टिकट म्यान

टिकट म्यान

तीन दशकको रुचिले ऋषिकुमार तुलस्यानलाई अन्तर्राष्ट्रिय टिकट प्रदर्शनीमा उच्च स्वर्ण पदक हात लागेको छ। उनको रमाइलो रुचि–यात्रा :


पेसाले उनी व्यापारी। सोखले टिकट संकलक। अनि त्यही सोखले अन्तर्राष्ट्रिय पदक प्राप्त होला, यस्तो उनले कल्पनासम्म गरेका थिएनन्। गर्ने कुरा पनि त भएन !

काठमाडौंका ऋषिकुमार तुलस्यान, ४५, ले अपत्यारिलो सफलता हात पारे। हालै चीनमा आयोजना भएको अन्तर्राष्ट्रिय टिकट प्रदर्शनीमा उनले ‘लार्ज गोल्ड’ मेडल प्राप्त गरे। उनलाई सरकारले देशकै प्रतिष्ठा बढाएको भन्दै सम्मान पनि ग¥यो। सम्मानमा संस्मरणात्मक आवरण अर्थात् आफ्नै नामको हुलाक टिकट र खाम उनलाई दिइयो। सञ्चारमन्त्री गोकुल बाँस्कोटाले त्यसमा टाँचा लगाए।

‘हबी अफ द किङ’को नामबाट चिनिन्छ टिकट संकलनमा नसोचेको सफलता पाउँदा उनी त छँदै छ, उनका आफन्त र साथीभाइ पनि दंग छन्। ती साथीभाइ र आफन्त, जसको पारिवारिक कार्यक्रम र भोजभतेरमा उनी ‘टिकटको काममा लागिरहेको छु’ उनीहरूलाई समय दिँदैनथे। साथीभाइ र आफन्त रुष्ट हुने त भइहाले। अहिले भने ती साथीभाइ र आफन्त मक्ख छन्।

टिकट संकलन कार्य आफैंमा सजिलो नभएको हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवाली बताउँछन्। ‘सोख भएर मात्रै यसमा कसैले पनि सफलता प्राप्त गर्न सक्दैन। धन, मन र बुद्धि पनि चाहिन्छ। ऋषि तीनै कुरा लगाएकाले सफल भएका हुन्’, उनले भने।

तुलस्यानको तीन पुस्ता व्यापारमै जम्यो। मारवाडी समुदायका उनी पनि व्यापारमै छन्। तर, सोखको टिकट संकलन कार्यमा उनले हालसम्म ५० लाख रुपैयाँ खरिदमै खर्च गरेको बताउँछन्।

उनको यो रुचि व्यापारसँग जोडिएको छ। उनका बुवा पुरुषोत्तमलाल व्यापारी थिए। बुवालाई देशविदेशबाट चिठी आइरहन्थ्यो। चिठीसँगै आएका रंगीन, आकर्षक र थरीथरीका टिकट उनी उप्काउँथे। जतनसँग राख्थे। यसरी संकलन गर्दागर्दै घरमै टिकटको थुप्रो बन्यो। उनी ती टिकट साथीभाइलाई देखाउँथे। उनीहरू रमाइलो मान्दै हेर्थे। उनलाई संकलनमा थप हौसला मिल्दै गयो।

हुलाक नपुगी घरबाटै संकलन भएको टिकट कलेज पढ्दा अझ बढ्दै गयो। साँच्चिकै टिकट संकलक बन्ने उद्देश्यका साथ काम गर्दै गए। देशका सबै टिकट संकलन गर्ने सोच आयो। त्यसमा लगानी र समय बढाउँदै गए। किनभने विभिन्न देश पुगेर टिकट खरिद गर्न सम्भव थिएन। ‘मैले सहज रूपमा उपलब्ध भएका सबै स्वदेशी टिकट जम्मा गर्दै गएँ।’

संकलन गर्ने क्रममा यसबारे उनले खोजी पनि गरे। संकलनकर्ताको भविष्यबारे पनि बुझे। ठूलाठूला प्रतियोगिता पनि हुँदो रहेछ भन्ने जानकारी बटुले। नेपाल फिलाटेलिक सोसाइटीको सदस्य बने। उनले त्यहाँबाट थप ज्ञान र अनुभव लिने अवसर पाए। त्यही संस्थाको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बन्ने अवसर पाए।

फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले दुईदेखि चार लाख थान टिकट फिलाटेलिसहरूलाई बिक्री गर्दै आएको छ। ‘बढी मूल्यमा बिक्री हुने हुँदा हामीले २० हजारजति थान त स्टक राख्ने गरेका छौं’, हुलाक कार्यालयका नासु शालिकराम नेपालले भने।

नबोल्ने राजदूतका रूपमा टिकटलाई लिइन्छ। टिकट राष्ट्रियतासँग पनि गाँसिएको हुन्छ। यसले इतिहास बोल्छ।

बेलायतबाट सन् १८४० मा टिकटको प्रचलन भएको हो। नेपालले सन् १८८१ देखि टिकट आफैं छाप्न थालेको हो। नेपालमा एक रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म टिकट छापिन्छन्।

०००

यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता यसअगाडि नेपालले सफलता हात पारेको थिएन। नेपालले लार्ज व्ररमिल पदक मात्रै हात पारेको थियो। उनले तीनवटा मेडल हात पारे। झोलामा टिकट बोकेर उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जान्थे। कहिल्यै पनि रित्तो हात फर्किएनन्। पदक त्यही झोलामा लिई फर्कन्थे।

