हिलिहाङको इतिहास सार्वजनिक गर्दै प्रचण्डले सम्झिए पृथ्वीनारायण शाह
काठमाडौं : लिम्बू समुदायका अन्तिम राजा हिलिहाङको इतिहास समेटिएको पुस्तक ‘हिलिहाङ इन द हिस्ट्री अफ नेपाल’ सार्वजनिक भएको छ। नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा पुस्तक सार्वजनिक गरे।
हिलिहाङ फाउन्डेसनका अध्यक्ष हर्कबहादुर योङहाङ (लिम्बू) ले लेखेको ‘नेपाली इतिहासमा हिलिहाङ’ नामक पुस्तक अम्बिकाप्रसाद मेनेङ्बोले अंग्रेजीमा अनुवाद गरेका हुन्।
प्रचण्डले यो पुस्तकले नेपाली इतिहासको एउटा अध्यायको जानकारी गराउने उल्लेख गरे। ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधता भएको देश हो। नेपाल सानो भए पनि बहुविध विशेषता भएको देश हो’, प्रचण्डले भने, ‘जति इतिहासका विविध पाटा–पक्ष अध्ययन र अन्वेषण हुन्छ त्यत्ति नै हामी वर्तमानलाई राम्रो र भविष्यलाई सुन्दर बनाउन सक्छौँ।’
इतिहासबाट पाठ सिकेर नै सुन्दर राष्ट्र निर्माणको आधार खडा गर्न सकिने उनको तर्क छ। ‘हामीले अझ धेरै अध्ययन र अन्वेषण गर्नुपर्छ। जसले भावी पुस्तालाई प्रशिक्षित गरोस’, प्रचण्डले भने, ‘यो पुस्तकले त्यो एउटा आधार तय गरेको छ।’
पृथ्वीनारायणलाई यसरी सम्झिए
नेपाल एकीकरणका क्रममा हिलिहाङले पृथ्वीनारायण शाहसँग सम्झौता गरेको प्रसंग सम्झँदै प्रचण्डले पुस्तक विमोचन कार्यक्रममा पृथ्वीनारायणको नेपाल एकीकरणको विषयलाई सम्झिए। ‘नेपालमा लामो समयसम्म विभिन्न ढंगले चलेका जनताका आफ्नो विशेषता र संस्कृतिसहितका राज्यलाई विस्तार गर्ने क्रममा नेपाल निर्माणको प्रक्रिया चल्यो’, एकीकरणको समय सम्झँदै प्रचण्डले भने, ‘त्यसलाई एउटा व्याख्याले महान राष्ट्र निर्माणको अभियान थियो भन्छ। अर्को व्याख्याले जबरजस्ती फौजी तरिकाले राज्य विस्तार गर्यो र नेपालको बुहजातीय बहुभाषिक र बहुसंस्कृतिकको विशेषतालाई अठ्यायो भन्छ।’
एकीकरणको समयको व्याख्या गर्दै प्रचण्डले कम्युनिस्टले समाजको विकास एतिहासिक भौतिकवादअनुसार हुनेमा विश्वास गर्ने बताए।
‘हामी कम्युनिस्टले एतिहासिक भौतिकवाद अनुसार समाजको विकास हुन्छ भन्छौँ’, प्रचण्ड भन्छन्, ‘दास युगभन्दा सामन्तवादी युग एक कदम अगाडि हो, सामन्तवादी युगभन्दा पुँजीवादी युग एक कदम अगाडि हो, अनि पुँजीवादबाट समाजवाद भनेको गुणात्मक रूपले नयाँ जनताको सिस्टम हो।’
किरात वा लिम्बूहरूले किन राज्य प्राप्त गर्न सकेनन् ?
