गाईजात्रामा प्रहसनको रौनक घट्यो

गाईजात्रामा प्रहसनको रौनक घट्यो

काठमाडौं : कुनै बेला कलाकारले स्टेजमा गर्ने गाईजात्रा महोत्सवको रोनक निकै धूमधाम हुन्थ्यो। गाईजात्रा महोत्सवप्रति दर्शकको रुचि र उत्साह हेर्न लायक हुन्थ्यो। प्रज्ञा प्रतिष्ठान र वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा महोत्सव हेर्न आउनेको लर्को लाग्थ्यो। हाँस्नकै लागि दर्शक त्यहाँसम्म पुग्न तँछाडमछाड गर्थे। तर देशका ठूला नेतादेखि सर्वसाधारणको घुइँचो लाग्ने गाईजात्रा महोत्सव पछिल्लो समय परम्पराको निरन्तरता मात्र बनेको छ।

अहिलेको महोत्सवमा न त हाँस्न दर्शकको बाक्लो जमघट हुन्छ न त कलाकारबीच कस्ले बढी हँसाउने भन्ने प्रतिस्पर्धा नै चल्छ। टिकट काटेर दर्शक महोत्सव हेर्न आउने परम्परा पनि स्वात्तै घट्यो। हास्य कलाकार जितु नेपाल (मुन्द्रे) भन्छन्, ‘टिकट काटेर गाईजात्रे महोत्सव हेर्न दर्शक आउनै छाडिसके। त्यसमाथि लगानी उठाउनै गाह्रो छ।’

महोत्सवको रौनक घट्नुमा महोत्सव गर्ने स्थानको भाडा महँगो हुनु र एकैखालको विषयवस्तु भएको अर्का हास्य कलाकार शिवहरि पौड्यालको भनाइ छ। हलभाडा झन्डै एक लाख २० हजार लाग्छ’, उनी भन्छन्, त्यसमाथि विषयवस्तु एकै किसिमको हुँदा दर्शकमा महोत्सवप्रतिको चासो हराउँदै गएको हो।’

महोत्सवको रोनक घट्नुमा तीन सय ६५ दिन नै देशमा गाईजात्रा हुनु मुख्य कारण रहेको हास्य कलाकार तथा फिल्म निर्देशक दीपा श्री निरौला बताउँछिन्। ‘सधैं गाईजात्रा हुने देशमा दर्शक हलसम्म किन फेरि गाईजात्रा नै हेर्न आऊन्।’

यो जात्रामा विशेषतः वर्ष दिनभित्र आफन्तजन गुमाउने परिवारले मृतकको सम्झनामा सडकमा गाई तथा गाईकै भेषमा मानिसलाई नै रंगरोगन गरेर झाँकी निकाल्ने चलन छ।

विक्रमसंवत् १६४१ सालदेखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधन हुँदा रानी निकै शोकमा थिइन्। धेरै समय बितिसक्दा पनि रानीले सामान्य जीवनयापन गर्न नसकेपछि राजाले वर्षभरिमा राज्यमा मृत्यु भएका नागरिकका आफन्तलाई गाईसहित दरबार अगाडिबाट रानीले देख्ने गरी जात्रा निकाल्न आह्वान गरे। यसले रानीको अनुहारको खुसी छाओस्। मृत्युलाई जीवनको अनिवार्य प्रक्रिया भएको बुझाउन गाईजात्रा मनाएर हसाउने चलन राजा प्रताप मल्लको पालामा चलेको हो। त्यसपश्चात् उक्त नौलो जात्राले अहिलेसम्म निरन्तरता पाइरहेको छ। समयक्रमसँगै गाईजात्रामा हाँस्ने हँसाउने, ठट्ट्यौली र चुट्किला भन्दै प्रहसनको आयोजनासमेत गरिन थालिएको हो।

विगत केही वर्षदेखि प्रहसन खासै भएका छैनन्। कमेडीका राजा मानिने मह जोडी लामो समयदेखि स्टेज कार्यक्रममा निष्क्रिय छन्। गाईजात्रा महोत्सवको चहलपहल नहुनुमा कार्यक्रम स्थलको अभाव, महँगो हल भाडा र गहकिलो विषयवस्तुको छनोट गर्न नसक्नु पनि हो। होइन भने यतिबेला हास्य कलाकारलाई महोत्सवको तयारीमा जुट्न, रिहर्सल गर्न भ्याइँनभ्याइ हुन्थ्यो।

पछिल्ला केही वर्षमा चर्चित हास्यकलाकार चलचित्र निर्माणमा होमिन थालेपछि गाईजात्राको रोनक अझै घटेको हो। हास्य कलाकार शिवहरि पौड्याल यतिबेला फिल्म ‘लक्का जवान’ को लोकेसन हेर्न व्यस्त छन्। उनले यसपालि गाईजात्रा नगर्ने बताउँदै भने, ‘फिल्मको सुटिङमै व्यस्त हुन्छु।’