सन् २०१० मा साउथ अफ्रिकाको जोहान्स्बर्गमा आयोजित अन्तर्राष्ट्रिय टिकट प्रतियोगिता, २०१३ मा ब्राजिलमा आयोजित अन्तर्राष्ट्रिय टिकट प्रतियोगिता र सन् २०१७ मा इन्डोनेसियामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले गोल्ड मेडल प्राप्त गरेका हुन्। सन् १९९२ मा नेपालमा भएको राष्ट्रिय प्रतियोगितामा उनले सिल्भर पदक प्राप्त गरेका थिए। अन्तर्राष्ट्रिय पटकसम्मको यात्रामा उनले १८ वर्षपछि स्वर्ण पदक हात पारे। त्यसपछि नौ वर्ष तयारीमै खर्चिए। राम्रो तयारीले नै उनलाई ‘लार्ज गोल्ड मेडल’ दिलायो। उनी पहिलो राष्ट्रिय प्रतियोगितापछि नै दुर्लभ टिकट संकलन गर्नेतर्फ लागे।

एउटा प्रदर्शनीमा स्वर्ण पदक पारेपछि अर्को अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी पनि उत्तिकै चुनौती हुन्छ। ‘हुलाकका नयाँ इतिहासका साथै बाहिर जानकारीमा नआएका टिकटको अनुसन्धान गरी सामग्री थप्दै गए। त्यही आधारमा एकपछि अर्को पदक हात पारेको हुँ’, उनले भने। उनका अनुसार चीनको अन्तर्राष्ट्रिय प्रदर्शनीमा पहिले प्रदर्शनीमा राखिएका सामग्रीलाई नयाँ रूप दिइएको थियो। हुलाकको इतिहास झल्काउने सुगौली सन्धिदेखि अनेक नयाँ सामग्री अनुसन्धानका आधारमा राखिएको थियो।

टिकट संकलन सहजजस्तो लागे पनि त्यस्तो छैन। ‘दुर्लभ टिकट अरू मानिससँग हुन्छ। बढी नै पैसा दिए पनि दिन गाह्रो मान्छन्। ती व्यक्तिलई कन्भिन्स गरेर टिकट आफूले खरिद गर्न सहज छैन। किन दिने भन्ने पनि सोचाइ हुँदो रहेछ। आफ्ना पुस्तादेखि संगृहीत सामग्री सबैलाई प्यारो हुँदो रहेछ’, उनले भने। दुर्लभ टिकट संकलन गर्ने क्रममा उनले एउटाकै एक लाख मूल्य तिरेका छन्। जुन टिकट एक आनाको नेपालको पहिलो टिकट थियो। आफूसँग भएका टिकट आफू रहेसम्म कसैलाई पनि बिक्री गर्नै सोच नरहेको उनले बताए। ‘यी टिकटसँग मेरो निकटता छ, मलाई पहिचान दिएकाले सधैं संरक्षण गर्छु। कसैलाई दिन्नँ’, उनले भने।

नेपाल फिलाटेलिक सोसाइटीको पहलमा उनले देशको पहिचान र प्रतिष्ठा अगाडि मात्रै बढाएका छैनन्, संस्थाको साख पनि उँचो पारेका छन्। सरकारले गत हप्ता मात्रै फिलाटेलिक सोसाइटीलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ।

नेपालको टिकट आफैंमा आकर्षक छ। संयुक्त राष्ट्रसंघको ५०औं स्थापना दिवसमा बेस्ट डिजाइनमा परेको थियो। नेपालमा हुलाक सेवा स्थापना भएको एक सय एकचालीस वर्ष पूरा गरिसकेकाले पनि संकलनकर्तालाई यति लामो इतिहासले लाभ पुर्‍याएको छ। तर नेपालको कला, विविधता, भौगोलिक वस्तुस्थिति र पहिचान झल्कने वस्तुलाई भन्दा राजनीतिक व्यक्तिलाई टिकटमा राख्ने कारण गरिमा घट्न लागेकामा उनी चिन्तित छन्। ‘नेपालले टिकटबाट आर्थिक र अन्य लाभ लिने र देशलाई चिनाउने अवसर छ। तर राज्यले त्यसमा ध्यान दिन सकेको छैन’, उनले भने।

नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष शंकर श्रेष्ठ नेपालमा हरेक १० वर्षमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने सके मात्रै विदेशीले पनि नेपालको टिकट खरिद गर्ने र प्रचारप्रसार हुने साथै संकलनकर्तालाई हौसला मिल्ने बताउँछन्। तर नियमित टिकटसमेत प्रकाशन नगर्ने र टिकट प्रकाशनको तालिका फलो नगर्ने कारण स्वेदशी र विदेशी संकलनकर्तामा निराशा पैदा गरेको बताउँछन्। सन् २०१८ मा नेपालले टिकट नै प्रकाशन गरेन। नियमित टिकट प्रकाशन र अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गरेमा संकलन गर्नेलाई उत्साह बढ्ने साथै टिकटको बिक्री पनि बढ्ने सोसाइटीका अध्यक्ष श्रेष्ठको भनाइ छ।

नेपालमा जम्मा २० करोडको टिकटको कारोबार हुन्छ। विश्वमा इन्टरनेट र ईमेलको प्रयोगबाट चिठी लेखेर पठाउने प्रचलन घट्दै गए पनि टिकटको महत्त्व भने घटेको छैन। युरोप र अमेरिकामा पनि सरकारले टिकट बिक्री गर्छ। सार्क देशमा भुटानले टिकट बिक्रीबाट राम्रो राजस्व संकलन गरिरहेको छ। टिकटबाट राजस्व वृद्धि गर्न सकिने हुँदा त्यसतर्फ सोच्नुपर्ने संकलनकर्ताको सुझाव छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.