डेंगु नियन्त्रणबाहिर

डेंगु नियन्त्रणबाहिर

काठमाडौं : डेंगुबाट सुनसरीमा मात्रै ३ हजारभन्दा बढी बिरामी भएका छन्। त्यसपछि मकवानपुर र तेस्रोमा मोरङ प्रभावित भएका छन्। यी जिल्लामा औषधोपचारपछि पनि रोग नियन्त्रणमा आएको छैन।

आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने, शरीरमा बिमिरा देखिनेलगायत लक्षण देखापरेका बिरामी फेला परेका छन्। शरीरका विभिन्न भागबाट रक्तस्राव भई ज्यान जाने जटिलता भने नदेखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आइतबारसम्ममा सुनसरीमा ३ हजार २५ जनामा डेंगु संक्रमण देखिएको छ। मकवानपुरमा ८३ र मोरङमा ८१ व्यक्ति संक्रमित रहेको महाशाखाको तथ्यांक छ। यो वर्ष डेंगुबाट ३ हजार ४ सय २५ जना पीडित भएको महाशाखा निर्देशक डा. विवेककुमार लालले बताए। एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु रोग सर्छ। ‘रोग संक्रमण बढ्दो छ’, निर्देशक डा. लालले भने, ‘नियन्त्रण चुनौतीपूर्ण छ।’

प्रादेशिक रूपमा प्रदेश १ मा सबैभन्दा बढी ३ हजार १ सय ५२ जना बिरामी छन्। दोस्रोमा प्रदेश ३ का बासिन्दा डेंगुबाट प्रभावित छन्। यहाँ १ सय २६ जना बिरामी भएको विभागले जनाएको छ। तेस्रोमा प्रदेश ५ का स्थानीय पीडित छन्। यो प्रदेशमा ९६ जनामा संक्रमण भएको छ। कर्णाली प्रदेशमा पनि यो वर्ष एक जनामा डेंगु संक्रमण देखिएको छ।

वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यसको संक्रमण बढ्ने गरेको छ। सहरोन्मुख क्षेत्रका बासिन्दा प्रभावित छन्। सहरी क्षेत्रमा घरको छतमा राखिएका पानी ट्यांकी, खाली ड्रम, फूलदानी, गमला, कुलर र सडकका खाल्डाखुल्डीमा जमेको पानीमा लामखुट्टेले फुल पार्ने गरेको डा. लालले बताए।

सरकारले लामखुट्टेको वासस्थान नष्ट गर्ने अभियान सञ्चालन गरे पनि प्रभावकारी देखिएको छैन। ‘उपचारभन्दा पनि लामखुट्टे नियन्त्रण आवश्यक छ’, उनले भने, ‘सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्यको खाँचो छ।’

विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलका अनुसार डेंगु संक्रमण बढ्दै गए पनि बिरामीमा जटिलता देखापरेको छैन। भाइरसका कारणबाट हुने भएकोले यसको खास उपचार पनि छैन। डेंगुविरुद्धको खोप तथा खास उपचारसमेत नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु मुख्य उपाय हो। ‘लामखुट्टे जीवित रहेसम्म डेंगुको जोखिम रहन्छ’, उनले भने, ‘सहरोन्मुख क्षेत्र र आधुनिक जीवनशैलीले गर्दा रोग नियन्त्रण गर्न सजिलो छैन। दक्ष जनशक्ति र स्रोतसाधनको पनि अभाव छ।’लामखुट्टे नष्ट गर्न ११ करोड

डेंगु रोग सार्ने एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको वासस्थान नष्ट र कीट खरिद गर्न सरकारले दुई वर्षमा झन्डै ११ करोड खर्च गरेको छ। महाशाखाका अनुसार गत वर्ष डेंगुलगायत कीटजन्य रोगका लागि केन्द्रमा १ करोड २० लाख रुपैयाँ खर्च भएको थियो। प्रदेश तहमा ४ करोड ८३ लाख र स्थानीय तहमा १ करोड ९० लाख खर्च भयो।

कीटजन्य रोगमध्ये डेंगुले प्रकोपको रूप लिएपछि यो वर्ष केन्द्रमा १ करोड ७० रुपैयाँ विनियोजन गरिएको छ। लामखुट्टेको वासस्थान खोज्न र नष्ट गर्न स्थानीय तहमा १ करोड ६६ लाख रुपैयाँ विनियोजन भएको छ। मुलुकभर डेंगु नियन्त्रण गर्न ३ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिए पनि रोग नियन्त्रण हुन सकेको छैन। डा. लालका अनुसार रोग नियन्त्रणका लागि जनता सजग हुनुपर्छ। लामखुट्टेको वासस्थान नष्ट नगर्नेलाई कानुनी कारबाही गर्नुपर्ने उनको भनाइ छ।

रोग नियन्त्रण गर्न दक्ष जनशक्ति र बजेट अभाव भएको महानिर्देशक डा. प्याकुरेलले बताए। भने, ‘सूचना व्यवस्थापन पनि प्रभावकारी हुन सकेको छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.