सागको अन्योलता कायमै

सागको अन्योलता कायमै

भारतको गुवाहाटीमा सन् २०१६ फेब्रुअरी १६ मा सम्पन्न बाह्रौं सागको समापन समारोहमा नेपालले तेह्रौं साग आयोजनाको अधिकार प्राप्त गर्दा इन्दिरा गान्धी स्टेडियममा नेपाली टोलीको सान ठूलै थियो।

तत्कालीन युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले तेह्रौं साग आयोजनाको झण्डा ग्रहण गरेका थिए। नेपालले आयोजनाको अधिकार पाए पनि सागको मिति पटकपटक सर्दै गयो। यसबीचमा नेपालमा दलजित श्रीपाली, राजेन्द्रकुमार केसी र जगतबहादुर सुनार (विश्वकर्मा) सहित चारजना युवा तथा खेलकुदमन्त्री भए। सबैले समयमै साग हुने बखान गरिरहे। तर, समग्र राष्ट्रकै प्रतिष्ठासँग जोडिएको तेह्रौं साग आयोजनाको विषयमा सरकार र खेल पदाधिकारी उदासीन नै देखिए। निर्धारित मिति चौथोपटक सर्दैै पछिल्लोपटक साग आगामी डिसेम्बर १ देखि १० सम्म आयोजनाको नयाँ मिति तय भएको छ।

तर पनि तेह्रौं सागको अन्योल कायम छ। सागका लागि पर्याप्त वातावरण बन्न सकिरहेको छैन। साग आउन करिब चार महिना मात्र बाँकी छ। साग आयोजनाको प्रमुख जिम्मेवार नेपाल सरकार र सम्बन्धित निकायले अझै खुलेर साग हुने किटान गर्न सकिरहेका छैनन्। खेलकुदका लागि आवश्यक खेल सामग्री उपलब्ध हुन सकेको छैन। सागका लागि अधिकांश खेल सामग्री विदेशबाट झिकाउनुपर्ने हुन्छ। जसका लागि नेपालको झन्झटिलो खरिद प्रक्रिया र भन्सार प्रणाली वाधक बन्ने देखिन्छ।

सागको कार्यविधि अझैसम्म बनिसकेको छैन। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आवश्यक कार्यविधि बनाएर युवा तथा खेलकुद मन्त्रालयमा पठाएको छ। मन्त्रालयबाट संसद्मा पुगेको कार्यविधि विचाराधीन छ। भौतिक संरचना निर्माणका काम पूरा नभएको अवस्था छ। सागका लागि आवश्यक ठानिएको पाँच अर्बभन्दा बढी बजेटको व्यवस्था सरकारले अहिलेसम्म गरेको छैन। सागका लागि गठन भएका समिति सुस्त देखिन्छन्। साग आयोजनामा मात्र होइन, पदक र उपलब्धिका दृष्टिले पनि नेपाललाई इज्जत जोगाउन आवश्यक छ, जसका लागि नेपाली खेलाडीको तयारी र प्रशिक्षणसमेत पर्याप्त बन्न सकेको छैन। सागलाई भारत र पाकिस्तानबीचको द्वन्द्वले पनि थप अन्योल बनाइदिएको छ। सहभागी सात देशमध्ये पाकिस्तानले अझै सहभागिताको ग्यारेन्टी गरिसकेका छैनन्।

यद्यपि, सरकारी अधिकारी बजेट र पूर्वाधारका कारण साग नरोकिने बताउँछन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बजेट र पूर्वाधारका कारण साग नरोकिने ठोकुवा गरिरहेका छन्। ‘सागको माहोल बनिरहेको छ। माहोल बनाउनुपर्ने बेलामा निराश बन्नु हुन्न। राखेपको एउटै अर्जुनदृष्टि भनेको निर्धारित समयमै साग सम्पन्न गर्नु हो। सागका लागि हरेक काम फास्ट ट्र«्याकबाट हुनेछ’, सिलवाल भन्छन्। सिलवालले सागका लागि सबै भौतिक पूर्वाधार कात्तिक १५ गतेसम्म तयार भइसक्ने पनि बताए।

 पूर्वाधार निर्माणको अवस्था

साग खेलकुदको मुख्यस्थल काठमाडौंको दशरथ रंगशाला र पोखरा रंगशाला हो । दुवैको पुनर्निर्माण कार्य जारी छ । दशरथ रंगशालाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । भीआईपी प्यारापिटमा छानो हाल्ने कामबाहेक अन्य संरचना निर्माण लगभग सम्पन्न भइसकेको छ। पोखरा रंगशाला यसअघि ‘एस्ट्रेटर्फ’ बनाउन लागिएको थियो। भर्खर त्यसलाई रद्द गरेर पुनः प्राकृतिक मैदान बनाउने काम सुरु भएको छ ।

३५ वर्षको बीचमा नेपालले तेस्रोपटक साग आयोजनाको जिम्मेवारी पाउँदा भौतिक पूर्वाधार निर्माणले पनि खेलकुदमा विशेष अर्थ राख्छ। पहिलो संस्करण १९८३ मा आयोजना हुँदा नेपालमा भौतिक पूर्वाधार निर्माण उत्साहजनक थियो। त्यसपछि सन् १९९९ मा नेपालले दोस्रोपटक आठौं साग आयोजना गर्दा चीन सरकारको सहयोगमा काठमाडौंको दशरथ रंगशाला र सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुदपरिसरमा सुविधासम्पन्न भौतिक पूर्वाधार बनेका थिए। २० वर्षपछि आइपुग्दा अहिले अधिकांश त्यही पुरानो संरचनालाई मर्मतसंहार गरिएको छ।

