कर्मचारी सरुवा, उपचार ठप्प
सिन्धुली : सिन्धुली अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीसहित ५७ जना कर्मचारीको एकै पटक सरुवा भएपछि बिमारीको उपचारमा समस्या भएको छ। अस्पतालका ६४ जना स्थायी कर्मचारी सबैको एकै पटक सरुवा भएको थियो। सरुवा भएमध्ये ५७ जनाले अस्पताल छाडेर हिँडेपछि बिमारीको उपचार गर्नसमेत समस्या भएको अस्पताल प्रशासनले जनाएको छ।
प्राविधिकतर्फ ६ र प्रशासनिकतर्फ १ गरी सात जना कर्मचारी मात्र अस्पतालमा बाँकी रहेको अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन्। उनीहरूको पनि सरुवाको चिठी आइसकेको उनले जानकारी दिइन्।
डाक्टर गौतमको पनि सरुवा पत्र आएको छ। उनी पनि केही दिनभित्रै सरकारले खटाएको ठाउँमा जाने तयारीमा छिन्। प्रदेश सरकार मातहत रहेको सिन्धुली अस्पतालका अधिकांश चिकित्सक तथा प्राविधिकले कर्मचारी समायोजनमा आवेदन दिएका कारण सिन्धुली अस्पताल विशेषज्ञसहित कर्मचारीविहीनजस्तै बनेको हो।
‘समायोजनमा परेका सबै कर्मचारीले संघ र स्थानीय तह रोजेका कारण अस्पतालमा यस्तो अवस्था आएको हो’, गौतमले भनिन्। अस्पतालका प्राविधिक तथा विशेषज्ञ चिकित्सकको एकै पटक सरुवा भए पनि अस्पतालमा अन्यत्रबाट सरुवा भई आउनेको कुनै खबर नआएको उनले बताइन्। ‘अस्पतालमा सरुवा भई आउने कोही छैनन्, खालि जाने मात्रै छन्। सबै चिकित्सक एकैपटक अस्पताल छाडेर हिँड्दा बिमारीको उपचारमै समस्या भएको छ’, गौतमले भनिन्।
अस्पतालमा दैनिक तीन सय जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। तर, चिकित्सक नहुँदा भएका एक/दुई जना डाक्टरले बिहानदेखि साँझसम्म बिमारीको उपचारमा खट्नुपर्ने बाध्यता छ।
कर्मचारी नहुँदा जुनसुकै बेला सेवा बन्द हुने अवस्था आएको भन्दै अस्पताल व्यवस्थापनले चिन्ता व्यक्त गरेको छ। अस्पताल नै बन्द हुनेगरी एकै पटक सबै कर्मचारीको सरुवा भए पनि कहाँबाट को सरुवा भएर आउने यकिन नहुँदा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए। ‘हामीले प्रदेश र केन्द्र सरकारलाई अस्पतालमा कर्मचारी नहुँदाका समस्याबारे जानकारी दिए पनि सुनुवाइ भएन’, उनले भने, ‘अस्पताल नै बन्द हुनेगरी कर्मचारी सरुवा भएपछि सरुवा भई जाने कर्मचारीलाई रमना पत्र रोक्ने तयारी गरेका छौं।’ वर्षाको समय भएकाले दैनिक बिमारीको संख्या बढ्दै गए पनि चिकित्सक सरुवा भएपछि अस्पताल सञ्चालन गर्नै समस्या भएको पोखरेलको गुनासो छ। सिन्धुली अस्पताल जिल्लाकै सबैभन्दा ठूलो ५० शड्ढयाको अस्पताल हो।