कर्मचारी खोज्न सदरमुकाम
जाजरकोट : कुशे गाउँपालिका–१ का धनबहादुर कामी र झरना विक विवाह दर्ता गर्न वडा कार्यालय गए। त्यहाँ वडासचिव नभेटेपछि उनीहरू दुई दिन हिँडेर सदरमुकाम खलंगा आए। सदरमुकाममा एक दिन वडासचिव खोज्नै ठिक्क भयो।
बल्लतल्ल सचिव भेटे तर त्यसदिन काम भएन। उनीहरू तेस्रो दिन विवाह दर्ता गरेर फर्किए। ‘बिहे दर्ता गर्नकै लागि आउजाउ र खानबस्न गरी १० हजार खर्च भयो’, धनबहादुरले भने, ‘गाउँमै सिंहदरबार आयो भन्थे तर खै ? सामान्य कामका लागि गाउँमा आएका सिंह खोज्दै सदरमुकाम धाउन छुटेको छैन।’
कुशे–१ का मुने चलाउने पनि छोराको जन्मदर्ताका लागि वडासचिव खोज्दै सदरमुकाम खलंगा पुगे। वडासचिवलाई भेट्न उनलाई एक दिन लाग्यो। गाउँमा सचिव नबस्दा सानो कामका लागि पनि सदरमुकाम धाउनुपरेकोमा मुनेले गुनासो सुनाए, ‘वडा कार्यालय स्थापना भएको दुई वर्ष बितिसक्दा पनि कर्मचारी गाउँमा बस्दैनन्।’
स्थानीय तहका कर्मचारी गाउँमा नबस्दा कुशे गाउँपालिकाका अधिकांश नागरिक सेवा लिन सदरमुकाम धाउन बाध्य छन्। कतिपय काम वडामा रहेका प्रशासकीय सहायकले गरे पनि पञ्जिकाधिकारीका रूपमा तोकिएका वडासचिवले नै हस्ताक्षर गर्नुपर्ने जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, बसाइसराइ, नागरिकता सिफारिसलगायत कामका लागि कुशे गाउँपालिकावासी सदरमुकाम धाउनुपर्ने बाध्यता छ।
वडासचिव नहुँदा गाउँपालिकाको जन्म, मृत्यु, विवाह, बसाइसराइजस्ता पञ्जिकरणका काम प्रभावित भएका छन्। जन्मदर्ताका लागि पनि सचिव खोज्दै सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको स्थानीय मानबहादुर नेपालीले बताए। ९ वडा भएको कुशे गाउँपालिका जिल्लाको दुर्गम पालिका हो। जहाँ दुई जना वडासचिवले नौवटै वडाको काम गर्दै आएका छन्।
एक जना सचिवले पाँचवटा वडासम्मको जिम्मेवारी सम्हालेका छन्। वडासचिव सत्यदेव खनालले १–४ र वडासचिव बलबहादुर खड्काले ५–९ सम्मका वडा हेर्ने गरेका छन्। तर, कर्मचारी समायोजनबाट वडासचिव खड्काको जिल्ला कारागार जाजरकोटमा सरुवा भइसकेको छ। वडासचिव सत्यदेवले गुनासो गर्दै भने, ‘एउटै वडाबाट अर्को वडा जान एक दिन हिँड्नुपर्छ कसरी चार÷पाँच वटा वडामा गएर काम गर्न सकिन्छ।’
वडासचिवको पदपूर्ति नहुँदा एउटै सचिवलाई धेरै वडाको जिम्मा दिनुपरेको कुशे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण पौडेलले बताए। लोकसेवामा रिक्त पदको माग गरिएकाले छिट्टै पदपूर्ति हुने उनको भनाइ छ। साथै, कुशे गाउँपालिकाको कामकाज प्रशासनिक केन्द्र थर्पु भार्माबाट हुन सकेको छैन। बैंक र सुरक्षा नभएको भन्दै सदरमुकाम खलंगाबाट गाउँपालिकाले सेवा दिँदै आएको उनले बताए।