समृद्धिका तीन सूत्र

समृद्धिका तीन सूत्र

राष्ट्र विकासका क्रममा अभिव्यक्ति दिँदा होस् या व्यक्तिको आत्मविकास अनि राष्ट्रको सार्वभौमसत्ताको कुरा होस् या व्यक्तिको मनोविज्ञान होस्, सबैमा समृद्धि शब्द प्रयोग गर्न थालिएको छ। वास्तवमा यही नै उपयुक्त शब्द हो। किनभने, समृद्ध अर्थात् सम्पन्नता व्यक्तिको आत्मविकास र मनोविज्ञानमा झल्किन्छ भने हाम्रोजस्तो विकासोन्मुख राष्ट्रको समृद्धि भन्नाले आर्थिक विकास जसले लोकल्याणकारितासँग बढी सम्बन्ध राख्छ र समग्र जनताको कल्याणकारिता अभिवृद्धि गर्नु राष्ट्रका लागि प्राथमिक विषय बन्छ।

समृद्ध राष्ट्र निर्माणको नारा अगाडि बढिरहँदा व्यक्तिको व्यक्तिगत विकास पहिलो कसी हो भन्ने भुल्नु हुँदैन। राष्ट्रको गरिबी, शिक्षा–स्वास्थ्यको स्थिति, खाद्य सुरक्षाजस्ता सामाजिक आयामका पक्ष राष्ट्रिय समृद्धिले समेट्ने विषय हुन् । त्यसैले मानवीय विकास सूचकांक, मानवीय गरिबी सूचकांक, साक्षरता प्रतिशत, शिशु मृत्युदर, औसत आयुजस्ता सूचकांकलाई समृद्धिको प्रतीकात्मक परिसूचकका रूपमा लिने गरिन्छ । व्यक्तिको समृद्धिको अन्तिम मापन भने सुख, शान्ति र आनन्द नै हो। यही नै व्यक्तिको अन्तिम लक्ष्य हो र यसकै लागि व्यक्तिले अनेक संघर्ष र प्रपञ्च रचिरहेको हुन्छ। संघर्षका अनेक रूप छन्।

कस्ता कर्म रोज्ने भन्ने रोजाइ भने आफ्नै हातमा छ। शान्तिपूर्वक गरिने कर्मले पनि समृद्धिमा लैजान्छ भने उत्तेजना, अस्थिरता, अराजकता, भ्रष्टाचार, अनियमितता पनि संघर्षका पर्यायकै रूपमा लिएको छ मानिसले। त्यसैले आफ्नो भविष्यको खुसीका लागि यी मार्गहरू रोज्न बाध्य भएको अनुभूति धेरैले व्यक्त गर्छन् भने धेरैको अहंकारले यसलाई व्यक्त गर्न पनि मन मान्दैन र जीवनभर अराजकता र अनियमितताको माध्यमबाट समृद्धि खोज्नमा तल्लीन छन्। थोरै समझको विकास गरेर समृद्धि पाउने मात्र तीनवटा सूत्रमा केन्द्रित हुन सके राष्ट्रमा अराजकता र व्यक्तिको जीवनमा धेरै दुःख गर्नुपर्ने स्थिति आउने थिएन कि ? जानौं ती तीन सूत्रहरू जसलाई ओशोले आफ्नो प्रवचन शृंखला साधना पथमा जीवन र सफलता माथि खुलेर प्रकाश पार्नुभएको छ।

वर्तमानमा बाँच्नुस्  : बुद्धले भन्नुभएको छ, ‘विगतमा ध्यान नदेऊ, भविष्यको सपना नदेख, वर्तमानमा आफ्नो ध्यान लगाऊ।’ राष्ट्रको सत्ताको कुरा होस् या व्यक्तिको जीवन विगतका घटना, पश्चात्ताप, सुखसयल या सफलता, असफलताका कथा र भविष्यको चिन्तनले वास्तविकतामा बाँच्न दिँदैन। त्यसैले वर्तमानमा जहाँ जस्तो अवस्थामा छौं, त्यसलाई ख्याल गर्दै यो पाइलाबाट समृद्धि केलाई मान्ने हो र चाहना के हो थाहा पाउन सके अराजकता र अनियमितताको मार्गमा लाग्नु पर्दैन। आज व्यक्तिको मानसिकतामा हुने घटना होऊन् या राष्ट्र विकासका नाममा व्यक्तिमा बढ्दै गएका अमानवीयता, तनाव र अस्थिरताका कारण नै विगतमा आफूमा भएको कमजोरीको पश्चात्ताप र भविष्यमा सम्पन्न हुने लालसाले उत्पन्न गराएका भ्रम हुन्।

आजका मानिसले वास्तविक जीवन बाँच्न बिर्सेर भविष्यमा सम्पन्न हुने लालसा र त्यो पनि आफ्नो लागिभन्दा अरूलाई देखाउनका लागि देखावटी जीवन बाँच्ने लालसा राखेको पाइन्छ। यही लालसाले अहिलेको जीवन र आफूसँग जे छ, त्यो सम्पन्नतारूपी जीवन बाँच्न छाडेर भविष्यको कल्पनामा जे पनि गर्न बाध्य भएको देखिन्छ। जो आफ्नो साथमा छ, त्यो नै आफ्नो हो, वर्तमान नै आफ्नो हो त्यसैले राष्ट्र विकासको शपथ खाएका नेतृत्व वर्गले आफ्नो आचरण, पद, कर्तव्यपराणयता र लोककल्याणकारी कार्यमा लगाउन वर्तमानमै रहेर सोच्नुपर्छ। पहिले म सम्पन्न हुन्छु अनि मात्र राष्ट्रलाई बनाउँछु भन्दा समय आफ्नो हातबाट फुत्किसकेको हुनेछ र फेरि पश्चात्तापको जीवन बाँच्नुपर्ने हुन्छ। राष्ट्रलाई जे दिनु छ वर्तमानमा संकल्पसहित कार्य सुरु गरौं, अन्यथा आफ्नो कार्यक्षमता र अवसर दुवै व्यर्थमा खेर जानेछन्।