शिवहरि मात्र होइन प्रख्यात हास्य जोडी दीपक दीपा पनि फिल्ममै व्यस्त रहने छन्। ‘छ माया छपक्कै’ को सुटिङमा व्यस्त भएको बताउँदै दीपा श्री निरौलाले भनिन्, ‘यसपालि गाईजात्राकै दिन मात्र गाईजात्रा मनाउँछौं।’ त्यसैगरी जितु नेपाल (मुन्द्रे) विदेश भ्रमणमा रहने भएकाले गाईजात्राका कुनै पनि कार्यक्रममा सहभागी हुने छैनन्। नेपाल फर्किएलगत्तै फेरि चलचित्रको काममा व्यस्त रहने उनले बताए।

विगत लामो समयदेखि सामाजिक सेवामा सक्रिय धुर्मुस–सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे) ले पनि नयाँ फिल्म बनाउने घोषणा गरिसकेका छन्। किरण केसीलगायत मह जोडी पनि यसपालि आ–आफ्नो कार्य व्यस्ततामा रहने छन्। समग्रमा हास्यकलाकारको जम्बो टोली नै महोत्सवमा सहभागी हुने छैनन्। यसबाट गाईजात्राको माहोल यसै पनि सुनसान हुने नै भयो।

अहिले सिनेमा नै दर्शक हँसाउने नयाँ माध्यम बनेका छन्। हास्य कलाकार फिल्म बनाउन लागेका छन्। फिल्ममा हास्यव्यंग्य विधाको बढी प्रयोग हुन थालेपछि कलाकारको गाईजात्रा प्रवृत्ति चलचित्रको पर्दामा समेत देखिन थालेको छ। तर जितुका अनुसार अहिलेका कमेडी चलचित्र गाइजात्रा शैलीमा पुगिसकेका छैनन्। ‘पछिल्लो समय एउटाको चलचित्र चलेपछि अर्कोले पनि कमेडी फिल्म नै बनाउँदा माहोल केही हदसम्म गाईजात्रामय भएको हुन सक्छ,’ उनले भने।

अर्को तर्फ युट्युब च्यानलका गाईजात्रे गीति नाटकले गर्दा गाईजात्रा महोत्सवको आकर्षण घट्दै गएको छ। जितुका अनुसार युट्युबका गाईजात्रा विशेषले माहोल झनै बिगारेको छ। उनी भन्छन्, ‘गाईजात्रा जसले पनि गर्न पाउनुपर्छ तर अनुशासनमा बसेर गर्नु पर्‍यो।’ युट्युबमा आएका गाईजात्रा विशेषमा हास्य चेत नभएको र सन्देशमूलक हुन नसकेको उनले बताए।

जितुको जस्तै धारणा राख्दै हास्य कलाकार दमन रूपाखेती भन्छन्, ‘अहिले गुणात्मकभन्दा संख्यात्मक रूपमा गाईजात्रा विशेष हुने गरेको छ।’ समाजमा गाईजात्राको नाममा छाडापन मौलाएको पनि उनले बताए। पछिल्लो समय पुराना हास्य कलाकारभन्दा नयाँप्रति दर्शकको रुचि बढेको छ। ‘तर अहिले आएका नयाँ पुस्ताका हास्यकलाकारमा हास्य चेतको कमी छ’, उनले भने। आफ्नो समाजको धरातल बुझ्ने र बिम्बात्मक व्यंग्य गर्न सक्नेले मात्र वास्तविक हास्य कलाकार भएको उनी बताउँछन्। ‘अहिलेको गाईजात्रा महोत्सवमा यस्ता कलाकारको कमी छ’, उनले भने।

यी सबैका बाबजुद हास्य कलाकारको एक समूहले यसपालिको गाईजात्रा विशेष कार्यक्रम देशका सातै प्रदेशमा गर्ने बताइसकेका छन्। ब्रान्डवर्थ प्रालिका कार्यकारी निर्देशक तथा हास्य कलाकार मोहन गजुरेलले गाईजात्रा विशेष कार्यक्रममा नेपालका चर्चित कलाकारको सहभागिता रहने बताए। गजुरेलले गाईजात्रा सिंगो देशको पर्व भएकाले देशभर लैजाने प्रयास गरिने समेत बताएका छन्।

यसपालि मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी, रवि डंगोल, शिवशंकर रिजाललगायत कलाकारले बोझिलो विषयवस्तुमा हँसाउन सक्छन् कि सक्दैनन् त्यो भने हेर्न बाँकी नै छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.