नेपाली क्रिकेटको नियती

नेपाली क्रिकेटको नियती

अन्तर्राष्ट्रिय क्रिकेटको बरियतामा स्थापित विश्वका थुप्रै नामभन्दा अगाडि पारस खड्काको नाम लेखिनु नेपाली खेल क्षेत्रका निम्ति गौरवको विषय हो। राष्ट्रिय टोलीका कप्तान खड्का टीट्वेन्टी खेलाडीको अलराउन्डर बरीयतामा पच्चीसौं स्थानमा उक्लिएका छन्। यसअघिको टीट्वेन्टी अलराउन्डर बरियतामा पारस उनन्चालीसौं स्थानमा थिए। उनी न्युजिल्यान्डका चर्चित खेलाडी कोलिन डी ग्रान्डहोम, इङल्यान्डका डेभिड विली, जोए रुट, बेन स्टोक्स र मोइन अली, पाकिस्तानका इमाद वसिम, श्रीलंकाका इसुरु उडना, दक्षिण अफ्रिकाका क्रिस मोरिस, भारतका रोहित शर्मा, वेस्ट इन्डिजका क्रिस गेलजस्ता खेलाडीभन्दा अगाडि छन्। ब्याटिङ बरियतामा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी पनि पारसभन्दा एक स्थान पछाडि छन्।

टीट्वेन्टी बलिङ बरियतामा पनि नेपालका अनुभवी बलर वसन्त रेग्मी एकहत्तरौं र सोमपाल कामी अठहत्तरौं स्थानमा छन्। घरेलु क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघ (क्यान) तीन वर्षभन्दा लामो समयदेखि आईसीसीको निलम्बनमा रहेको अवस्थामा पनि नेपाली खेलाडीले यस्तो सफलता हात पार्नु अझ ठूलो उपलब्धि मान्नुपर्छ। अन्तर्राष्ट्रिय खेलवृत्तमा क्रिकेट नेपालका लागि नतिजामूलक खेल हो। नेपाली क्रिकेटले छोटो समयमै अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सफलता र प्राप्त उपलब्धि लोभलाग्दो छ। तर, क्यान निलम्बनका कारण पछिल्लो समय नेपाली क्रिकेटको गति सुस्ताएको छ।

क्यानलाई आफ्नो सदस्यताबाट निलम्बन गरे पनि आईसीसीले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भने रोक नलगाउने निर्णय गरेको थियो। आईसीसीको यो सदासयताका कारण नै पछिल्लो समय नेपाली क्रिकेटले आफ्नो साख जोगाउने अवसर पाएको छ। क्यान निलम्बनमा परेपछि स्रोत र साधनको अभाव हुँदाहुँदै पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आईसीसी र आफ्ना समर्थकको विश्वासलाई धर्मराउन दिएका छैनन्।

खेलाडीको कडा परिश्रम, नियमित आयोजना भइरहेका सानाठूला प्रतियोगिता र क्रिकेटप्रेमीको ठूलो जमातको निरन्तरको सक्रियताका कारण नेपाली क्रिकेटको साख त जोगिएको छ, तर नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय खेलमञ्चमा जुन गतिमा फट्को मार्नुपर्ने थियो, त्यसमा भने अभाव खट्किएको छ। तर, अबको दिन नेपाली क्रिकेटका लागि सोचेजस्तो सहज छैन। खेलाडीको एकल प्रयासले मात्र नेपाली क्रिकेट विश्व खेलक्षेत्रमा उँभो लाग्ने छाँट देखिँदैन।

सन् २०१४ मै टीट्वेन्टी विश्वकप खेलिसकेको नेपाली टोली यसपटक एसियाली क्षेत्रको अन्तिम चरणको छनोटमा चुकेपछि विश्वकप खेल्नबाट वञ्चित भयो। क्यान निलम्बनमा पर्नु र खेलाडीले प्रदर्शन सुधारका लागि उपयुक्त वातावरण नपाउनु पनि यसको एउटा कारण हो। त्यसैले कठिन संघर्षपछि प्राप्त भएको एकदिवसीय मान्यतालाई दीर्घकालीन रूपमा जोगाइराख्नु र अन्तर्राष्ट्रिय क्रिकेटमा अझ उत्कृष्ट प्रदर्शन गर्दै आईसीसीबाट टेस्ट मान्यताका लागि संघर्ष गर्नु यतिबेला नेपाली क्रिकेटका लागि सबैभन्दा ठूलो चुनौती हो।

स्वाभाविक रूपमा क्यान निलम्बनमा रहेको वर्तमान परिस्थितिमा यो चुनौती अझ बढेको छ। त्यसका लागि सम्बद्ध खेल अधिकारीहरूले सबैभन्दा पहिले क्यानलाई आईसीसीको निलम्बनबाट मुक्त गराउन गम्भीर पहल थाल्न आवश्यक छ। क्यानको अनुपस्थितिमा खेलाडीलाई व्यवस्थित गर्ने र उनीहरूका समस्या समाधान गर्ने निकायको अभाव खट्किएको छ। जसका कारण खेलाडी आआफ्नै तरिकाले अगाडि बढ्न बाध्य छन्।

नियमित र व्यवस्थित प्रशिक्षणमा समस्या देखिएको छ। एकदिवसीय मान्यता पाए पनि त्यसका लागि आवश्यक घरेलु प्रतियोगिताको अभाव खट्किएको छ। खेलाडीका लागि व्यवस्थित खेल तालिका तयार पार्ने काम अवरुद्ध भएको छ। खेलाडीको क्षमता अभिवृद्धि गराउन विशेष कार्यक्रम ल्याउन सकिएको छैन। बाहिरबाट हेर्दा निलम्बन फुकुवाका लागि विभिन्न काम भएको देखिए पनि यथार्थमा भने अहिले पनि आआफ्नै स्वार्थका कारण खेल पदाधिकारी एक ठाउँमा आउन सकिरहेका छैनन्। तीन वर्षअघि झैं अहिले पनि खेल अधिकारी एकअर्कामाथि दोष थोपर्नमै व्यस्त छन्।

अब पदाधिकारीहरूको आपसी स्वार्थका कारण लामो समयदेखि चल्दै आएको क्रिकेट विवाद समाधान हुनुपर्छ। क्यानमाथिको निलम्बन फुकुवा र नतिजामूलक खेलका लागि विशेष कार्यक्रम आयोजना गरिनुपर्छ। खेलाडीको सुविधा र प्रभावकारी प्रशिक्षण, आवश्यकताअनुरूप प्रतियोगिता आयोजनाजस्ता विषयमा सम्बन्धित निकायले समयमै ध्यान पु¥याउनु आवश्यक देखिन्छ। राज्यले खेल क्षेत्रको सम्मान गर्न सके मात्र खेलाडीले पनि अन्तर्राष्ट्रिय खेलवृत्तमा देशको प्रतिष्ठा बढाउने हो भन्ने यथार्थ भुल्नु हुँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.