‘ट्रकमा रेखासँग प्याच अप भयो’

‘ट्रकमा  रेखासँग प्याच अप भयो’

नाटक, टेलिसिरियल, म्युजिक भिडियो हुँदै फिल्म क्षेत्रमा भित्रिएका हुन्, अभिनेता आर्यन सिग्देल। ‘किस्मत’ उनको डेब्यू फिल्म हो। ‘चकलेटी हिरो’उपनाम पाएका आर्यनको ‘मेरो एउटा साथी छ’,‘कसले चोर्‍यो मेरो मन’,‘नोभेम्बर रेन’लगायत फिल्म चर्चित छन्। उनीसँग ‘सम्पूर्ण’का लागि सामीप्यराज तिमल्सेना र सृजना खड्काले खुलस्त संवाद गरेका छन्। 


के कसो चल्दै छ जिन्दगी?

ठीकठाक चल्दै छ।

छोरा कति महिनाको भयो?
तीन महिना। 

नाम के राख्नुभयो?
आयान्स। आर्यन र सपनाको अंश।

छोरा जन्मिएपछि जीवनशैली अलि बदलिएको छ कि पहिलाजस्तै छ?
हामी फिल्मकर्मीको लाइफ स्टाइल केही कुराले पनि बदलिन्छ जस्तो लाग्दैन। छोरा आमाको पेटमा हुँदा पनि सुटिङमा थिएँ। छोरा जन्मिने बेला पनि सुटिङमै व्यस्त थिएँ। ऊ जन्मिसकेपछि पनि फिल्मको प्रमोसनमा हिँडिरहेको छु। फरक यति हो, घर पुग्दा उसको मुस्कान र हेराइले मोहित बनाउँछ।

बाउ बनेपछि भावनात्मक रूपले परिवर्तन भइनेरहेछ, हैन?
भइन्छ। फुर्सद हुनेबित्तिकै उसलाई हेर्न जाऊँ–जाऊँ लाग्छ। एक छिन भए पनि उसैसँग समय बिताउन मन लाग्छ।
 
भनेपछि पहिला साथीभाइसँग बिताउने समय अहिले छोराका लागि छुट्याउन थाल्नुभएको छ?
हजुर हो।

छोरा जन्मिएपछि बुबासँगको सम्बन्धमा केही परिवर्तन भयो कि?
भएन। म बुबालाई सधैं माया र सम्मान गर्छु। बुबा र मेरो सम्बन्धमा त्यो माया र सम्मान बढाउन छोरा जन्मिनु परेन। म सधैँ असल छोरा नै बनेँ। 

फिल्म ‘हजार जुनीसम्म’ मा पिताको भूमिका निर्वाह गर्नुभएको छ। त्यो चरित्र निर्वाह गर्न बुबा बन्दाको अनुभवले सहयोग गर्‍यो कि गरेन? 
फिल्ममा पहिलो पटक पिता बनेर अभिनय गरेको छु। त्यसमा पनि जवान छोराहरूको बुबा बनेको छु। पिता बनिसकेका धेरै मानिससँग मेरो संगत थियो। त्यो संगतले मलाई यो फिल्ममा काम गर्न सजिलो बनायो। 

दर्शकले तपाईंबाट फरक खालको फिल्म खोजिरहेका छन्। तपाईंले कोसिस पनि गरिरहनुभएको छ। तर, दर्शकसम्म खासै पुग्न सकिरहेको छैन। यस पटक के होला?
टे«लरलाई दर्शकले दिएको मायाले फिल्म राम्रो हुनेमा विश्वस्त छु। लभ स्टोरी फिल्ममा फरक खालको भूमिका निर्वाह गर्ने कोसिस गरेको छु। हेरौँ के हुन्छ।
 
फिल्ममा हजार जुनीसम्म माया गर्ने डिप लभरजस्तै वास्तविक जीवनमा ‘सारा जीवन उनकै लागि समर्पण गर्छु’ भन्ने खालको भावना आयो कि आएन?
मलाई त्यस्तो महसुस भएन। एकताका छोटो समयका लागि कसैको प्रेम सम्बन्धमा थिएँ। पछि हामी छुट्टियौँ। अहिले दुवैको जिन्दगी आ–आफ्नै तरिकाले अगाडि बढिरहेको छ। तर, आफूले माया गरेको व्यक्ति नपाउँदा उसकै यादमा जीवन बिताउनेहरू पनि देखेको छु। 

