तिब्बतीलाई नागरिकता दिएकाे आरोपमा ८ जना पक्राउ
पोखरा : तिब्बती शरणार्थीलाई नेपाली नागरिकता उपलब्ध गराएको आरोपमा कास्कीमा ८ जना पक्राउ परेका छन्। पोखरा–१८ सराङ्कोटका लेखबहादुर थापाले २ नातिनीलाई छोरी बनाई नागरिकता दिलाएको आरोप छ। उनीसहित ८ जनालाई सोही आरोपमा कास्की प्रहरीले शुक्रबार पक्रेको हो।
तिब्बती शरणार्थीसँग बिहे गरेकी छोरीका छोरीलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाएको आरोप लेखबहादुरमाथि छ। उनलाई सघाएका स्थानीय र नागरिकता लिएकासहित ८ जना पक्राउ परेका हुन्। लेखबहादुरका नातिनी सरु र तासीआङ्मोले कास्की प्रशासनबाट जेठ २६ र असार ६ गते क्रमशः नागरिकता लिएका थिए।
लेखबहादुरकै छोरी हुन् भन्ने सर्जिमिन मुचुल्कामा दस्तखत गरेका स्थानीय बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगर समेत समातिएका छन्। लेखबहादुरले छोरी दाबी गरेका दुवै छोरी नभएको पुष्टि भएपछि पक्राउ गरिएको कास्की प्रशासन स्रोतले जनाएको छ। शुक्रबार समातिएका उनीहरू सबै ८ जना कास्की प्रहरीको हिरासतमा छन्। उनीहरूविरुद्ध झूटो विवरण पेस गरी नागरिकता लिएको शीर्षकमा मुद्दा चल्ने जानकारी कास्कीका सीडीओ चक्रबहादुर बूढाले दिए।
नागरिकता लिन पेस सबै कागजातमा दुवै युवतीका बाबुको नाममा लेखबहादुर थापाको नाम उल्लेख छ। जन्मदर्ता र विद्यालयको अभिलेखमा समेत सरु र तासीआङ्मोका बाबुको नाम लेखबहादुर उल्लेख छ। झूटो विवरणका आधारमा नागरिकता लिएको उजुरीमाथि कास्की प्रशासनले छानबिन गरेको थियो। छानबिनमा विवरण झूटो पुष्टि भएकाले पक्राउ गरिएको सीडीओ बूढाले बताए। ‘छानबिनले नातिनीलाई छोरी भनेर नागरिकता दिलाएको पुष्टि भयो’, उनले भने, ‘लेखबहादुरकी छोरीले तिब्बती शरणार्थीसँग बिहे गरेकी रहिछन्, नातिनीलाई नेपाली वंशजको नागरिकता दिलाउन झूटो विवरण पेस गरेका रहेछन्।’
पक्राउमाथि नागरिकता ऐन २०६३ अनुसार कारवाही अघि बढ्ने जनाइएको छ। कसुर प्रमाणित भए १–५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ। कास्की प्रशासनले उजुरी आउनासाथै ती युवतीको नागरिकता जफत गरेको थियो। उनीहरूले राहदानी भने लिन भ्याएका थिएनन्। नागरिकता लिएका दिदी बहिनीको उमेरको फरक ७ महिना मात्र छ। त्यसैका आधारमा छानबिन सुरु भएको थियो। यो प्रकरणमा कास्की प्रशासनले ४ कर्मचारीलाई पनि विभागीय कारवाही सिफारिस गरेको छ।