बालकथा : पैसा फल्ने रूख
एकादेशमा शीतल नाम गरेको एउटा गाउँ थियो। नामअनुसारकै प्राकृतिक शीतलता यस गाउँमा अनुभव गर्न सकिन्थ्यो। साँच्चै भन्ने हो भने यो गाउँ प्रकृतिको अनुपम उदाहरण थियो। गाउँ आउने जोकोही यहाँको सुन्दरताले मोहित हुन्थे। स्कुल नजिकैको चौतारीबाट गाउँको मनमोहक दृश्यलाई प्रस्टसँग नियाल्न सकिन्थ्यो। यो चौतारीमा गाउँलेको बाक्लै उपस्थिति हुने गथ्र्यो। स्वच्छ हावा प्रदान गर्ने चौतारीबाट निस्कने सुसेली भाका र चराहरूको चिरबिर आवाजले सबैको मन प्रफुल्लित बनाउँथ्यो। एक दिन गाउँलेले यही चौतारीमा बसेर गफ चुट्दै गर्दा त्यहाँ नजिकै धर्ती फाटेको देखे। यसो गएर हेरेको त अजीव खालको बिरुवा उम्रँदै रहेछ। देश खाएर शेष भइसकेका बूढाहरूले पनि यो यसैको बिरुवा हो भनेर छुट्ट्याउन सकेनन्। केही समय पर्खेर बसे रूख ठूलो हुन्छ अनि यसैको रूख रहेछ भनेर थाहा पाइहालिन्छ नि भन्ने उनीहरूले सोचे।
समय बित्दै गयो। रूख पनि हुर्कंदै गयो। अब चौतारीमा बस्ने जोकोहीको आँखा यही रूखमा पर्न थाल्यो। तर पनि यो रूखको नामका बारेमा सबैजना अनभिज्ञ नै रहे। आफ्नो जीवनकालमा यस्तो रूख कहिल्यै नदेखेकाले बूढाबूढीहरू पनि चकित पर्न थाले। बिरुवामै अजीव देखिएको यो रूख हुर्कने क्रममा पनि अजीव प्रकृतिकै देखिन थाल्यो। दिनानुदिन यो रूख बढ्दै गई वरिपरिका अरू रूखहरूको तुलनामा अत्यन्तै ठूलो देखियो। कैयौं कोस परबाट नै यो रूख अरूभन्दा फरक रहेको प्रस्टै छुट्ट्याउन सकिन्थ्यो। टाढाटाढाबाट पनि यो केको रूख होला भनी हेर्न आउने मानिसको घुइँचो लाग्न थाल्यो। स्कुल पढ्ने बालबालिका र पढाउने शिक्षकहरू पनि स्कुल आउँदा र घर फर्कने बेला दिनको दुईचोटिसम्म यो रूखलाई नियाल्न थाले। बालबालिकाले यो केको रूख हो भनी जिज्ञासा राख्दा शिक्षकहरूबाट पनि सही उत्तर आउन सकेन। शिक्षकहरू पनि यसका बारेमा अध्ययन तथा अनुसन्धान गर्न थाले।
यो रूख पूरै काँडैकाँडाले भरिएको थियो। तर यसबाट आउने सुगन्धले केही बिरामीको रोगसमेत निको भयो। विस्तारै विस्तारै रूखका हाँगाहरूमा विभिन्न देवीदेवताका मूर्तिहरू देखा पर्न थाले। यसले गर्दा कतिले त यो रूखमा देवताको बास छ भनेर पूजाआजा पनि गर्न भ्याए। अझ अचम्मको कुरा त यति ठूलो भइसक्दा पनि यो रूखमा एउटा पनि पात देखिएन। अब गाउँभरि यही रूखको विषयमा मात्र कुरा हुन थाल्यो। रूखको सामीप्यताले रोग निको भएका बिरामीहरूले त यो अमृतकै रूख हो भन्न थाले। दैनिक सयौंको संख्यामा मानिसको उपस्थिति यो रूखको वरिपरि हुन थाल्यो। यसको सामीप्यता जोकोहीलाई पनि हितकर देखियो। स्कुलनजिक रहेकाले यसको सुगन्धबाट बालबालिकामा सकारात्मक प्रभाव पर्न गयो। पढाइप्रति उनीहरूमा छुट्टै ऊर्जा प्राप्त हुन थाल्यो। चौतारीको हावामा पनि छुट्टै मिठासको अनुभूति पाइन थाल्यो।
विस्तारै यो रूखमा पातहरूजस्तो केही चिज देखा पर्न थाले। त्यो पातहरूजस्तो चिज अरू केही नभएर पैसा थिए। अब त यो रूखमा पैसा पो फल्न थाल्यो। त्यो पनि हजार हजारका रुपैयाँका नोटहरू फल्न थाले। अब गाउँका सबै अरू काम छाडेर रूखबाट पैसा कसरी टिप्न सकिन्छ भन्ने तिर लागिपरे। तर कसैले पनि यसबाट पैसा टिप्न सकेनन्। यसको रहस्यका बारेमा थाहा पाएर एकजना प्रसिद्ध आध्यात्मिक गुरु अध्ययन गर्न भनी आए। धेरै दिनको अध्ययनपछि उनी के निष्कर्षमा पुगे भने अन्धभक्त भएर मानवता नै लिलाममा राखी पैसाको पछि लाग्ने मानिसले यसबाट पैसा टिप्न सक्दैनन्। यसको पैसा टिप्ने हो भने आफूमा भएको छलकपट हटाई निःस्वार्थ भावले सबै मानवको कल्याणमा जुट्न सुझाव दिए।
देशमा नैतिकताको खडेरी परेकाले यस्तो भएको उनको तर्क थियो। जब मानिसमा मानिस नभएर राक्षसी प्रवृत्ति हावी हुन्छ तब यस्तो समस्या आउँछ भन्ने उनको बुझाइ थियो। अहिलेका निर्दोष बालबालिकामा नैतिकताको कमी हुन नदिई अरूको हितमा नै आफ्नो हित रहेको सिकाउन सके भविष्यमा उनीहरूले यस्तो पैसा टिप्ने मात्रै होइन, देशको समृद्धितर्फ अघि बढ्न सक्ने उनले प्रस्ट पारे।
मेहनती र अनुशासित ढंगले उचित शिक्षा हासिल गरेमा भविष्य उज्ज्वल हुने कुरा गाउँलेहरूले बल्ल बुझे। अब भने आफूहरूमा रहेको स्वार्थीपना हटाउने अठोटमा उनीहरू पुगे। अरूलाई झुक्याएर तथा फसाएर आफू माथि जान्छु भनी सोचेमा आफ्नो आत्माले आफैंलाई सराप्ने कुरामा उनीहरू प्रस्ट भए। पैसा त रूखमैै फले पनि सजिलोसँग टिप्न सकिने रहेनछ भन्ने उनीहरूको बुझाइ रह्यो। यसका लागि मेहनत र अनुशासन चाहिन्छ भन्ने जाने। अब भने आफ्ना छोराछारीलाई सत्मार्ग सिकाउनेमा उनीहरू एकमत भए। मेहनत गर्न सक्यो भने सही बाटोबाट जता पनि पैसा फलाउन सकिन्छ भन्ने उनीहरूले बुझे।