तपाईंले ‘अरूको ब्यानरमा काम गर्दिनँ’ भन्नुभएको थियो। यो पटक ब्यानर बाहिरको फिल्ममा काम गर्नुभएको छ। आफ्नै बोलीमा धेरै दिन टिक्न सक्नुभएन नि?
‘मेरा लागि आफ्नो ब्यानर प्राथमिकतामा पर्छ। अरू ब्यानरबाट पनि राम्रो फिल्म आयो भने नाइँ चाहिँ भन्दिनँ’ भनेको थिएँ। बुझाइ अर्कै परेको हो। राम्रो क्यारेक्टरको अफर आयो भने ‘काम गर्दिनँ’ भन्नै मिल्दैन।

सुरुमा ‘चकलेटी हिरो’ का रूपमा राम्रा फिल्म आए। करिअरको बीचमा तपाईंका फिल्मले खासै राम्रो गर्न सकेनन्, किन?
बीचमा मैले फरक धारका फिल्म गर्ने सोचले काम गरेँ। दर्शकले ‘तँ लभ स्टोरीमै ठीक छस्’ भन्नुभयो। फिल्म क्रिटिकल्ली राम्रो हुन्थ्यो तर बक्स अफिसमा चल्दैनथ्यो। नचलेपछि दर्शकले मन पराउनुभएन भन्ने बुझ्नुपर्‍यो।

राम्रो भनेको तर नचलेका फिल्म, जस्तै?
‘माला’।

पछाडि फर्किएर हेर्दा कहाँनेर गल्ती भयोजस्तो लाग्छ?
बीचका दुई वर्ष। ती दुई वर्षमा साथीभाइ जसजसले भन्छ, उनीहरूसँग काम गरें। ‘मेरो कारणले तिमीहरूको राम्रो हुन्छ भने गर्छु’ भनेर काम गरेँ। तिनै फिल्मले अप्ठ्यारोमा पारे। अब त्यो हुँदैन। ट्र्याकमा आइसकेँ।
 
स्क्रिप्ट छान्दा के कुरालाई महत्त्व दिनुहुन्छ?
आफ्नो क्यारेक्टरभन्दा पनि पूरै स्क्रिप्टको सिनारियो हेर्छु। आफ्नो मात्रै क्यारेक्टर हेरेर कहिल्यै फिल्म गर्दिनँ। 

तर, तपाईंलाई त आफ्नो रोल बढी हेर्ने आरोप छ नि?
मैले निर्माण गरेका सिनेमा तपाईंको प्रश्नका जवाफ हुन्। मैले बनाएको तीन वटा फिल्ममा मेरोभन्दा हिरोइनको भूमिका सशक्त छ। म आफ्नो क्यारेक्टरभन्दा सिनेमाको मुड हेर्छु।
 
त्यहीँ गल्ती भयोजस्तो लाग्दैन? किनभने ‘क्लासिक’ र ‘कायरा’ सोचेजस्तो चलेनन्।
सोचेजस्तो चलेन भन्दा पनि फिल्म रिलिजको समयले पनि प्रभाव पार्छ। मैले कहिल्यै पनि फिल्म रिलिज गर्ने बेला बिदा कुरिनँ, चाडपर्व हेरिनँ। तर, मेरो फिल्मले गर्ने व्यापारबाट सन्तुष्ट छु। 

‘धुवाँ यो नशा’ दशैंमा रिलिज भएको थियो नि, हैन र? 
त्यही त गल्ती भयो नि। एउटा अफ ट्र्याकको डार्क सिनेमा उज्यालो कलरफुल चाडमा रिलिज गरेपछि कसरी हेर्छन् दर्शकले?

