पूर्वाधार विकास प्राथमिकतामा

पूर्वाधार विकास प्राथमिकतामा

संघीय संरचनाअनुसार आफैं नीति नियम, कानुन निर्माण गर्दै स्थानीय सरकारले कार्य सञ्चालन गरिरहेका छन्। जनप्रतिनिधिले योजनाअनुसार गतिविधि सञ्चालन गरिरहेका छन्। घोराही उपमहानगर प्रमुख नरुलाल चौधरीले नगर विकास र जनताको अपेक्षाअनुसार पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको जानकारी दिए। आधारभूत सिद्धान्त, आवश्यकताका आधारमा नगरको विकास र बजेट परिचालन गरिएको उनी बताउँछन्।

यसैअनुरूप नगरलाई समृद्ध, आत्मनिर्भर, स्वरोजगारमुखी, नमुना नगर बनाउने पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, वातावरणमैत्री प्रविधियुक्त बनाउन थालिएको हो। त्यसैगरी उद्यमशीलता, शिक्षा, खेल, स्वास्थ्यका योजना पनि अगाडि बढाइएको छ। समग्र नगरको विकास र योजनाबारे अन्नपूर्णकर्मी गोपाल शर्माले नगर प्रमुख चौधरीसँग गरेको कुराकानी :

उपमहानगरलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

नगरलाई क्रियाशील बनाएका छौं। करिब दुई दशक जनप्रतिनिधिविहीन रहेको स्थानीय सरकारमा जनप्रतिनिधि भएर आउँदा धेरै चुनौती सामना गर्नुपर्‍यो। यससँगै ठूलो अवसर पनि प्राप्त भयो।

घोराहीलाई अवसरका रूपमा लिएर विभिन्न गतिविधि सञ्चालन गरेका छांै। समृद्ध एवं वातावरणीय हिसाबले स्वच्छ घोराही, व्यवसायीकरण र सबै क्षेत्रमा विकासको पहुँच पुर्‍याउने अभियान अघि बढिरहेको छ। विकासको गतिले फड्को मारेको छ। घोराहीलाई स्मार्ट सिटी, नमुना सिटी र मैत्री सहर निर्माणका लागि कार्य सञ्चालन गरेका छौं। ‘हाम्रो सहर, राम्रो सहर’ बनाउने अभियानमा छौं। घोराहीको ट्राफिक चोकमा घोडाको स्ट्याचु निर्माण गर्ने तयारीमा छांै। समृद्ध, बालमैत्री र पूर्णसरसफाइयुक्त नगर बनाउने उपमहानगरको लक्ष्य छ।

नगर विकास निर्माणमा के–कति काम भएका छन् ?

विकासको गति तीव्र रूपमा अगाडि बढेको छ। सबै प्रकारका विकासलाई प्राथमिकतामा राखेका छौं। वडा, मुकाम र नगर मुख्यालयसम्म कालोपत्रेले जोड्ने गरी काम भइरहेको छ। यसै वर्ष यो पूरा गर्छौं। १९ वटै वडालाई सडक पहुँचमा ल्याउँदै छौं। दुर्गममा रहेको सैघा, चाख्लिघाट, बस्ती खोलाजस्ता विकट क्षेत्रमा समेत यस वर्ष सडक सञ्जाल पुर्‍याएका छांै। पूर्वाधारमा बाटोलाई प्राथमिकता दिइएको छ। जसले गर्दा कृषि उपज बजारसम्म आइपुग्छ, नागरिकको पहुँच बढ्छ र कृषिलाई आधुनिकीकरण गर्न सकिन्छ।

त्यसैगरी, पानी अभावको संकट टार्न, सिँचाइ व्यवस्थापन र पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्यसाथ ताल–तलैया र ड्याम निर्माणमा जोड दिएका छौं। अहिलेसम्म २० वटा पोखरी र ड्याम बनिसकेका छन्। यसका लागि यस वर्ष पनि ४ करोड रुपैयाँ छुट्ट्याइएको छ। सबै वडामा पोखरी बनेका छन्। पोखरीलाई बहुउपयोगी बनाउने योजना छ।

सहरलाई व्यवस्थित बनाउने योजना के छ ?

सहरमा थुप्रिएको फोहोरको वर्गीकरण गरी आय आर्जन गर्दै छौं। कुहिने फोहोरबाट ग्यास निकाल्ने तयारी भएको छ भने नगल्ने फोहोर बिक्री गरेर आम्दानी गर्दै छांै। नगरलाई हरियाली बनाउने अभियान चलेको छ। सबै सडक हरियाली बनाउन थालिएको छ। त्यस्तै, नगरका सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन सबै वडामा नगर स्वास्थ्य केन्द्र स्थापना गरिएको छ। पूर्वाधार सम्पन्न नभएका वडामा केही दिनमै व्यवस्थापन हुँदै छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि फारम भरेका विपन्न, गरिब युवायुवतीलाई स्वरोजगार बनाउन कुखुरा पालनतर्फ आकर्षण गर्ने योजना छ। त्यसका लागि तीन सय कुखुराका चल्ला उपलब्ध गराउने भएका छौं। यससँगै कृषिसम्बन्धी नियमित अनुदान चलिरहेको छ। शिक्षा क्षेत्रको सुधारका लागि पनि राम्रा प्रयास भएका छन्। दरबन्दी मिलानदेखि विद्यालय मर्ज, शैक्षिक गुणस्तर र सिकाइमा प्रभाव पार्ने प्रयास जारी छ।

विकास निर्माणमा के–कस्ता चुनौती सामना गर्नुपर्‍यो ?