सागका लागि संघीय संसद् प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले यसै साता साग तयारीको अनुगमन तथा निरीक्षण गर्न उपसमिति गठन गरेको छ। समितिले सदस्य जीवनराम श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरेको हो। उपसमितिलाई सागको तयारी र व्यवस्थापनका कामकारबाही हेर्ने कार्यविधि तोकेको छ। उपसमितिका संयोजक श्रेष्ठ दक्षिण एसियाली ओलम्पिक काउन्सिलको अध्यक्ष पनि हुन्।

२७ खेल र नेपालको तयारी

छोटो तयारीका कारण बाह्रौं साग नेपालको लागि पदकको हिसाबले सोचेजस्तो बन्न सकेको थिएन। बाह्रौं सागमा नेपालले कम्तीमा १० स्वर्ण जित्ने अपेक्षा गरेको थियो। तर, नेपालले जम्मा तीन स्वर्णमै चित्त बुझाउनुपर्‍यो। जुडो र उसुबाट नेपालले एकएक स्वर्ण जितेको थियो। पदकको आशा गरिएको तेक्वान्दो स्वर्णविहीन बन्दै घर फर्किएको थियो। बाह्रौं सागमा नेपालले दक्षिण एसियामै गर्व गर्नलायक स्वर्ण फुटबलमा जितेको थियो। पदक तालिकामा समग्र छैटौं स्थानमा रहेको नेपालले तीन स्वर्णसहित २३ रजत र ३४ कास्य पदक जितेको थियो। पदकका लागि तयारी र आयोजक देशको हिसाबले यसपटक पनि नेपालको अवस्था कमजोर छ।

तेह्रौं सागका लागि खेलाडीको तयारी दुई महिना अघिबाट सुरु गरेको छ। अन्य राष्ट्रले भने लामो समयदेखि तयारी गरिरहेका छन्। तेह्रौं सागमा २७ खेल समावेश गर्ने निर्णय यसअघि नै भइसकेको छ। काठमाडौं उपत्यका र पोखरामा सञ्चालन हुने तेह्रौं सागमा ह्यान्डबल, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, स्विमिङ, टेबलटेनिस, तेक्वान्दो, लनटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, क्रिकेट, प्याराग्लाइडिङ, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल, कराँते र गल्फ समावेश गरिएको छ। नेपालले आयोजक राष्ट्रको हिसाबले कराँते र गल्फ खेल थप्ने निर्णय गरेको थियो।

नेपाललाई अन्तिम मौका

साग खेलुकद नेपालमा तेस्रोपटक हुन लागेको हो। साग खेलकुदको पहिलो संस्करण सन् १९८३ मा काठमाडौंबाटै सुरु भएको थियो। त्यस्तै, दोस्रोपटक सन् १९९९ मा आठौं साग खेलकुदको आयोजना नेपालले गरेको थियो। अब सन् २०१९ मा नेपालमा हुन लागेको यो तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता तेस्रोपटक हो। दुईदुई वर्षमा आयोजना हुनुपर्ने प्रतियोगिताले सधैं निरन्तरता पाउन सकेको छैन। दक्षिण एसियाली खेलकुद आयोजक राष्ट्रको आन्तरिक व्यवस्थापन, छिमेकी राष्ट्रसँगको सम्बन्ध र दैवी प्रकोपजस्ता कारणले पछिल्ला संस्करणहरू निर्धारित समयमा भएका छैनन्।

सन् १९७७ को एसियन फेडरेसनको बैठकपछि दक्षिण एसियाली खेलकुदको परिकल्पना गरिएको थियो। सोहीबमोजिम सन् १९७८ मा पहिलो संस्करणले बंगलादेशले आयोजना गर्ने भनिए पनि भारत र पाकिस्तानको चिसिएको सम्बन्धका कारण हुन सकेन। त्यसपछि सन् १९८३ मा नेपालले सो खेलकुद आयोजना गरेको थियो। पहिलो संस्करणमा नेपालले एक सय पाँच खेलाडीलाई मैदानमा उतारेको थियो। यसमा नेपालले चार स्वर्ण, १२ रजत र आठ कास्यसहित २४ पदक जितेर तालिकामा चौथो स्थान ओगटेको थियो।

नेपालमै आयोजना भएको आठौं दक्षिण एयिाली खेलकुदमा नेपाल उत्कृष्ट प्रदर्शनसहित पदक तालिकामा दोस्रो स्थानमा रह्यो। बाह्रौ सागसम्म आइपुग्दा ठूलो फट्को मार्नुपर्नेमा नेपालको स्तर झनै खस्किएको छ। यसपटक पुनः आफ्नै देशमा आयोजना हुन लागेको तेह्रौं सागमा त्यही उपलब्धि दोहोर्‍याउन नेपालले ठूलै कसरत गर्नुपर्ने देखिन्छ। निर्धारित समयमा भएन भने नेपालले साग आयोजनाको अधिकार गुमाउने छ। त्यसैले नेपालका लागि साग आयोजना र उपलब्धिको दृष्टिले अन्तिम मौका हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.