विद्रोहको बलियो अनुहार

विद्रोहको बलियो अनुहार

अमेरिकी समाजमा जातीय द्वैष, असहिष्णुता र श्वेत प्रभुत्ववादको विष फैलिँदै जान थालेको यस धमिलो कालखण्डमा मोरिसनको निधन भएको छ।


विश्वविख्यात अमेरिकी उपन्यासकार, कृति सम्पादक, अध्यापक र साहित्यिक अभियन्ता टोनी मोरिसनको यही अगस्ट ५ का दिन ८८ वर्षको उमेरमा निमोनियाबाट उत्पन्न जटिलताहरूका कारण न्युयोर्क सिटीमा निधन भएको छ। वर्तमान अमेरिकी साहित्य जगत्को सम्भवतः सबैभन्दा ठूलो नाम मोरिसनलाई नोबेल साहित्य पुरस्कारसमेत अनेक राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पदवी, पुरस्कार र सम्मानबाट विभूषित गरिएको थियो। अमेरिकी समाजको तृणमूल तहमा रहेका दीनहीन अश्वेतहरूको विदीर्ण अवस्थामा केन्द्रित भएर उनले लेखेका आख्यानहरूलाई आधुनिक अमेरिकी साहित्यका अमूल्य सम्पदाका रूपमा स्वीकार गरिएको छ।

लेखनमा प्रचलित नाम टोनी मोरिसन भएकी यी ख्यातनामा लेखकको परिवारले दिएको नाम थियो— क्लोइ आर्डेलिया वोफोर्ड। पछि क्रिस्चियानिटीको क्याथोलिक शाखामा दीक्षित हुने बेलामा पाएको नाम एन्थोनीलाई छोट्याएर टोनी बनाई त्यसैलाई पहिलो नाम बनाएकी हुन् यिनले। होवार्ड विश्वविद्यालयमा सिर्जनशील साहित्य विषयको अध्यापक छँदा यिनको भेट वेस्ट इन्डिजको द्विपराज्य जमैकाबाट आएका वास्तुशास्त्री ह्यारोल्ड मोरिसनसँग भएको थियो। केही वर्षपछि ती जमैकन वास्तुशास्त्रीसँग यिनको प्रेमविवाह भयो र करिब ६ वर्ष दाम्पत्य जीवन बिताएपछि उनीहरूका बीच पारपाचुके पनि भयो। तर टोनीले सम्बन्धविच्छेद भइसकेका भए पनि ती पूर्वपतिको नामबाट लिएको मोरिसन भन्ने थरलाई भने कहिल्यै हटाइनन्।

ओहायो राज्यको लोरेन नामको सानो अश्वेत बस्तीमा रहेको एक गरिब परिवारमा जन्मे हुर्केकी यिनले केटाकेटी छँदै आफ्नो अश्वेत समुदायमाथि बहुसंख्यक गोराहरूबाट भएका विभेदकारी र दमनपूर्ण व्यवहारको नृशंसतालाई देखेकी, भोगेकी थिइन्। त्यस समयमा अश्वेतहरूको संगठित जत्थाले कुनै पनि निहुँमा काला जातिको बसोबास भएका टोलहरूमा मारपिट, आगजनी र तोडफोड गर्ने कुरा सामान्यजस्तै थियो। उनीहरू प्रतिकार गर्न पनि सक्दैनथे। पीडितहरूले आफूहरूमाथि भएको अत्याचारप्रति देखाउने कडा प्रतिक्रिया भनेको त्यो ठाउँ छोडेर जानु हुने गर्थ्यो। त्यस किसिमका अमानवीय घटना प्रत्यक्ष आफ्नै आँखाले देखेका बेलादेखि नै यिनको मनमा अफ्रिकन अमेरिकन समाजले भोग्दै आएका पीडा र यातनाका अनन्त कथाहरूलाई साहित्यका माध्यमबाट उजागर गर्ने विचारको बीज पलाएको थियो।

यो भाग्यकै कुरो हुनुपर्छ, एकदमै प्रतिकूल स्थितिमा पनि टोनी मोरिसनले राम्रोसँग पढ्ने मौका पाइन्। यिनी थिइन् पनि मेधावी। मोरिसनलाई यिनी केटाकेटी छँदै बाआमाले परिवारको अफ्रिकी संस्कृतिका विशिष्ट तत्त्वका रूपमा रहेका लोककथा, स्वैरकल्पनामा आधारित भूतप्रेतका किस्सा–कहानी र परम्परागत संगीतबारे जानकारी दिएका थिए। टोनी आफ्नो अफ्रिकी विरासतप्रति सचेत र उत्सुक रहून् भन्ने उनीहरूको चाहना थियो। बाल्यकालदेखि नै दीक्षित गरिएको कुराको प्रभावले हुनुपर्छ, टोनीको लेखनमा अफ्रिकी जनजीवन र संस्कृतिप्रति गहिरो लगाव भेट्न सकिन्छ। उनका आख्यानका पात्रहरू कुनै न कुनै रूपमा आफ्नो अफ्रिकी मूलको खोजी गरिरहेका जस्ता लाग्छन्।


