केके भएका थिए इतिहासमा यो साता?

केके भएका थिए इतिहासमा यो साता?

अगस्ट ८ 

सन् १९७४ को अगस्ट ८ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले राजीनामा दिए। वाटरगेट काण्डमा दोषी पाइएपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका थिए। सन् १९७२ को जुन १७ मा अमेरिकी राजधानी वासिंगटन डीसीको वाटरगेट अफिस कम्प्लेक्सस्थित अमेरिकाको डेमोक्रेटिक पार्टीको कार्यालयमा चोरी भएपछि सुरु भएको राजनीतिक विवादलाई अमेरिकामा वाटरगेट स्क्यान्डल भनेर चिनिन्छ। चोरीबारे अनुसन्धान गर्न अमेरिकी कंग्रेसले एउटा समिति गठन गरेको थियो। समितिलाई काम गर्न नदिन निक्सन प्रशासन सक्रिय भएपछि संवैधानिक संकट उत्पन्न भएको थियो। समयक्रममा पत्रपत्रिका, नागरिक समाजका अगुवा, अमेरिकी कंग्रेसका अधिकारी लगायतको प्रयत्नबाट निक्सन प्रशासनले राज्यशक्तिको व्यापक दुरुपयोग गरेको रहस्योद्घाटन भयो। विपक्षी र विरोधीको गुप्तचरी गर्न लगाउने, उनीहरूको फोन ट्यापिङ गर्नेलगायत काम निक्सन प्रशासनले गरेको सार्वजनिक भएपछि निक्सनले पदबाट राजीनामा दिए।

अगस्ट ९

दोस्रो विश्वयुद्धताका सन् १९४५ को अगस्ट ९ मा अमेरिकाले जापानी भूमिमा दोस्रो पटक परमाणु बम खसाल्यो। त्यसअघि अमेरिकी वायुसेनाले जापानको हिरोसिमा शहरमा परमाणु बम खसाएको थियो। बम विष्फोटबाट करिब एक लाख जापानीको मृत्यु भयो। यसले जापानमा भय र असुरक्षाको वातावरण सिर्जना गर्‍यो। हिरोसिमामा खसालेको बमको असरबाट निस्किन नपाउँदै तीन दिनपछि जापानको अर्को शहर नागासाकीमा दोस्रो पटक अमेरिकाले परमाणु बम खसाल्यो। यस पटकको विष्फोटमा परी नाकासाकीका करिब ७० हजार मानिसको मृत्यु भयो। यी दुई शहरमा परमाणु बम विष्फोट गराइएको घटनालाई दोस्रो विश्वयुद्धकै सबैभन्दा अमानवीय घटना मानिन्छ। त्यस घटनापछि जापानको मनोबल धराशायी भयो। अमेरिकाको सैन्य श्रेष्ठतालाई स्वीकार गर्दै उसले निःशर्त आत्मसमर्पण गर्‍यो।

अगस्ट १०

सन् १९४२ को अगस्ट १० मा भारतमा बेलायती शासनविरुद्ध दंगा भड्कियो। भारतीय स्वतन्त्रता संग्रामका नेता महात्मा गान्धीको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले नियन्त्रण गरेपछि दंगा भड्किएको थियो। केही शहरमा दंगाले हिंस्रक रूप लिएको थियो। त्यसअघि गान्धीले शान्तिपूर्ण आन्दोलन सञ्चालन गरेका थिए। तर, प्रशासनले आन्दोलनमा धरपकड गर्‍यो। गान्धीलाई पक्राउ गरियो। उनी पक्राउ परेपछि शान्तिपूर्ण आन्दोलनको औचित्य समाप्त भएको भन्दै आन्दोलनकारीले सडक तताउन थाले। हिंसात्मक आन्दोलन गर्नुपर्छ भन्ने पक्षमा रहेका सुवासचन्द्र बोसलगायत भारतीय नेताका समर्थकले आन्दोलनको लगाम हातमा लिन खोजे। उनीहरूलाई बेलायतविरुद्ध युद्धरत जापानले समेत हौसला दियो। बेलायतविरुद्ध संघर्षरत भारतीयहरूसँग जापानले सहकार्यको हात बढाउँदै बर्मामा बेलायतसँग मिलेर युद्ध गर्न निम्तो दियो।