तपाईंको सहकर्मी र निर्देशकसँग झगडा भएको कुरा बाहिर आइरहन्छन्। खास कुरा के हो?
मेरो कसैसँग पनि झगडा छैन। सिनेमा गर्ने बेला सँगै हुन्छौँ। सिनेमा सकिएपछि सबैको आ–आफ्नै लाइफ हुन्छ। उनीहरू आफ्नो सिनेमामा व्यस्त हुन्छन्, म आफ्नैमा। व्यस्त भएपछि दूरी बढ्नु स्वाभाविक हो। त्यो दूरीलाई झगडा त भन्न मिलेन नि ! मेरो कसैसँग पनि पानी बाराबार भएको छैन। कसैसँग इगो र स्वार्थ राखेर हिँड्यो भने त्यसले मलाई फाइदा पुर्‍याउँदैन भन्ने कुरा राम्ररी थाहा छ।

भनेपछि, झगडा भयो भनेर भनिएका निर्देशकसँग पनि भोलि काम गर्न तयार हुनुहुन्छ?
राम्रो सिनेमाका लागि म जोसँग पनि काम गर्न तयार छु।
 
झगडा भएकी रेखा थापासँग बीचमा ‘प्याच–अप’ भयो, हैन?
सिनेमा क्षेत्रमा रेखाजत्तिको राम्रो र मिल्ने साथी मेरो कोही छैन। 

‘कसले चोर्‍यो मेरो मन’ को बेला तपाईंहरूको झगडा परेको हैन?
आधा सुटिङ त नबोली–नबोली गरियो। झगडाको खास कारण केही थिएन। त्यसपछि लभ सिन र गीत आउन थाले। एक दिन ट्रकको सिनमा सुटिङ भइरहेको थियो। मलाई त्यसले प्याट्ट पिटी, मैले पनि प्याट्ट पिटेँ। त्यसरी पिटापिट गरेर फेरि हामी पहिलाजस्तै मिल्ने भएका थियौँ। यसरी ट्रकमा हाम्रो प्याच अप भएको थियो। 

रेखापछि इन्ड्रस्टीमा को छ बेस्ट फ्रेन्ड, जोसँग समय बिताउनुहुन्छ?
रेखासँग पनि खासै समय बिताइँदैन। ऊ राजनीतिदेखि फिल्म जताततै व्यस्त छ। भेटघाट कसैसँग पनि हुँदैन। तर, नम्रता, प्रियंकासँग गफगाफ भइरहन्छ। सबै जना आ–आफ्नै पर्सनल र प्रोफेसनल लाइफमा व्यस्त हुन्छन्। म बाहिरतिर खासै ह्याङआउट गर्दिनँ। त्यसैले कसैसँग भेटघाट हुँदैन। 

तपाईं साउथ फिल्म धेरै हेर्नुहुन्छ, हैन?
एक जमानामा एकदमै हेर्थें। अहिले सबै सिनेमा एउटैजस्तो लाग्न थाल्यो, त्यसैले हेर्दिनँ। 

कस्ता फिल्म हेर्न रुचाउनुहुन्छ?
एक्सन मुभी बढी हेर्छु। धेरैपछि हलमा गएर ‘हब्स एन्ड स’ फिल्म हेरेँ।

चकलेटी हिरोहरूलाई एक्सन फिल्म मन पर्छ, हो?  
एक्सन फिल्म हेर्दा छुट्टै दुनियाँमा पुग्छु। फिल्म अवधिभर रियल लाइफ देख्ने मनै लाग्दैन। सानोमा कमिक्स पढ्दा जस्तो मज्जा आउँथ्यो, अहिले एक्सन फिल्म हेर्दा त्यस्तै आनन्द आउँछ।

आफ्नै फिल्म हेर्दा चाहिँ कस्तो लाग्छ?
आफ्नो फिल्म झन् धेरै हेर्छु। हरेक पटक आफ्नो फिल्म हेर्दा त्यो फिल्मको चरित्रमा म आफूलाई पाउँछु। मेरो सिनेमा लभ स्टोरी भएकाले त्यो मिठासलाई जतिबेला पनि आत्मसात् गर्न सक्छु।