मोरिसनको अन्तर्वार्ता : म यो मान्छेले मलाई बिरामी बनाउन सक्छ


न्युयोर्कको प्रसिद्ध प्रकाशनगृह र्‍यान्डम हाउसको पहिलो अफ्रिकी अमेरिकन कृति सम्पादकका रूपमा काम गर्न थालेपछि टोनी मोरिसनले अश्वेत साहित्यलाई अमेरिकी साहित्यको मूलधारासँग जोड्ने दिशामा केही उल्लेख्य काम गरिन्। सन् १९७२ मा उनको सम्पादनमा ‘समसामयिक अफ्रिकी साहित्य’ नामको एउटा ऐतिहासिक ग्रन्थको प्रकाशन भयो जसमा विख्यात नाइजेरियन लेखकद्वय ओले स्वोयिन्का र चिनुवा अचेबेका अतिरिक्त दक्षिण अफ्रिकी नाटककार एथोल फुगार्डका रचना पनि समावेश गरिएका थिए। साथै मोरिसनले प्रसिद्ध अश्वेत मुक्केबाज मोहम्मद अलीको आत्मकथालाई पनि परिमार्जन गरी प्रकाशमा ल्याइन्। उनले अफ्रिकन अमेरिकन साहित्यकारहरूको नयाँ पुस्ताका टोनी केड बाम्बरा, एन्जेला डेभिस्, गायल जोन्स र हेनरी ड्युमालाई पनि संरक्षण दिई उनीहरूको लेखनको प्रवद्र्धन गर्ने प्रयत्न गरिन्।

मूलतः उपन्यासकार टोनी मोरिसनका कृतिहरूमा उपन्यास : दी ब्ल्युएस्ट आई, सुला, सङ अफ् सोलोमन, टार बेबी, बिलभ्ड्, ज्याज, प्याराडाइज, लभ, अ मर्सी, होम, गड हेल्प दी चाइल्ड उल्लेख्य छन्। छोरा स्लेड मोरिसनसँग सहलेखन गरिएका बालसाहित्य पनि छन् उनका : दी बिग बक्स, दी बुक अफ मिअन पिपल, हु ह्याज् गट् गेम्, पिनी बटर फ्युज्, प्लिज् लुइजी। उनका लघु आख्यान : रेसिट्याटिफ्, स्विट्नेस। नाटक : ड्रिमिङ एमिट, डेस्डेमोना। गैरआख्यानमा : दी ब्ल्याक बुक, प्लेइङ इन दी डार्क (सम्पादन), रेसिङ जस्टिस् इनजेन्डरिङ पावर, बर्थ अफ् अ नेसनहुड : गेज्, स्क्रिप्ट एन्ड स्पेक्ट्याकल इन दी ओ जे सिम्पसन केस, रिमेम्बर दी जर्नी टु स्कुल इन्टेग्रेसन, सेलेक्टेड नन् फिक्सन्, बर्न दिस बुक, दी आरिजिन अफ् अदर्स, दी सोर्स अफ् सेल्फ रिगार्ड : एसेज्, स्पिचेज् एन्ड मेडिटेसन्स्।

यीबाहेक मोरिसनले विख्यात अमेरिकी आख्यानकार मार्क ट्‍वेनबारे लेखेको एउटा लेख पनि निक्कै महत्त्वपूर्ण मानिन्छ। उनले पुलिट्जर, नोबेलजस्ता धेरै सम्मान र पुरस्कार पनि पाइकी थिइन्।

टोनी मोरिसन संयुक्त राज्य अमेरिकामा रंगभेदी मानसिकताविरुद्ध लामो समयदेखि चलिरहेको वैचारिक आन्दोलनको परम्परामा आफ्ना सशक्त कृतिहरूका माध्यमबाट जोडिन आएको एउटा सुपरिचित चेहरा थिइन्। उनको साहित्य पूर्ववर्ती अश्वेत सर्जक लोरेन ह्यान्स्बेरी तथा माया आन्जेलुहरूको परम्पराकै नयाँ र अझ सशक्त कडी बनेको थियो। अफसोसको विषय, अमेरिकी समाजमा जातीय द्वैष, असहिष्णुता र श्वेत प्रभुत्ववादको विष फैलिँदै जान थालेको यस धमिलो कालखण्डमा मोरिसनको निधन भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.