लामो रुटमा हुँदैनन् दुई चालक

लामो रुटमा हुँदैनन् दुई चालक

धादिङ : नियमबमोजिम रात्री तथा लामो रुटका बसमा दुई चालक हुनुपर्छ। तर एक जना चालकले मात्र चलाउने गरेको पाइएको छ। नियमपालन नगर्दा दुर्घटना बढेको ट्राफिक प्रहरीको निष्कर्ष छ। एक जनाले मात्र गाडी चलाउँदा थाक्ने, निदाउनेजस्ता कारणले दुर्घटना बढ्न थालेपछि सरकारले दुई चालक हुनैपर्ने नियम बनाएको थियो।

चालक निदाउनु दुर्घटनाको मुख्य कारक रहेको धादिङका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर नेत्रप्रसाद भट्ट बताउँछन्। सर्लाहीको मलंगवाबाट काठमाडौं जाँदै गरेको बस बिहीबार बिहान साढे ३ बजेतिर पृथ्वी राजमार्गको सलाङघाटबाट त्रिशूलीमा खस्यो। ९ जनाको ज्यान गयो। १६ जना घाइते भए। २० भन्दा बढी हराइरहेको आशंका प्रहरीले गरेको छ। उनीहरूको खोजी जारी छ। ‘दुर्घटनामा चालकको लापरवाही प्रमुख कारण रहेको हाम्रो अनुमान छ। सडकछेउको कल्र्भटमा गाडी ठोक्किएर १५ मिटरजति परबाट नदीमा खसेको देखिएको छ’, उनी भन्छन्, ‘दुर्घटनास्थलको भूबनोट हेर्दा त्यति धेरै दुर्घटनाको जोखिम रहेको ठाउँ होइन। ’

उनका अनुसार चालक बोल्नै नसक्ने अवस्थामा रहेकाले सत्यतथ्य बाहिर आएको छैन। एउटै चालकले लामो समय सवारी चलाउँदा थाकेको र बिहानीपख चिसो वातावरणमा चालक निदाएको हुन सक्ने प्रहरीको अनुमान छ। बसमा चालक र सहचालकबाहेक अर्का एक जना पनि थिए। उनी अतिरिक्त चालक थिए÷थिएनन् पुष्टि हुन सकेको छैन। प्रायः सवारीधनीले अतिरिक्त चालकका रूपमा सिकारु चालक राखी सुरक्षा जाँचका बेला सुतेको छ भनेर ढाँट्ने गरेको जानकार बताउँछन्। लामो दुरीका सवारी चलाइरहेको महाकाली यातायात व्यवसायी समितिका अध्यक्ष डम्बर पन्तले सबै सवारीधनीलाइ २ चालक अनिवार्य राख्न निर्देशन गरिएको बताए। उनले भने, ‘एक त लामो दुरीका चालक थोरै छन्, त्यसमा पनि दक्ष नभएकाले सवारीधनीलाई चालक ब्यवस्थापन गर्न समस्या भइरहेको छ। ’

राजमार्गका मुख्य चेक प्वाइन्टमा पनि सवारीधनीले चालक फेरिएको भन्ने गरेका छन्। ‘मुख्य चेकजाँच गर्ने ठाउँ आँपटारी, मुग्लिन, गजुरीलगायतमा सामान्यतः सोधपुछ भइरहेको हुन्छ’, ट्राफिक प्रहरी प्रमुख भट्ट भन्छन्, ‘सवारीधनी र चालक भर्खरै परिवर्तन भयो भन्छन्। यात्रु मौन बस्छन्। ’ महेन्द्रनगरबाट आएको रात्रीबसका एक यात्रु शनिबार बिहान मलेखुमा चिया पिउँदै थिए। उनले भने, ‘गाडी स्टाफ भनेर २÷४ जना देखिएका त थिए तर बाटोमा चालक परिवर्तन भए÷नभएको यादै भएन। ’

लामो यात्रा गर्दा यात्रु सचेत हुुनुपर्ने ट्राफिक प्रहरी प्रमुख भट्ट बताउँछन्। ‘जहाँतही चेक गर्न मिल्दैन। ठाउँ हेरेर बेला–बेला चेक गर्दा पनि यात्रुबाटै विरोध आउँछ। भर्खरै परिवर्तन भएको भनिदिन्छन्’, उनी भन्छन्, ‘राति धेरै अवरोध गरेर चेक गर्न पनि नमिल्ने, अतिरिक्त चालकको लाइसेन्स अथवा व्यक्ति खोजेका बेला यात्रु अरूभन्दा पहिले उता सुतेको छ भनिदिन्छन्। ’ दुई चालक राख्नुपर्ने नियम बनाइए पनि त्यसलाई कार्यान्वयन गराउने जिम्मेवार निकायको गैह्रजिम्मेवारीले गर्दा समस्या भइरहेको उनी बताउँछन्।