अगस्ट ११

सन् १९५६ को अगस्ट ११ मा इजिप्टका राष्ट्रपति गमाल अब्देल नासेरले स्वेज नहरमाथि नियन्त्रण कायम गर्नु अरब जगत्का लागि अपरिहार्य रहेको भन्दै यसमा सघाउन अरब क्षेत्रका मुलुकलाई आह्वान गरे। अरब व्यापार संघको एउटा बैठकलाई सम्बोधन गर्दै उनले संघमा आबद्ध राष्ट्रहरूसँग त्यस्तो आह्वान गरेका थिए। स्वेज नहर अरब जगत्, त्यहाँका बासिन्दाको इतिहास, स्वाभिमान र आर्थिक हितसँग गाँसिएको उनले बताए। इजिप्टको मात्र नभएर समग्र अरब क्षेत्रकै बृहत्तर हितका लागि आफूले स्वेज नहर नियन्त्रणमा लिन खोजेको बताउँदै यसमा सघाउन उनले आग्रह गरे। त्यसअगावै उनले स्वेज नहरलाई इजिप्टले राष्ट्रियकरण गरेको घोषणा गरिसकेका थिए। नासेरको आह्वानमा संघमा आबद्ध मुलुकले सहमति जनाए। स्वेज नहरमा इजिप्टले लिएको अग्रसरताको विरोधमा बेलायत र फ्रान्सले आफ्ना सैनिक उतारे पश्चिमी मुलुकलाई तेल नदिने घोषणा उनीहरूले गरे। साथै, अरब क्षेत्रमा रहेका पश्चिमी मुलुकका सैन्य अखडामाथि धावा बोल्ने चेतावनीसमेत दिए। 

अगस्ट १२

सन् २००७ को अगस्ट १२ मा पूर्वी युरोपको देश हंगेरीमा ८० लाख पुरानो जंगलको अवशेष पाइयो। त्यसलाई प्रागइतिहाससम्बन्धी अध्ययन गर्ने अनुसन्धानकर्ताले ठूलो उपलब्धिका रूपमा व्याख्या गरे। हंगेरीको बुकाब्रेनी क्षेत्रस्थित एउटा कोइलाखानीमा ८० लाख वर्ष पुराना १६ वटा धुपीका रूखका अवशेष पाइएका थिए। यसबाट अहिले कोइलाखानी रहेको सो क्षेत्रमा कुनै बेला धुपीको जंगल थियो भन्ने पुष्टि भयो। वैज्ञानिकहरूले रूखका अवशेष उत्खनन गरी अध्ययन गरे। त्यसै अध्ययनका आधारमा त्यतिबेलाको हावापानी, वनस्पति आदिबारे विभिन्न निष्कर्ष निकालिए, जुन विभिन्न प्रतिवेदन र किताबका रूपमा प्रकाशित छन्। 

अगस्ट १३

सन् १९२० को अगस्ट १३ मा तत्कालीन सोभियत संघले पोल्यान्डको राजधानी वार्सामाथि हमला गर्‍यो। त्यसअगावै सोभियत संघले पोल्यान्डका सैनिकसँग पोल्यान्डकै भूभागमा लडाइँ गरिरहेको थियो। युद्धमा सोभियत संघ हाबी भएपछि उसले पोल्यान्डका सैनिकलाई दपेट्दै राजधानी वार्सामाथि नै धावा बोल्यो। त्यतिबेला लेनिनको तेतृत्वमा सोभियत संघमा बोल्सेभिक क्रान्ति सम्पन्न भएर कम्युनिस्ट सत्ता स्थापना भइसकेको थियो। सोभियत संघले कम्युनिस्ट विचारधारालाई युरोपमा फैलाएर कम्युनिस्ट ध्रुवको नाइके बन्ने विचार बनायो। युरोप र सोभियत संघको बीचमा पोल्यान्ड थियो। पोल्यान्डलाई कब्जामा नलिएसम्म युरोपमा कम्युनिस्ट विचार फैलाउन नसकिने निष्कर्ष निकालेपछि उसले पोल्यान्डमाथि हमला गरेको थियो। वार्सामा युद्ध चर्किंदै जाँदा सुरुका दिनमा सोभियत संघको पल्ला भारी भयो। तर, अन्त्यमा सोभियत सेनालाई वार्साबाहिर धपाउन पोल्यान्डको सेना सफल भयो।

अगस्ट १४

सन् १९४७ को अगस्ट १४ मा बेलायती उपनिवेशबाट पाकिस्तान स्वतन्त्र भयो। त्यतिबेला अहिलेको बंगलादेश पनि पाकिस्तानअन्तर्गत थियो। भारतको दुईपट्टि पाकिस्तान थियो। अहिले बंगलादेश भएको ठाउँलाई पूर्वी पाकिस्तान भनियो। अहिलेको पाकिस्तानलाई चाहिँ पश्चिम पाकिस्तान भनियो। बेलायतीहरूले भारत छोड्नुअघि भारतका रजौटाहरूलाई पाकिस्तान र भारतमध्ये एउटा मुलुकमा गाभिने अथवा स्वतन्त्र रहने विकल्प प्रस्तुत गरेका थिए। मुसलमानबहुल क्षेत्रका रजौटाले पाकिस्तानमा रहन मञ्जुर गरे। हिन्दू राजा–रजौटाले चाहिँ भारतमा रहन स्वीकार गरे। एकाध राज्यले स्वतन्त्र रहने इच्छा व्यक्त गरे पनि उनीहरूलाई स्वतन्त्र रहन दिइएन। पाकिस्तान स्वतन्त्र भएको एक दिनपछि भारत स्वतन्त्र भएको घोषणा गरियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.