आजकाे मौसम : चट्याङ्गसहित हल्का वर्षा हुने
काठमाडौं : देशका अधिकांश स्थानहरुमा सामान्य बदली भएर पूर्वी भू -भाग र पश्चिमको केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा बिहीबार बिहान देशको पूर्वी भू-भागका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय भएको उल्लेख छ।
'मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ ।' बुलेटिनमा उल्लेख गरिएको छ, 'पूर्वी र मध्य नेपालमा यसको गहिरो असर पनि देखिएको छ।' मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीसम्म जनाउँछ।
बिहीबार दिउँसो देशका पश्चिम र मध्यका केही स्थानहरुमा र पूर्वका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
राति पनि देशभर सामान्यतया बदली रही धेरैजसो स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित वर्षात् हुनेछ। पश्चिमी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना छ।