बेपत्ता राउटे युवा खोजीदिन परिवारको हारगुहार
सुर्खेत : जिल्लाको गुर्भाकोट नगरपालिका-१३ बेतेनी खोला किनारमा बस्दै आएका राउटे युवा बेपत्ता भएका छन्।गत वैशाख २५ गतेदेखि जयबहादुर शाही बेपत्ता भएपछि परिवारले खोजी दिन हारगुहार गरेका छन्।
जयबहादुरकी आमा शितला शाहीले सुर्खेतमा पत्रकार सम्मेलन गर्दै आफ्नो छोरा खोजिदिन सबैसँग हारगुहार गरिन् । बेपत्ता शाहीका भाइ प्रकाश शाहीले दाइ जयबहादुर हराएको तीन महिना भएको जानकारी दिए। उनले लामो समयसम्म दाइ नफर्किएपछि सिंगो बस्तीनै चिन्तामा रहेकाले खोजि दिन आग्रह गरे।
गाउँका राउटे युवा पनि उनको खोजीमा जुटेका छन्। बेपत्ता युवाका बुवा कान्छाराम शाहीकाअनुसार जयबहादुर बेतेनी खोला किनारको बस्तीबाट गाउँ जानेभन्दै निस्किएका थिए।
उनी हराएलगत्तै गुराँस गाउँपालिका र प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले हालसम्म बेपत्ता युवालाई फेला पार्न नसकेको राउटे परियोजनामार्फत समुदायका शिक्षक लालबहादुर खत्रीले बताए। उनका अनुसार बेतेनी खोला किनारमा राउटे समुदायका ४६ घर छन्। उनीहरुको कुल जनसंख्या १ सय ४६ छ। राउटे समुदाय दैलेखको गुराँस गाउँपालिका-५ स्थित ठाँटीमा समेत बसोबास गर्दै आएका छन्।