तारेमाम तोक्पेगोला

तारेमाम तोक्पेगोला

ताप्लेजुङका तीनवटा गोला चर्चित छन्— तोक्पेगोला, ओलाङचुङ्गोला र घुन्सागोला।


माथि लुम्बासुम्बा हिमाल। दायाँतर्फ मेवा नदीको आकार लिँदै बगेको सोदोपोखरीको निकास, बायाँपट्टि भेम्भेमा छाँगाको प्राकृतिक झंकारले बस्ती नै गुञ्जायमान बनाउँछ। दक्षिणतिर छितिजसम्मै फैलिएका लेकाली वनका फाँटहरूले आँखा झिमिक्क पार्न दिँदैनन्। खुला चौरमा फुलेका रंगीचंगी फूलहरूको बीचमा बनेका काठका घरहरू निकै आकर्षक र कलात्मक देखिन्छन्। यस्तै अग्र्यानिक सौन्दर्य साँचेर बसेको छ, तोक्पेगोला।

ताप्लेजुङका तीनवटा गोला चर्चित छन्— तोक्पेगोला, ओलाङचुङ्गोला र घुन्सागोला। नेपाली शब्दकोशअनुसार गोला भन्नाले ‘पर्वतको काखमा रहेको व्यापार व्यवसाय गर्ने थलो’ बुझिन्छ। तोक्पेगोला तिब्बतको सीमानजिक रहेको ऐतिहासिक नाका हो। सीमान्तीकृत समूहमा सूचीकृत ‘तोक्पेगोला’ (स्थानीय भाषामा ढोक्प्या भनिने) जातिको यहाँ बसोबास छ। ठाउँकै नामबाट जातको नामकरण गरिएको हो। तोक्पेगोला जाति शेर्पा परिवारभित्रै पर्छन्।

तोक्पेगोला नाम कसरी रह्यो भन्ने सम्बन्धमा यथेष्ट प्रमाण भेटिँदैन। स्थानीय वृद्ध तेन्जिङ शेर्पाका अनुसार नेपाल र तिब्बतबीच युद्ध हुँदा यो बाटो नेपालका सेनाहरू तिब्बततर्फ गएका थिए। तर सेनाहरू त्यहाँ नपुग्दै युद्धविराम भयो। र उनीहरूले सामान बोकाएर लगेका याक र चौंरीहरू गोठालालाई जिम्मा दिए। शेर्पा भन्छन्, ‘गोठालाहरूको भाषामा गोठालालाई ‘थोक्प्या’ र बस्ने ठाउँलाई ‘थोक्प्याई’ भनिन्थ्यो। पछि त्यही अपभ्रंश भएर ढोक्पे हुँदै तोक्पे रहन गयो।’ बिस्तारै घरहरू बने। मानिसहरू बस्न थाले। ‘पछि पापुङ, साँवा, नाल्बु, लिवाङ, खोक्लिङलगायत गाउँका मानिसहरू तिब्बतसँगको व्यापारका निम्ति आवतजावत गर्ने क्रममा त्यहीँ बास बस्ने क्रम सुरु भयो। ससानो व्यापारिक केन्द्र नै बनेको हुनाले यसलाई गोला भनियो। अनि ठाउँको नाम तोक्पेगोला रह्यो’, शेर्पाले भने।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट दुई दिनको पैदलमा तोक्पेगोला पुगिन्छ। मिक्वाखोला गाउँपालिका–५ मै परे पनि पापुङबाट एक दिन जंगलै–जंगलको बाटो रहेको छ। बाटैभरि पहाडको कापबाट खसेका छाँगा छहराहरू भेटिन्छन्। ठाडो खोल्सोझैं छङछङ गर्दै बगेको मेवा नदीको किनारै–किनार दुई दिन हिँड्दा बाटो काटेको पत्तै हुँदैन। घना जंगलभित्र चराचुरुंगी र वन्यजन्तुको विभिन्न आवाजले मुग्ध बनाउँछ।

यहाँ १६ घर तोक्पेली र एक घर लिम्बूको बसोबास छ। मुख्य व्यवसाय पशुपालन हो। प्रत्येकले याक र चौंरी पालेका छन्। हिजोआज नजिकका तीनपोखरी, लोदेन, सिङ्सोङ्देन, साधुटारजस्ता लेकाली फाँटमा याक र चौंरीका गोठले ढाकिएका छन्। ६ महिना हिउँले ढाक्ने हुँदा बस्ती खाली हुन्छ। हिउँदमा गोठसहित औल (पापुङ) झर्ने स्थानीय मिलनदोर्चि शेर्पाले बताए। यहाँबाट ओम्बोक्ला नाका हुँदै दुई दिनमा तिब्बतको रिउ बजार पुगिन्छ। तिब्बतीसँग यहाँका नागरिकको व्यापारिक सम्बन्ध छ।

तीन हजार सात सय मिटरको उचाइमा अवस्थित तोक्पेगोला घरहरू झुरुप्पै भएकाले बजारजस्तै देखिन्छ। घरमाथि राखिएका ध्वजापताकाहरूले गाउँ झिलिमिली देखिन्छ। तोक्पेलीहरूले प्रत्येक वर्ष नागपञ्चमीमा ढुक्पाछेसी पर्व मनाउँछन्। यो दिन नागको पूजा गरेर घरघरमा बौद्ध धर्ममा आधारित पुस्तकहरू घुमाउने गर्छन्। यसो गर्नाले घरमा लक्ष्मी भित्रने र दुःखकष्ट हरण हुने जनविश्वास छ। उक्त अवसरमा ताप्लेजुङसहित पाँचथर, तेह्रथुम, इलाम र संखुवासभासम्मका मानिसहरू तोक्पेगोला पुग्छन्। बस्तीनजिकै दुई ठूला पोखरी (भूतपोखरी र सोदोपोखरी) छन्।

काठे तोङ्बामा कोदोको जुसका साथमा सुकुटी खान पाइन्छ । केन्जो, माईकोपिला, विख्मा, वनलसुन, पाँचऔंले, खोकिमलगायतका जडीबुटी पाइन्छ । शेर्पा जातिको स्याब्ब्रु नाचसमेत तोक्पेगोलामा देख्न सकिन्छ । सबै जनाले हात समाएर समूहमा यो नाच नाचिन्छ।

तोक्पेगोला जातिको बसोबास रहेको नेपालको एकमात्र स्थान हो। उचित प्रचार र त्यहाँसम्म पुग्ने बाटो मर्मत नहुँदा बाहिरका आन्तरिक तथा बाह्य पर्यटकको नजरमा खासै पर्न सकेको छैन। तर, पछिल्लो समय भने पर्यटकको चहलपहल केही बढेको वडाध्यक्ष डण्डु लामाको भनाइ छ। तोक्पेगोला जाति र लिम्बू जातिको संस्कृति, चौंरीपालन, जडीबुटीको अवस्थाका विषयमा अध्ययन गर्नेहरू पनि पुग्न थालेको लामाले बताए।

पदमार्गलाई पनि स्तरोन्नति गर्दै लगिएको उनी बताउँछन्। आमागी वर्षलाई सरकारले ‘नेपाल भ्रमण वर्ष’का रूपमा मनाउने तयारी गरिरहँदा यस्ता भर्जिन गन्तव्यलाई पहिचान परेर प्रचार गर्न सके पर्यटकको पहिलो रोजाइ बन्नसक्ने पर्यटन व्यवसायी हर्जराज गुरुङ बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.