भाइरल बन्दै दीक्षाको नृत्य

भाइरल बन्दै दीक्षाको नृत्य

धादिङ : युट्युबमा एउटा गीत चर्चित छ, ‘यो दिलमा तिम्रै नाम भाइरल भइदियो।’ विष्ट अफिसियलको च्यानलबाट अपलोड भएको उक्त भिडियो हालसम्म दुई करोड ८२ लाखभन्दा बढी पटक हेरिएको छ। यो गीत यति भाइरल हुनुमा दीक्षा ठकुरीको आकर्षक नृत्य पनि एक हो।

उमेरले भर्खर आठ वर्ष टेकेकी भए पनि अद्भुत नृत्य गर्ने कला दीक्षासँग छ। त्यही कलाकै कारण सबैलाई चकित बनाएर उनले सानै उमेरमा वाहवाही पाउन थालेकी छिन्। यतिखेर उनलाई धादिङकी सेलिब्रेटी भन्दा फरक नपर्ने भएको छ।

उनले नृत्य गरेका कभर गीतहरू युट्युबमा लाखांै पटक हेरिएको छ। कुन्ती मोक्तानले गाएको हिजो राति सपनीमा, प्रियंका कार्कीले नाचेको शिरैमा शिरबन्दी, बाबुबाजेको पालाको जस्ता गीतहरूको कभर नृत्यमा प्रत्येक नृत्यलाई ४० लाखको हाराहारीमा हेरिएको छ।

दीक्षाले भाइरल भइदियो भन्ने गीतमा नृत्य गरेपछि करेन्ट तयारी चाउचाउको विज्ञापनमा समेत खेल्ने अवसर पाएकी थिइन्। दीक्षाको नृत्य कौशलबाट प्रभावित भएर इन्टरनेट कम्पनी वल्र्डलिंकले आफ्नो प्रचारप्रसार गर्नको लागि पूर्वका चार सहरहरू झापा, विराटनगर, इलाम र धरानमा दीक्षाको कन्सर्ट नै गरायो। त्यसबापत उनलाई वल्र्डलिंकले राम्रै पैसा पनि दिएको कुरा बुवा भेषराज ठकुरीले बताए।

भाइरल भइदियो भन्ने गीतपछि त्यही टिमले निकालेको ‘हिरो’ नामक गीतको गएको चैतको अन्तिम साता सुटिङ गरिएको थियो। यसलाई अहिले बजारमा ल्याउने अन्तिम तयारी भइरहेको छ।

तीन वर्षकै उमेरमा नृत्य गर्न थालेकी दीक्षा जिल्ला सदरमुकामकै चिल्ड्रेन पार्क उच्च माध्यमिक विद्यालयमा कक्षा ४ मा पढ्छिन्। दीक्षाको पहिलो पटक नृत्य हेरेर धेरैले प्रशंसा गरेको उनका बुवा भेषराज ठकुरी बताउँछन्। उनले भने, ‘घरमा पनि टीभीमा गीत बजेको बेला नाचिरहने बानी थियो। बालदिवसको दिन घर नजिकै भएको सांस्कृतिक कार्यक्रममा म पनि नाच्छु भनेर कर गरिन्।, उनको त्यही स्टेज नै पहिलो स्टेज थियो। सबैले उनको नृत्यको प्रशंसा गरेपछि उनलाई नृत्य सिक्ने कक्षामा भर्ना गरिदिएँ।’ टिपिकल नेपाली गीतहरूमा नाच्न र गीतको शब्दअनुसार हाउभाउ निकाल्न दीक्षा खप्पिस रहेकी छिन्।

‘भाइरल भइदियो’ गीत पछि दीक्षालाई भिडियो खेल्ने र महोत्सवहरूमा नृत्य गर्ने थुप्रै अफर आएको दीक्षाकी आमा कृपा ठकुरीले बताइन्। ‘सानी छ, भर्खर स्कुल जान थालेकी छ।’ कृपाले भनिन्, ‘चर्चाभन्दा पनि अहिले पढाइ ठूलो भएकाले विद्यालय बिदा भएको समयभन्दा बाहेक अरू बेला कतै पठाउने गरेको छैन।’

धादिङवेसीमा हुने कुनै पनि सभा समारोहमा जब कुन्ती मोक्तानले गाएको ‘हिजो राति सपनीमा’, हाउ फन्नी फिल्मको ‘शिरैमा शिरबन्दी’ लगायतका ट्युनमा गीत बज्न थाल्छ, तब कार्यक्रमका सबै सहभागीहरू हुटिङ र ताली बजाउँदै दीक्षाको नाम लिन थालिहाल्छन्। उनको ख्याति र चर्चा यति धेरै छ कि जिल्लाभरमा हुने जुनसुकै सांस्कृतिक कार्यक्रम होस् या खेलकुद प्रतियोगिता होस्, महोत्सव, आयोजकले उनलाई नचाउन लगेकै हुन्छन्।

दीक्षालाई हाल नृत्य सिकाइरहेको नृत्य प्रशिक्षकले पनि दीक्षामा नाच्ने अद्भुत कला भएको बताए। दीक्षाले जुनसुकै प्रकारको गीतमा पनि सजिलै नाच्ने गरेको र कुनै पनि गीतमा धेरैबेर सिकाउनै नपर्ने दीक्षाकी नृत्य प्रशिक्षक मित्र तामाङले बताए। तामाङले भने, ‘दीक्षालाई सिकाउन कुनै पनि गीत अप्ठ्यारो भन्ने नै हुँदैन, पश्चिमा संस्कृतिको गीत, हिन्दी भाषाको गीत, पप गीतमा सजिलै स्टेपहरू समात्ने गरेकी छिन्।’ समूहगत रूपमा नृत्यको कोरियोग्राफी गर्दा अरूलाई सिक्न दुई दिन लाग्ने गीतहरूमा दीक्षाले तीन घण्टामै सिक्ने मित्रले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.