२० हजार व्यवसायी टुँडिखेल उतारेर भ्रमण वर्षको शपथ लिने योगेशको घोषणा
काठमडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को तयारी भव्य हुने बताएका छन्। उनले २० हजार व्यवसायी टुँडिखेलमा उतारेर भ्रमण वर्षको शपथ खान तयार रहेको बताए।
‘भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको साथ र सहयोग आवश्यक छ’, शुक्रबार राजानीमा अयोजित नेपाल भ्रमण वर्ष २०२० को लागि आवश्यक सुझाव कार्यक्रममा मन्त्री भट्टराईले भने, ‘राज्य र निजी क्षेत्रको सहकार्यमा पूर्वाधार निर्माण गर्ने र पर्यटन वर्षलाई सफल पार्न सकिन्छ।’
यसका लागि सरकारी निकायले गर्नुपर्ने कामको वर्गीकरण गरेर जान सरकार तयार रहेको उनले जानकारी दिए। भ्रमण वर्ष सफल पार्न निजी क्षेत्रसँग छलफल गर्न र अवाश्यक साथ र सहयोगको निम्ति सरकार साथै तयार रहेको पनि उनको भनाइ छ।
उनले भ्रमण वर्षको कार्यक्रम र योजनाका निम्ति पर्यटन व्यवसायीलाई तीन दिन भित्र आवश्यक सुझाव दिन पनि आग्रह गरे। अब सरकारले निजी व्यवासायी, कूटनीति नियोग, विदेशमा रहेका नेपाली सबैको सहयोगमा भ्रमण वर्ष सफल पार्ने काम गर्छ।
बाहिर रहेका ५० लाख नेपालीमार्फत एक जनाले एक व्यक्तिलाई नेपाल भ्रमण गर्न सुझाउने गरी योजना तय गर्न लागेको पनि मन्त्री भट्टराईले बताए। भ्रमण वर्ष सफल बनाउन नेपाल वायुसेवा निगमलाई थला पर्नबाट जोगाउने, देशका विभिन्न क्षेत्रका पर्यटन व्यवसायीसँग क्षेत्रगत छलफल गर्ने उनले बताए।
भ्रमण वर्षको तयारीप्रति व्यवसायी असन्तुष्ट
सरकारले २० लाख पर्यटक भित्र्याउने गरी घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ को तयारीप्रति पर्यटन व्यवसायी भने असन्तुष्ट छन्। सरकारले प्रारम्भिक तयारी नगरी भ्रमण वर्ष मनाएको र पर्यटक भित्र्याउन आवश्यक पूर्वाधार, नीति तथा संरचनामा ध्यान नदिएको व्यवसायीको भनाइ छ।
कार्यक्रममा अधिकांश पर्यटन व्यवसायी तथा संस्थागत प्रतिनिधिले सरकारी तयारी कमजोर रहेको र पर्यटक बढीभन्दा बढी भित्र्याउने ठोस कार्ययोजना नभएको तर्क दिएका छन्। व्यवसायीले सरकारलाई दिएको सुझावमा पनि कमजोरी सुधार गर्नुपर्ने र भ्रमण वर्षलाई पूर्ण तयारीका साथ घोषणा गर्नुपर्ने तर्क दिएका छन्।
कार्यक्रममा भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्यले निजी क्षेत्रको काम गर्ने शैली र सरकारी प्रक्रियामा मेल नखाने हुँदा समस्या भएको बताए। उनले भने सबै व्यवसायीलाई साथ लिएर र कार्यक्रमको योजना बनाएर जानुपर्ने तर्क दिए। उनले भएकै विमानस्थललाई सुधार गर्ने र पर्यटनका गतिविधि बढाउने कार्यक्रलाई केन्द्रित गर्ने पनि बताए।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण वर्षको पहिलो प्राथमिकता पूर्वाधार निर्माण गर्ने नै भएको बताए। उनले भने, ‘पूर्वाधार विकास, बजारीकरण, प्रवद्र्धनसहितका क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने योजना छ।