प्रचण्डले पृथ्वीनारायण शाहले नेपाल विस्तारमा सफलता प्राप्त गरेको प्रसंग उठाए। पृथ्वीनारायण सफल हुँदा अरू–अरू किन असफल भए भन्दै उनले प्रश्नसमेत गरे।
‘काठमाडौंमा ललितपुरमा भक्तपुरमा पनि तीनटा राजाहरू थिए। काठमाडौंको राजा त सबैभन्दा धनी थिए। आर्थिक रुपले सम्पन्न काठमाडौं नै थियो। सांस्कृतिक विविधता पनि बढी नै थियो। गोरखा जस्तो एउटा सानो विकास केही पनि नभएको राज्यको राजाले चाहिँ राज्य विस्तार गर्न सक्ने काठमाडौँको मल्लहरूले किन सकेनन् त ? लिम्बुवान वा किरातका राजाले किन त्यो राज्य विस्तारको काम गर्न सकेनन् त ?’, प्रचण्डले प्रश्न गर्दै भने, ‘भौतिकवादी ढंगले हेर्दा यो बाइसे–चौबिसे राज्य र राजा हुँदा काठमाडौंबाट ललितपुर आउँदा पनि कर तिर्नुपर्ने, भक्तपुर जाँदा पनि अलग्गै राज्यलाई कर तिर्नुपर्ने अनि देशभरका धेरै राजा रजौटालाई पाल्न धेरै खर्च गर्नुपर्ने, व्यापार पनि राम्रोसँग नफस्टाउने भएको हुनाले एउटा विशाल राष्ट्र राज्य भइदिए हुन्थ्यो भन्ने जनताको चाहना बढ्दै गएको थियो।’
काठमाडौं, भक्तपुर र ललितपुरका राजा भोग विलाशमा रमाएकाले गोरखाबाट आएका राजाले सफलता पाएको उनको विश्लेषण छ। पृथ्वीनारायण २०–२२ वर्षको भएकाले उनलाई लड्न भिड्न बढी जाँगर भएको उनको बुझाइ।
‘दर्जनौ राजामध्ये एक–दुई जो अलि बढी धनी थिए। काठमाडौंका ति राजा भोग विलाशमा, एैस आराममा लागेका थिए। दुःखकष्ट गर्ने, त्याग गर्ने, लड्न आफैँ अगाडि बढ्ने भन्ने चेतना काठमाडौं, भक्तपुर र ललितपुरका राजामा थिएन। बरू पैसा टन्न भएकाले खाने पिउने, रमाइलो गर्ने भोग विलास गर्ने, एैस आराममा दिन बिताउँनेमा बढी ध्यान थियो’, प्रचण्डले भने, ‘पृथ्वीनारायण शाह भर्खरको जवान थिए। उनमा राज्य विस्तार गर्ने महत्वकांक्षा थियो। २०–२२ वर्षको राजा भएकाले उनलाई लड्न भिड्न बढी जाँगर थियो। प्रशिक्षण पनि पाएका थिए भने त्यस्तै सम्बन्ध पनि बनाएको कारण उनी सफल भएको देखिन्छ।’
इतिहासको संयोग र उनको जाँगरले नेपाल एकीकरणको श्रेय पाएको उनको विश्लेषण छ। बताए।
‘बाइसे–चौबिसे राज्यलाई सकेर विशाल एउटा राज्य हुनु थियो। त्यो पृथ्वीनारायण शाहले गरे पनि हिलिहाङले गरेको भए पनि हुन्थ्यो। तर, इतिहासको संयोग के भने पृथ्वीनारयाण शाहले गर्ने वातावरण बन्यो र नेपाल राष्ट्र बन्यो’, प्रचण्डले थपे, ‘पृथ्वीनारायणको काम विकसित भइनसकेको राज्यलाई विकसिल र एउटा केन्द्रिकृत राज्य बनाउने थियो।’
प्रचण्डले पृथ्वीनारायणले त्यो समयमा गरेको काम एक कदम अगाडि नै भएको बताए। तर, आजको जनताले एउटै जातिको शासन स्वीकार नगर्ने उनको भनाइ छ।
‘त्यो चरणमा नेपाल एकीकरणको विषय एक कदम अगाडि नै थियो। दास युगभन्दा सामन्तवादी युग अगाडि भनेजस्तै थियो। तर, आज त्यो अगाडि होइन पछाडि हो। आजको जनताले एउटै भाषा, एउटै संस्कृति, एउटै जात, एउटै जातिको शासनलाई स्वीकारर्दैन’, प्रचण्डले भने, ‘जनताले लोकतन्त्र चाहन्छ। उसले जनवाद चाहन्छ। उसले आफ्नो पहिचान र अधिकार चाहन्छ। उसको पनि भनाइ राज्यको नीति निर्माणमा पुगोस भन्ने चाहन्छ। त्यस कारण त्यो सिस्टम कालान्तरमा जनताका लागि बाधक भयो।’
