अवैध बलुवा उत्खननले दुई युवकको ज्यान लियो

अवैध बलुवा उत्खननले दुई युवकको ज्यान लियो

धादिङ : गजुरी गाउँपालिका–६ ठूलीफाँटस्थित दरियाँल खोलामा स्काभेटर लगाएर अवैध रूपमा बालुवा निकाल्दा दुई जनाको ज्यानै गुमेको स्थानीयले निष्कर्ष निकालेका छन्। 

गजुरी गाउँपालिका–६ का वडासदस्यसमेत रहेका बालुवा उत्खनन्मा संलग्न ध्रुव सुवेदीलाई पटकपटक उत्खनन् रोक्न लगाउँदा समेत नमानेको स्थानीयको आरोप छ। उत्खनन् रोक्नुको सट्टा उल्टै धम्की दिएको स्थानीयले गुनासो गरेका छन्।  

अवैधरूपले बालुवा उत्खनन् गरेको खाल्डामा डुबेर शनिबार दुई युवाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा गजुरी गाउँपालिका– ७ का २२ वर्षाीय सुमन स्याङतान र २१ वर्षीय भीम घलान रहेका छन्। दरियाँल खोलामा हातैले बालुवा निकालेर मजदुरी गर्ने युवाहरू नुहाउन गएको बेलामा बालुवा निकालेको खाल्डोमा वेपत्ता भएका थिए। डुबेर वेपत्ता भएका उनीहरूको शव ३ घण्टापछि स्थानीयवासीले नै खोलाबाट निकालेका थिए। 

मृतक सुमनका दाइ हर्कबहादुर स्याङ्तानले भने, ‘उनीहरू आज पनि काम गर्नकै लागि खोलामा आएका थिए, सधैँ नुवाई–धुवाई गर्ने ठाउँमा रातभर मेसिन लगाएको रहेछ। खोलामा झर्ने बित्तिकै दलदले बालुवामा गाडिएछन्।’

चार जना साथीहरू नुहाउन गएका बेला ४ जना नै खोलामा फसेका थिए। दुई जना भने मुस्किलले निस्किएर  ज्यान बचाएको विक्रम तामाङले बताए। ‘खोलामा हाम्फाल्ने बित्तिकै म पाखामा पुगेको थिए, दुई जना साथीहरू पानीमुनी तल बालुवा मै गाडिएछन्’, विक्रमले भने, ‘अर्को साथी पनि गाडिएपछि मैले किनाराबाट लठ्ठी दिएर बचाउन सफल भएँ।’

स्थानीय प्रशासन बालुवा तस्करहरूसँगै मिलेको र मेसिन हटाउन पटक–पटक आग्रह गर्दा पनि नटेरेकोले गाउँका दुई स्थानीय युवाहरूले ज्यान गुमाउन परेको भन्दै आक्रोशित युवाहरूले दरियाँल खोलामा तीनवटा स्काभेटरमा तोडफोड गरी आगजनी गरिदिएका छन्।  

स्काभेटर आगजनी गर्न लाग्दा स्थानीयबासी र प्रहरीबीच केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। आक्रोशित भीड नियन्त्रण बाहिर गएपछि राजमार्ग सुरक्षा बेस क्याम्पबाट थप शसस्त्र प्रहरीहरू घटनास्थल पुगेका थिए। आगजनीबाट तीनवटै स्काभेटर जलेर पुर्णरूपमा क्षतिग्रस्त भएको छ।

सधैँ राति–राति खोलामा बालुवा निकाल्ने अनि बिहान त्यहीँ खाल्डामा स्थानीयहरू डुब्न थालेपछि आक्रोशित स्थानीयहरूले खोलामा भेटिएका सबै स्काभेटरमा आगजनी गरिदिएका हुन्। स्थानीय राजकुमार मिजारले भने, ‘दिउँसो खोलामा चरोमुसो केही देखिन्न, जब साँझ पर्न थाल्छ त्यसपछि बालुवा तस्करहरूका मोटरसाइकल र तस्करहरू खोलाभरि देखिन्छन्।’ अघिल्लो दिन वरिपारि गरिएको ठाउँमा रातभर मेसिन लगाएर बालुवा निकाली खाल्डो बनाइदिने र भोलिपल्ट अघिल्लो दिन झै सम्झेर मेलापात गर्नेहरू धेरैपटक डुबिसकेको राजकुमारले बताए।

अवैध रूपमा खोलामा मेसिन लगाएपछि स्थानीयहरूलाई मेलापात गर्न जोखिम भएको र स्थानीय मजदुरहरूको रोजीरोटी खोसिएको भन्दै दरियाँल खोला आसपासका स्थानीयहरूले यसअघि पटक–पटक विरोध गरी सिडियो कार्ययल समेत घेराउन गर्न पुगेका थिए। पटक पटक आवाज उठाउँदा पनि जनप्रतिनिधि भन्नेहरू नै बालुवा तस्करसंग मिलेमतो गरेर स्थानीय जनतालाई सास्ती हुनेगरी खोलाको दोहनमा लागेको भन्दै स्थानीयबासीले शव उठाउन दिएका छैनन्।

मृत्यु भएका युवाहरूको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, गाउँपालिका अध्यक्ष, वडाअध्यक्ष र खोलामा मेसिन लगाउने ठेकेदार लगायतहरू घटनास्थलमा नै आउनुपर्ने, भन्दै स्थानीयहरूले शव बुझ्न मानेका छैनन्।

ठूलीफाँटको दरियाल खोला किनाराका खेतहरूमा यसपाली रोपाइँसमेत गर्न नदिइ बालुवा तस्करहरूले अवैध रूपमा खोलाको प्राकृतिक बहाव नै परिवर्तन हुने गरी बालुवा निकालेर थुपारेका छन्। 

 
स्थानीय युवाहरू बालुवा निकालेको खाल्डामा डुवेर मृत्यु भएपछि आक्रोशित स्थानीयले डोजरमा लगाइदिएको आगो।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.