आफैं कानुन बनाउने, आफैं काम गर्ने गहन जिम्मेवारी वहन गर्दा अपेक्षा गरेअनुसार विकास हुन नसकेको अनुभूति भएको छ। आगामी वर्ष योजनाअनुसार विकासले फड्को मार्नेछ। कानुन निर्माण र कर्मचारी समायोजनले केही समस्या ल्याएको थियो। गत वर्ष १ अर्ब ४९ करोडको बजेट नगरका लागि छुट्ट्याइएको थियो। यस वर्ष १ अर्ब ७८ करोड बजेट छ। यस वर्ष केही ठूला योजना पूरा हुनेछन्।

समृद्ध नगरका लागि भावी योजना ?

नगरले गरेका सबै गतिविधि समृद्धि उन्मुख छन्। सबै ठाउँमा सडकको पहुँच पुगे कृषकमा समृद्धि आउँछ। औद्योगीकरणको विकास भए उद्योगी व्यापारीमा समृद्धि आउँछ। पूर्वाधार विकासको पहुँच बढे नागरिक समृद्ध हुन्छन्, रोजगार सिर्जना हुनु र श्रमको सम्मान हुने अवस्था आए घोराही समृद्ध बन्छ भन्ने सोचअनुरूप गतिविधि सञ्चालन गरेका छौं।

वडामा विकास समानुपातिक भएन भन्ने गुनासो छ नि ?

घोराही उपमहानगरमा समानुपातिक रूपमा विकास भएको छ। आवश्यकताका आधारमा समानुपातिक विकास गरेका छौं। वडाको कुरामा पनि त्यही लागू हुन्छ। नगरले गर्ने हरेक विकास वडाकै माग र सिफारिसमा हुने हो। त्यसकारण पनि विकासमा विभेद छैन।

अहिले पनि प्रत्येक वडालाई एक/एक करोड रुपैयाँ विनियोजन गरेका छौं। त्यसले पनि भएन भने आवश्यकताअनुसार समानुपातिक विकास गर्छौं। नगरको विकास समानुपातिक तवरले भएको छ।

विकास निर्माणका लागि भावी योजना के छन् ?

 नगर विकासका लागि थुप्रै योजना अगाडि सारेका छौं। त्यसमा पनि केही महत्वपूर्ण योजनाका रूपमा रहेका छन्।पहिलो, नगरको प्रोफाइल निर्माण हो। त्यो अन्तिम चरणमा पुगेको छ। त्यसैको आधारमा नगरको वस्तुस्थिति तयार हुन्छ। दोस्रोे, नगरको गुरुयोजना निर्माण रहेको छ। त्यसमा पनि काम अगाडि बढिरहेको छ। गुरुयोजना बन्दै छ। यसका आधारमा काम गर्न सहज हुनेछ। तेस्रो रहेको छ, एकीकृत सहरी विकास योजना। यी योजना नहुँदा काममा समस्या आएको थियो। अब सहज हुने भएको छ।

जनतासँग यहाँको प्रत्यक्ष अनुभूति कस्तो रहेको छ ?

जनप्रतिनिधिका रूपमा जिम्मेवारी सम्हालेको यो दोस्रो पटक हो। पहिले रामपुर गाविस अध्यक्ष भएर एक कार्यकाल बिताएँ। अहिले नगर प्रमुख भएर आएको छु। सार्वजनिक पद भएकाले सबैलाई समान व्यवहार गरेर काम गर्दा आनन्द अनुभूति भएको छ।

यसले जनतासँगको सम्बन्ध बढाएको छ। काममा उत्साह थपेको छ। जनताकै सल्लाह सुझावमा काम गरेको छु। जनतासँग हातेमालो गरेर अगाडि बढेको छु। यसलाई मैले ठूलो अवसरका रूपमा पनि लिएको छु।

हालसम्म भएका महत्वपूर्ण काम के–के हुन् ?

खास गरी चार/पाँच वटा विषयलाई विशेष महत्व दिएको छु। पहिलो, नगरको सेवा प्रवाहलाई प्रविधिमैत्री बनाइएको छ। अनलाइन सिस्टमबाट १९ वटै वडामा काम सुरु भएका छन्।

पानी बचाउने अभियानअन्तर्गत पोखरी र ड्याम निर्माण गरिएको छ। त्यस्तै, फोहोर व्यवस्थापनमा उल्लेख्य काम गरेका छौं। पूर्वाधार विकास त्यसमा पनि बाटो कालोपत्रे गरिएको छ। स्वास्थ्य एवं शिक्षा सुधारका लागि नीतिगत प्रयास थालेका छौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.