स्वयंको पहिचान र निजतालाई जान्न नसक्दासम्म समृद्धि सम्भव छैन राष्ट्रमा होस् या व्यक्तिगत जीवनमा।

सहजतामा बाँच्नुस्  : आजका मानिसका सबै व्यवहार कृत्रिम र औपचारिकतामा सीमित भएको महसुस हुन्छ। झूटको आवरणले बाहिर सजिएका छन् व्यक्तिहरू त्यसैले त स्वयंको र राष्ट्रको समेत विकासमा सघाउ पुग्न सकेको छैन। भित्रको अन्तर्चेतनाले के भनेको छ सुन्दैन व्यक्ति, बाहिरी व्यक्तिगत सफलता र स्वार्थका लागि अरूको जीवन र आत्मसम्मानमाथि नै खेलबाड गर्न पछि परेको हुँदैन। आफ्नो मौलिक स्वभावलाई पछि पारेर नक्कली भेष र नक्कली कामको माध्यमबाट आफूलाई चिनाउन, प्रतिष्ठित बनाउन तल्लीन देखिन्छ। बोल्छ एउटा, गर्छ अर्कै, सजिलै झूटा आश्वासनले अरूलाई त झुक्याउँछ नै, भित्रभित्रै आफैं झुक्किएको पत्तै नपाउने गरी व्यवहार गरेको हुन्छ। स्वस्थ शरीर, मन र हृदयलाई मौलिकतामा फैलिन नदिएर अनेक आडम्बरका कारण अस्वस्थ बनाएको हुन्छ र निदाउनसमेत औषधिको सहारा लिन पुग्छ।

क्षणिक सुख, रमाइलो र सम्पन्नताका लागि दीर्घकालीन खुसी गुमाइरहेको हुन्छ। आफ्नो प्राकृतिक, मौलिक स्वभाव र सहजतामा बाँच्ने र त्यहीअनुसारको व्यवहार गर्ने हो भने व्यक्ति आफ्नो जीवनमा पनि आनन्दित र खुसीपूर्वक बाँच्न सक्छ भने उसले गर्ने शान्तिपूर्ण व्यवहारले अरूलाई समेत खुसी दिन्छ तब पो झल्किन्छ समृद्धिको ऊर्जा।

निजतामा बाँच्नुस् : मानिस एक्लै जन्मिन्छ र एक्लै संसार छोडेर जान्छ। जीवनकालमा जति पनि सम्बन्ध जोडिन पुग्छन्, ती सबै उसका लागि उपहार हुन्। जे पाएको छ त्यो पनि एक दिन यही संसारमा छोडेर खाली हात जानुपर्छ। कतिबेला जाने हो समेत ठेगान छैन र पनि आफ्नो स्वार्थ र खुसीका लागि अरूलाई ठग्न, भ्रष्टाचार गर्न, हिंसा र दुव्र्यवहार गर्न अनि अरूको जीवनसमेत लिन पछि पर्दैन ? किनकि, व्यक्तिले जीवनको मूल्य बुझेको छैन र आफ्नो निजतामा बाँच्न जानेको छैन। आफ्नो खुसी आफैंमा खोज्ने कलाको अभाव र बाहिरी प्रभावमा खुसी देख्ने आदतका कारण व्यक्ति सामाजिक प्राणी भएर पनि असामाजिक बन्दै गएको हुन्छ। आफू अरूबाट जे चाहन्छ अरूलाई त्यही दिन किन तत्पर हुँदैन ?

किन आफ्नै नजिककालाई दबाउन खोज्छ, लुट्न खोज्छ र सम्पन्नता र खुसी आफ्नो मात्र होस् भन्ने चाहन्छ ? किन मै खाऊँ, मै लाऊँ अरू सब मरून् दुर्बलहरूको व्यवहार देखाउँछ ? किन आफैंमा रमाउन सक्दैन ? किन आफ्नो तर्फबाट अरूलाई गरौं भन्ने कल्याणकारी भावना पैदा हुँदैन ? किन भीडले जे गर्‍यो त्यही गर्नमा आतुर हुन्छ ? आफ्नो मौलिक स्वभावको प्रयोग गरेर सत्कर्ममा, सत्संगमा लाग्न खोज्दैन मानिस त्यसैले त समृद्धिको आधार र मापन भेटेको छैन राष्ट्रका लागि र स्वयंको जीवनमा। आफ्नो भरोसा र आचरणमा जिउने कला जान्न खोजेको छैन। अरूकै देखासिखीमा अराजकता, अनियमितता र भ्रष्ट आचरणमा आफ्नो जीवन व्यतीत गरेको छ। स्वयंको पहिचान र निजतालाई जान्न नसक्दासम्म समृद्धि सम्भव छैन राष्ट्रमा होस् या व्यक्तिगत जीवनमा।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.