चोर्न खप्पिस केटी
अमेरिकी गायिका केटी पेरीले गीत चोरेकी छिन्। क्यालिफोर्नियाका संघीय जुरीले केटीले र्यापर मार्कस ग्रेको गीत चोरेको ठहर गरेको हो। फ्लेम नामले चिनिइने ग्रेले केटीको नयाँ गीत ‘डार्क हर्स’ आफ्नो गीत ‘जोयफुल न्वाइज’ सँग मिलेको भन्दै उजुरी दिएका थिए। अदालतले सोही उजुरीमा सुनुवाइ गर्दै केटीलाई दोषी ठहर्याएको हो।
अदालतसँग भने गायिका केटीले ‘जोयफुल न्वाइज’ भन्ने गीत कहिल्यै नसुनेको प्रतिक्रिया दिएकी थिइन्। र्यापर ग्रेले भने आफ्नो गीत असाध्यै हिट भएकाले उनले युट्युब वा माइस्पेसबाट सुनेको हुन सक्ने दाबी गरेका थिए।
केटीमाथि यसअघि पनि बेलायती भिजुअल आर्टिस्ट डोम सेबास्टियनले चोरीको आरोप लगाएका थिए। उनले बनाएको चित्रको ब्याकग्राउन्ड केटीको ‘चेन्ड टू द रिदम’ बोलको गीतको कभरमा समावेश भएको थियो। मान्छेको मन चोर्न मात्र खप्पिस छन् भनेको त अरू चोर्न पनि उनलाई कसैले नभेट्ने रहेछ !