उनले समय परिस्थितिको विकास हुँदै जाँदा उनको एकीकरण समय सान्दर्भिक नभएकाले नयाँ लडाईं सुरु भएको बताए। ‘पृथ्वीनारायणको एकीकरणपछि बाइसे–चौबिसे राज्यभन्दा फाइदा त भयो। ठूलो राष्ट्र हुँदा व्यापारमा जनतालाई सहयोग पुग्यो। तर अहिले फेरि विभिन्न जातजाति भाषाभाषि, संस्कृति परम्परालाई दबाएर राख्दा जनाताको अधिकार कुन्ठित भयो’, प्रचण्डले भने, ‘विकासको सम्भावना पनि भएन। जनतालाई व्यापक रुपमा परिचालन गर्न सकिएन। त्यसकारण सबै जातजाति, भाषाभाषिको समान अधिकार हुनुपर्छ भन्ने लडाईं सुरु भयो।’
प्रचण्डले लिम्बूहरूका अन्तिम राजा हिलिहाङले अन्तिमसम्म आफ्नो पहिचान, अधिकार, आत्मसम्मान र स्वाभिमानका निम्ति लड्ने कोशिस गरेको तर शक्ति सन्तुलनका कारण सहमति गर्न पुगेको उल्लेख गरे । ‘हिलिहाङले पहिचान, अधिकार, आत्मसम्मान र स्वाभिमानका लागि अन्तिम समयसम्म लड्नुभयो’, प्रचण्डले भने, ‘तर शक्ति सन्तुलनको त्यत्तिबेलाको स्थितिमा कही न कही गएर सहमति बनाउनै पथ्र्यौ। सहमति बनेरै गयो। इतिहासको यो पाटो छ।’
पहिचानको लडाईं सकिएको छैन
प्रचण्डले आफूहरूले लडेको पहिचानको लडाईंले ठूलो प्राप्ति हात पारे पनि अझै नसकिएको बताए। ‘हामी २१ औं शताब्दीसम्म आइपुग्दा नयाँ आन्दोलन सुरु भयो। हामीले सबै जातजाति भाषाभाषि नेपालमा भएका सबै आदिवासी जनजातीहरू मधेसी, दलित, महलिा, मुस्लिम, सबैको आआफ्नो पहिचानलाई पनि राज्यले मान्यता दिनुपर्छ भन्यौँ’, प्रचण्डले भने, ‘सबैको अधिकारलाई पनि समान रूपले संविधानमा लिपिबद्ध गरिनुपर्छ भन्ने लडाईं लडियो। यो सानो लडाईं होइन। हजारौँ मान्छेको बलिदान भयो।’
प्रचण्डले पहिचानको गणतन्त्र हुनुपर्छ भन्ने लडाईं सानो नभएको बताए। ‘नेपालमा पहिचानसहितको गणतन्त्र हुनुपर्यो भन्ने लडाईं सानो होइन। यो लडाईं पूरै सिद्धियो भन्ने पनि छैन। तर, यो लडाईंबाट हामीले नेपालमा महत्त्वपूर्ण राजनीतिक उपलब्धिचाहिँ प्राप्त गर्यौँ’, प्रचण्डले भने, ‘एउटा सामन्त राजतन्त्रात्मक देशबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देशमा चाहिँ परिवर्तन भयो। यो आफैंमा ठूलो कुरा हो।’
प्रचण्डले सबै जनता पहिचान र अधिकारका निम्ति नलडेको भए अहिलेको उपलब्धि प्राप्त नहुने कुराको सम्झना गरे। ‘सबैले आफ्नो पहिचान र अधिकारका निम्ति लडाईं नलडेको भए अहिले नेपालमा गणतन्त्र, संघीयता, समावेशीता, समानुपातिकता हुन सम्भव थिएन’, प्रचण्डले भने, ‘अब प्राप्त उपलब्धिलाई बलियो बनाएर जनतालाई समृद्ध बनाउनका निम्ति इतिहासको अध्ययन आवश्यक छ।’
प्रचण्डले हिलिहाङको विषयमा लेखेर हर्कबहादुरले नेपालको इतिहासमा राम्रो काम गरेको भन्दै प्रशंसा गरे। ‘हर्कबहादुरजीले हिलिहाङ भनेर नेपालको इतिहासमा यसको भूमिकाको बारेमा जे लेख्नु भएको छ, त्यो एउटा राम्रो प्रयास हो भन्ने ठान्नुछ’, उनले भने, ‘यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नका निम्ति अझ धेरै अधिकार प्राप्तिको प्रक्रियालाई अगाडि बढाउनका निम्ति महत्त्वपूर्ण छ।’
पुस्तक विमोचन कार्यक्रममा छोटो मन्तव्य राख्दै लेखक हर्कबहादुरले हिलिहाङका कारण नेपालको नक्सा कोरिएको उल्लेख गरे। पुस्तकका अनुवादक अम्बिकाप्रसादले पुस्तकको गल्तीबाट हामीले सिक्नुपर्ने बताए। ‘इतिहासका खराब कुरा कोट्याएर जनजाति लडाउने काम गर्नु हुँदैन’, उनले भने, ‘पुस्ताको गल्तीबाट हामीले सिक्नुपर्छ।’
कार्यक्रममा बोल्दै लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष मुक्साङ हाङ मेनेङबो ‘मुकेश’ले हिलिहाङ १० लिम्बुवानमध्ये एक थुमको राजा भएको सम्झना गरे।