महाकाली यातायातकै गाडी चलाइरहेका महेन्द्रनगरका चालक सुवास भट्टले भने सबै समितिले २ चालक राख्न नसकेको बताए। ‘हाम्रो समितिमा धेरै गाडी छन्, दैनिक होल्डमा थुप्रै गाडी हुन्छन्’, उनले भने, ‘संस्थागत रूपमै होल्डमा बसेका चालकलाई अतिरिक्त चालकमा पठाउने गरेको छ, हामीले आलोपालो नै चलाउने गरेका छाँै। ’ हेभी गाडी चलाउन सक्ने दक्ष चालक उत्पादनका लागि राज्यले नै बेवास्ता गरिरहेकाले सबै समितिले गाडीमा २ जना चालक राख्न सक्ने अवस्था नरहेको पनि उनले बताए।

पछिल्लो समय लामो दुरीका ठूला सवारीसाधनको संख्याका आधारमा लाइसेन्सप्राप्त चालक थोरै रहेकाले नियम लागू गर्न कठिन भएको पन्तले बताए। ‘खलासी भएर त्यत्तिकैमा सिकेर चालक बनेकाहरू धेरै नै छन्’, उनले भने, ‘प्राविधिक ज्ञानको कमी हुनु र दक्षता पनि नहुनुले धेरैजसो दुर्घटना निम्तिरहेको छ। ’ दक्ष चालक थोरै भएकै कारण अहिले सरकारलाई सातवटै प्रदेशमा दक्ष चालक उत्पादन तालिम सेन्टर खोल्न आग्रह गर्दै समितिले पहल गरिरहेको पन्तले बताए।

चालक नै सिकारु

गजुरी गाउँपालिकास्थित बन्छेटारमा जेठ ५ गते झापाको काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना भयो। ९ जनाले ज्यान गुमाए। यात्रुका अनुसार चालक फेरिएपछि दुर्घटना भएको थियो। गजुरीस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचारका क्रममा यात्रु फणिन्द्रबहादुर कार्कीले भनेका थिए, ‘दुर्घटना हुनुभन्दा केही समयअघि तेल हाल्ने ठाउँमा चालक फेरिएको थियो। त्यसपछि गाडीको गति फरक भयो। एक्कासि दुर्घटनामा पर्‍यौं। ’

सवारीसाधन सञ्चालक समिति र सवारीधनीसँग सम्बन्धित सबैलाई बेला–बेला दुई चालक राख्ने नियमबारे जानकारी गराइरहेको भट्ट बताउँछन्। ‘अब चाडपर्व पनि आइरहेको छ। रात्रीबस र लामो दूरीका सवारीलाई विशेष निगरानीमा राख्ने योजना बनाइरहेका छौं’, उनी भन्छन्। ट्राफिक नियम मात्र कार्यान्वयन हुने हो भने ९० प्रतिशत दुर्घटना कम हुने प्रहरी अधिकारी बताउँछन्।


बेपत्ताको खोजी ३ जिल्लामा
जिल्ला प्रशासन कार्यलय धादिङले सलाङघाट दुर्घटनामा हराइरहेका यात्रुको खोजी प्रभावकारी बनाउन ३ जिल्लामा समन्वय गरेको छ।  धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेको अगुवाइमा तीनवटै सुरक्षा निकायका अधिकारी सम्मिलित टोलीले आइतबार चितवन, तनहुँ र पूर्वी नवलपरासी पुगेर सीडीओसँग खोजी कार्य प्रभावकारी बनाउन आग्रह गरिएको छ। 

धादिङका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारले भने, ‘अहिले पनि खोजतलास जारी छ, तर अझै प्रभावकारी खोजी गरिदिन आग्रह गर्दै जिल्ला जिल्लामा पुगेका हांै। ’ बगाएका सामान तैरिने त्रिशूलीका सबै सम्भावित ठाउँमा प्रहरीको निगरानी बढाइएको बैदवारले जानकारी दिए।  बगाएका सामान र शव धेरैजसो नवलपरासीको त्रिवेणी बाँधमा फेला पर्ने भएकाले त्यहाँ कुनै शव भेटिए जानकारी गराउन आग्रहसमेत गरिएको छ। 

हालसम्म दुर्घटनामा मृत्यु भएका ९ जनाको शव फेला परेको छ।  आइतवार पनि तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ मा निर्माणाधीन पुलमा अड्किएको एउटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी भोलामानसिंह अधिकारीले बताए।  उनले भने, ‘शव दुर्घटनामा परेकै बसको यात्रु हो होइन सनाखत भएको छैन, शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ। ’ शुक्रबार सर्लाहीको मलंगवामा चालकसहित ४५ जना यात्रु बोकेर आएको ना ६ ख ७४६९ नम्बरको बस धादिङको सलाङघाटमा दुर्घटना हुँदा २० भन्दा बढी यात्रु बेपत्ता छन्। 

बेपत्ता १२ यात्रुका परिवारले आफ्ना मान्छेबारे सोधपुछ गरिरहेकाले सास फेला पार्न नसके पनि लाश भने पनि फेला पार्न सकिने आसमा खोजी जारी राखिएको बैदवारले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.