चरी बाघको छालासहित सशस्त्रका जवान पक्राउ
दार्चुला : चरी बाघको छालासहित सशस्त्र प्रहरी जवान दीपकसिंह बडाल पक्राउ परेका छन्। दुहुँ गाउँपालिका २ हिकिलाबाट सदरमुकाम खलंगा आउने क्रममा सशस्त्र प्रहरीको ५० नम्बर गुल्ममा कार्यरत दुहुँ गाउँपालिका २ का बडाल प्रहरी फन्दामा परेका हुन्। बहृमदेव प्रहरी चौकीको नियमित चेकिङका क्रममा बडाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
झोलामा लुकाएर सदरमुकाम ल्याउने क्रममा चेकजाँच गर्दा प्रहरीले बाघको छाला फेला पारेको थियो।
दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार बडालले आफूसँग झोला नभएको भन्दै आफ्नो झोलामा राखेर लान गरेको अनुरोध स्वीकार गर्दा फसेको बयान दिएका छन्।
शनिबार सार्वजनिक गरिएका बडाललाई थप कारवाहीका लागि अपीनाम्पा संरक्षण क्षेत्र दार्चुलालाई बुझाइने कठायतले बताए। बडाललाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार एक लाख जरिवाना, १५ वर्ष कैद तथा दुवै सजाय हुन सक्नेछ।