि (वर्ष भरि) लाई खान पुग्ने खेत बाढी र डुबानका कारण बाँझै रहयो, अब बालबच्चाको लालन पालन कसरी गर्ने भन्ने चिन्ताले अहिलेदेखि नै सताइरहेको छ।'
ऋण खोजेर जेनतेन रोपेको रोपाइँ गरेको एक साता नबित्दै डुबानको पानीले नष्ट भएको र पछि दोहोर्याएर रोपाइँ गर्न खोजे पनि बीउ नपाइएकाले खेत बाँझै राख्न बाध्य भएको रामले बताए।
जीराभवानी गाउपालिकाका १ पिपराका किसान शीवशंकर रायको पनि १८ कठ्ठा खेत , रोपाइँ गर्न नपाएका कारण बाँझै भयो।
'वर्षा कुरेर बसेका थियौँ, असार अन्तिमतिर पानी त पर्यो तर पाँचदिनसम्म लगातार परेको पानीले ब्याड र खेत डुबानमा परेर खेत रोप्न ढिला भयो', उनले भने,‘ब्याडमा राखेको बीउ डुबेर बिग्रियो। चारैतिर खोज्दा पनि बीउ नै पाइएन।'
रोपिएको धानबालीमा पनि उत्पादन कम हुने
जिल्लाका अधिकांश किसानहरुले रोपिएको धान बालीमा पनि डिएपी मल हाल्न पाएका छैनन्। रोपाइँ गरेपछि बजारमा डिएपी मलको अभाव भएको थियो। मल अभावमा उत्पादनमा कमी आउने भन्दै किसान चिन्तित छन्।
'खेत रोपेको महिनादिन पुग्न थाल्यो तर अहिलेसम्म डिएपी मल हाल्न पाएको छैन', पर्सा धोबीनी गाँउपालिकाको हरिहरपुरका किसान रामसुरत राउतले भने,‘रोपाइँकै बेला डिएपी मल हाल्नु पर्ने थियो तर बजारमा डिएपी मल नै पाइएन, मल नहालेपछि बाली सप्रिन पनि पाएको छैन।'
बजारमा डिएपी मल नपाइएका कारण किसानहरुले धानबालीमा मल हाल्न नपाएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत समसुल हकले बताए।
'अचेल किसानहरु रासायनिक मलमा मात्रै निर्भर छन्', हकले भने, 'तर यसपालि धान रोप्ने बेलादेखि नै बजारमा डिएपी मलको अभाव भएकाले अधिकांश किसानले मल हाल्नै पाएका छैनन्।'
बालीमा किसानहरुले डिएपी मल नहालेका कारण यसपाली धानको उत्पादनमा कमी आउने निश्चित रहेको हकले बताए। डिएपी मलको मौज्दात नरहेकाले असारदेखि यता कृषि सामग्री कम्पनीले डिएपी मल वितरण गर्न सकेको छैन ।
कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख गोविन्दप्रसाद पराजुलीले असारभन्दा पहिला प्रत्येक सहकारीलाई सातामा ५०–५० बोरा डिएपी मल वितरण गरिएको तर असारदेखि कम्पनीमै डिएपी मल सकिएकोले त्यसयता वितरण गर्न नसकिएको बताए।
तेश्रो मुलुकबाट भारतको विशाखापटना बन्दरगाहमा कम्पनीको एउटा कन्साइन्मेन्टको ५० हजार मेट्रिक टन डिएपी मल आइपुगेको जानकारी दिँदै उनले भने,‘उक्त मल साउन ३० सम्म वीरगन्ज आइपुग्छ होला, त्यसपछि डिएपी मलको अभाव हुँदैन।'
तर साउन ३० पछि आउने डिएपी मल धानबालीका लागि प्रयोगमा नआउने कृषि प्राविधिकहरु बताउँछन्। कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत समसुल हकले भने,‘धानबालीमा डिएपी मल रोपाइँ गर्ने बेलामै हाल्नुपर्छ, त्यसैले अहिले आउने भनिएको डिएपी मल अब धानबालीको लागि काम छैन, अब गहुँबालीमा त्यो मल उपयोग हुन्छ।'