वर्षातमै खोला उत्खनन्
मलंगवा : असरादेखि भदौसम्म नदी तथा खोलाबाट गिट्टी बालुवा निकाल्न सरकारले प्रतिबन्ध लगाएको छ। तर सर्लाहीको उत्तरी क्षेत्रमा रहेको लखनदेही खोलाबाट भेलमै पसेर अवैध उत्खनन् भइरहेको छ। खोलाबाट दैनिक दर्जनौं ट्याक्टरबाट गिट्टी बालुवा ओसारपसार हुँदै आएको छ।
खोलाको धार नै परिवर्तन हुनेगरी गिट्टी बालुवा निकालिए पनि स्थानीय तह र प्रशासन मौन छन्। प्रशासनले कुनै कारबाहीको प्रक्रिया अगाडि नबढाउँदा ट्याक्टरमा नदीजन्य पदार्थ ओसारपसार गर्ने होडबाजी नै चलेको छ। पूर्व–पश्चिम राजमार्ग रहेको लखनदेही पुलको उत्तर र दक्षिणी भागबाट नदी जन्य पदार्थ निकाल्ने गरिएको छ। लालबन्दी नगरपालिका र हरिवन नगरपालिकाको सीमानामा रहेको लखनदेही नदीमा ढुङ्गा बालुवा निकालिए पनि स्थानीय प्रशासनले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ।
प्रहरी प्रशासनकै अगाडिबाट नै ट्याक्टरमा ढुंङगा लिने गरे पनि प्रहरीले सोधपुछसमेत नगर्ने गरेको नागरिकको आरोप छ। बाढी आउने भएका कारण बर्खाका तीन महिना असार, साउन र भदौमा नदीजन्य पदार्थ उत्खनन्मा निषेध गरिइएको छ। प्रतिबन्धको उल्लंघन गर्दैै कसैले नदीबाट गिट्टी बालुवा निकालेको पाइएमा हदैसम्मको कारबाही गरिने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए। अहिले नदी खोला स्थानीय तह मातहतमा छन्।
आफ्नो क्षेत्राधिकारमा रहेका खोला दोहन हुँदा पनि स्थानीय तहले कुनै एक्सन लिन सकेका छैनन्। जनप्रतिनिधि र प्रहरीकै मिलेमतोमा नदीजन्य पदार्थ अवैध रुपमा निकासी भइरहेको स्थानीय बताउँछन्। अनुगमन गरिने र कसैले अवैध उत्खनन् गरी निकासी गरेको पाइएमा कारबाहीको दायरामा ल्याइने प्रजिअ जिसीले जिकिर गरे।
खोलाको टेन्टर नहुँदा घरयाँसी प्रयोजनका लागि लुकाइछिपाई गिट्टी बालुवा निकालेको हुनेसक्ने हरिवन नगरपालिका प्रमुख गणेश प्रसाइले बतााए। ‘कर नलाग्ने भएपछि लुकाइछिपाई अहिले ढुवानी भएको हुनसक्छ’, प्रमुख प्रसाइले भने,‘‘प्रहरी प्रशासनलाई पत्राचार गरेर आवश्यक कारबाहीका लागि सहयोग माग्छौं। ’ नगरपालिका एक्लैले उत्खनन् रोक्न नसकिने उनले बताए।
दुवै नगरपालिका र प्रहरी प्रशासन मिलेर सबै क्षेत्रको नदीजन्य पदार्थ चोरी रोक्ने नगरप्रमुख प्रसाइले दाबी गरे। नगरपालिकाले ऐन विपरित नदीजन्य पदार्थ निकालेको पाइएमा कारबाही गर्ने दाबी गरेको छ। वातावारण प्रभाव मूल्यांकन नभएकोले ठेक्का लगाउन ढिलाइ भएको दुवै नगरपालिकाले बताएका छन्। गतवर्ष ठेक्काका लागि दुईपटक विज्ञापन निकाल्दासमेत काम अगाडि बढ्न सकेन।
प्रहरी लगाएर अवैध उत्खनन् बन्द गरी कारबाहीको दायरामा ल्याउने लालबन्दी नगरपालिका प्रमुख मानबहादुर खड्काले बताए। ‘वर्षाले भत्केका बाटो बनाउन कसैले निकालेको हुनसक्छ। तर त्यस्तो गर्न पनि पाउँदैनन्’ उनले भने, ‘दुवै नगरपालिका मिलेर ठेक्का खोल्नुपर्ने हो। केही कुरा नमिल्दा हुन सकेको छैन। वर्षात सकिनेबित्तिकै ठेक्का प्रक्रिया अगाडि बढाउँछौं। ’