रोपाइँमा गुञ्जिन छाडे 'असारे भाका'

रोपाइँमा गुञ्जिन छाडे 'असारे भाका'

काठमाडौं : असार र साउनसँग अनगिन्ती मिथक जोडिएका छन्। असार, साउन मानो रोपेर मुरी उब्जाउने समय पनि हो। यो बेला देशैभर धान रोपाइँ गरिन्छ। कृषि मन्त्रालयले दिएको सूचना अनुसार साउनको अन्तिमसम्म पनि यस वर्षको रोपाइँ ८० प्रतिशत मात्रै सकिएको छ।

जब रातभरि झरी परेर खेतबारी हिलाम्मे हुन्छ, तब हरेक किसानको मनमा आशाको फूल फुल्छ। धान रोपेर वर्षभरिलाई भात खान पुग्ने चामल फलाउँछु भन्ने आश हुन्छ। पहिलेपहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि नै बाजागाजाको जोडजाम हुन्थ्यो। रोपाइँमा गाइने असारे भाकाको बेग्लै मिठास गुञ्जिन्थ्यो। तर समयक्रमसँगै रोपाइँ गीत हराउन थालेको छ।

रोपाहारका रूपमा लहरै खेत रोपिरहेका महिला, खेत जोत्ने हली, बाउसे र आली ताछ्ने युवाहरू सबै मिलेर असारे भाका गाउने चलन थियो। गीत गाउँदै, एकअर्कामा हिलो छ्याप्दै जुहारी खेल्दै गरिएको रोपाइँ नकै रमाइलो हुन्थ्यो।

रोपाइँ भन्नासाथ मूलाको चानामा हरियो मटर मिसाएर बनाइएको तरकारी, गुन्द्रुकको अचार, हातसम्म घिउ चुहिने गरी बनाइएको पुवा, निबुवा साँधेर बनाइएको परिकारको सम्झना हुन्छ। विभिन्न जातजातिले रोपाइँमा रोपाहारका लागि जाँडपानीको पनि व्यवस्था गरेका हुन्छन्।

छङ्छङ् बगेको वर्षे भेल, खोल्साखाल्सी सुसाएर निस्केको आवाज, छहरा पहराको हरियालीले रोपाइको समय सम्झाउँछ। असारे भाका ठाउँ र समुदायअनुसार फरकफरक लयमा गाइने भए पनि सबै गीतले किसानको मर्म पोख्छ।

कर्णाली प्रदेशमा 'देउडा' भाकामा असारे गीत गाइन्छ। काम गर्ने समयमा थकान मेटाउन हँसीमजाकका रूपमा यस्ता भाका गाइन्छ। बैतडी, दार्चुलातिरको रोपाइँमा 'भैनी' गीत गाइन्छ 
:
पिरतीका खेल मुणी पिता सैनानी
खुदीका वगण मुणी लक्षु पराण
आखिरी कटक देलो लक्षु पराण
पिछौडा सपुको देली पिता सैनानी।

रोपाइँमै भेट भएका युवकयुवतीहरू गीतमार्फत नै मायापिरतीका कुरा गर्छन्। गाउँघरमा भेट्न गाह्रो हुनेहरूले रोपाइँको मेलोमै माया साट्छन्।

बीउ बोक्ने बाउसे रोपाहार युवतीलाई फकाउँदै भन्छन् :
रोप न रोप रोपारै नानी म पुर्‍याइदिऊँला बीउ
हलीलाई दिऊँला एकराते दही बाउसेलाई दिऊँला घिउ
असारे मास छिपछिपे हिलो खै लाग्यो फालीमा
बुवालाई भनी भुरुल्ली काटे ओइलाग्यो आलीमा

असारे गीत नेपाली लोकसंगीतको उत्कृष्ट भाका हो। तर पछिल्लो पुस्तामा यो हस्तान्तरण हुन सकिरहेको छैन। असारे भाकाले प्रेम, वियोग, पीडाका साथै घरपरिवारका दुःखदायी अनुभव पनि समेटेको पाइन्छ।

केही समयअघिसम्म समाजमा बहुविवाह स्वीकार्य प्रायः थियो। सौता–सौताबीचको घरझगडा गीतमार्फत सुनाइन्थ्यो। असारे झरीका लागि कुटेको चिउरा साँच्नु परेकोमा एक महिलाले गुनासो गर्छिन् गीतमा :

असारलाई भनी कुटेको चिउरा मै कति साँचूँला
सौताका हात दुई कुट्की भात म कति बाँचूँला
छुपुमा छुपु खेतमै रोपूँ, हातको बीउ छउन्जेल
जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यु छइन्जेल

कृषि पद्धतिमा आएको विकाससँगै सामाजिक सद्भाव जगाउने संस्कृतिहरू धरापमा परेको बूढापाकाको अनुभव छ। अहिले रोपाहारको सट्टा धान रोप्ने मेसिन प्रयोग भइरहेको छ। त्यसैले पनि मेसिनको हल्लामा बाउसेहरूको मुखबाट ‘मै पनि जान्थे हल गोरु दाउन बेसीको खेतैमा, लैबरी भाका गाएको सुन्थे डाँडा र पाखैमा’ जस्ता रोपाइँ गीत झर्दैन। लोकसंस्कृतिका अनुसन्धानकर्मी डा. भक्त राई भन्छन्, ‘आधुनिक विकासले रोपाइँका अवसरमा गाइने गीतसंगीत पनि खर्लप्पै खाइदियो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.