आफ्नो कुन फिल्म धेरै पटक हेर्नुभएको छ?
‘मेरो एउटा साथी छ’,‘नोभेम्बर रेन’,‘कसले चोर्‍यो मेरो मन’। 

कुन अभिनेताबाट प्रभावित हुनुहुन्छ?
सलमान खान। 

स्टाइललाई छाडेर अभिनयको हकमा नि?
लियोनार्डो डिकाप्रियो।

आफूमा कलाकार बन्ने गुण रहेछ भन्ने कहिले लाग्यो?
ड्याडीले बिदा हुनेबित्तिकै हलमा लैजानुहुन्थ्यो। बालकलाकारको क्यारेक्टर रहेछ भने घरमा आएर त्यही नक्कल गर्थें। सायद त्यही बेलादेखि ममा कलाकार बन्ने रहर थियो। 

तपाईंले थिएटर पनि गर्नुभएको हो भनेर धेरैलाई थाहा छैन होला। 
हो नि ! धेरैले ‘ए ! तिमीले थिएटर पनि गरेका छौ’ भनेर सोध्नुहुन्छ। थिएटरपछि धेरै टेलिसिरियलमा पनि काम गरियो।

पछि छवि ओझासम्म कसरी पुग्नुभयो?
छवि सरले ‘हिम्मत’को बेलामा फोन गर्नुभएको थियो। त्यही बेलामा मैले आफूले काम गरेका म्युजिक भिडियोको सीडी छाडिदिएको थिएँ। उज्ज्वल घिमिरे सरले मेरा सिरियल हेर्नुभएको रहेछ। छवि सरले ‘मसँग एउटा हरिश भन्ने केटा छ,  सीडी छाडेर गएको छ, राम्रो छ, त्यसलाई लिऊ’भन्नुभएछ। उज्ज्वल सरले ‘होइन मैले आर्यन भन्ने केटा खोजेको छु’ भन्नुभएछ। एक दिन उज्ज्वल सरले घरमा बोलाउनुभयो। उहाँले ‘छविले एउटा केटा खोजेको छ रे तर मलाई तिम्रो काम मन परेको छ’ भन्नुभयो। पछि हरिश भन्ने केटा पनि मै हो भन्ने थाहा पाएपछि दुवै जना बेसरी हाँस्नुभयो। त्यसरी फिल्म क्षेत्रमा काम गर्ने मौका जुरेको थियो। 

भनेपछि स्ट्रगल लामै समय चल्यो ?
सजिलै आजको ठाउँमा आएको होइन, तर त्यतिबेला त्यो संघर्षमा यति मज्जा थियो कि कहिलै पनि म दुःख गर्दै छु भन्ने महसुस भएन। ‘जिन्दगीमा कुन समय फर्किएर आओस्?’भनेर सोध्दा कसैले बालापन भन्लान्, कसैले कलेज टाइम। म चाहिँ त्यो स्ट्रगलको टाइम भन्छु। काम गरिन्थ्यो। पैसा कमाइन्थ्यो। साथीभाइसँग रमाइलो गरिन्थ्यो। एकदमै सम्झनलायक थियो, त्यो समय।  

त्योबेलासँगै स्ट्रगल गरेर अहिलेसम्म एक्टिभ भइरहने साथीभाइ को–को छन्?
मिडियामा एक्टिभ दिनेश सिटौला। भीमफेदी गाइजका निर्मल लामा। गायक बाबु बोगटी। नृत्य निर्देशक शंकर बिसी। 

फिल्ममा जान परिवारको स्वीकृति थियो?
पहिला करिअर स्टेबल थिएन। चिन्ता गर्नुहुन्थ्यो। कलाकारिता नगरे पनि हुन्थ्यो भन्नुहुन्थ्यो। मेरै जिद्दीले यतातिर लागेँ। सबै कुरा राम्रै हुँदै गयो। अहिले पनि चित्त दुखाइरहनुहुन्छ। उहाँहरूलाई समय दिन पाउँदिनँ। तर, उहाँहरूसँग हिँड्दा फ्यानले घेरा हाल्दा, फोटो खिच्न आउँदा, अटोग्राफ माग्दा एकदमै खुशी हुनुहुन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.