भोगटेको फुटबल खेल्थ्यौं
मेरो जन्म काठमाडौंको नरदेवीस्थित तुन्छे गल्लीमा भएको हो। म ६ महिनाको हुँदा पिताजी ताहाचल, छाउनीमा सर्नु भएछ। त्यहीँ हाम्रो बाल्यकाल बित्यो। त्यसबेला छाउनी ठूलो टुँडिखेल जस्तो थियो। त्यहाँ ठूलाठूला पोखरीहरू थिए। हामी जानी नजानी पौडी खेल्थ्यांै। त्यहाँको पानी कहिले ज्यादै फोहोर हुन्थ्यो त कहिले सफा।
हामी भोगटेको फुटबल खेल्थ्यौं। हामीभन्दा ठूला दाजुहरूले फुटबल खेलेको देख्दा लोभ लाग्थ्यो। पछि विद्यालयमा फुटबलका लागि अनुरोध गर्यौं। विद्यालयले दुःखसाथ किनिदियो। हामी खुसी भयौं। उक्त मैदानमा चारैतिरका मानिस भेला हुन्थे। हालको महेन्द्ररत्न क्याम्पस भए ठाउँमा अभ्यास हाइस्कुल थियो। हामीले एसएलसी दिएपछि भने उक्त स्कुल दरबार हाइस्कुलमा गाभियो। त्यहाँ पढ्दा पनि छाउनीको मनोरम प्राकृतिक वातावरणमा घुलमिल हुने मौका मिलिरह्यो। हाम्रो पालामा स्कुल जाँदा झोला बोक्ने, खाजा लाने चलन थिएन। आफूसँग पैसा भए केही किनेर खाइन्थ्यो नत्र बेलुका घर पुगेर मात्रै खाने चलन थियो।
त्यसबेला सरकारी विद्यालयका कक्षाहरू खाली हुँदैनथे। अतिरिक्त क्रियाकलाप पनि बरोबर भइरहन्थे। हाम्रो विद्यालयमा प्रत्येक शुक्रबार साहित्यिक कार्यक्रम हुन्थ्यो। वादविवाद कार्यक्रममा म पनि भाग लिन्थेँ। अन्य सांस्कृतिक कार्यक्रममा भने म सहभागी भइनँ। त्यस्ता कार्यक्रमले सामाजिकीकरण सिकाउँथ्यो। किताब पढ्दा सुरुदेखि अन्तिम पानासम्म नपढुन्जेल पढेजस्तो लाग्दैनथ्यो। त्यो बानी आजपर्यन्त ममा छँदैछ।
त्यसबेला गृहकार्य अनिवार्य रूपमा गर्नै पथ्र्यो। गृहकार्य नगर्नेलाई सामान्य शारीरिक दण्ड सजाय गर्ने चलन पनि थियो। त्यसै बेलादेखि कसैले लगाएको काम अनिवार्य रूपमा गर्नै पर्छ भन्ने बानी लाग्यो। त्यस्तो काम पुरा नगर्दा आज पनि केही कुरा गुमेजस्तो लागिरहन्छ। विद्यालयमा ठूला भ्रमण हुँदा उत्सव मनाइन्थ्यो। त्यस्ता कार्यक्रममा युवाहरू कसरी प्रस्तुत हुनुपर्छ भन्ने कुरा पनि सिक्ने मौका मिल्यो।
हामी किनमेलका लागि असन, इन्द्रचोक, गणेशथान पुग्थ्यौं। त्यहाँ नपुगुन्जेल सामान पाइँदैन जस्तो लाग्थ्यो। त्यसबेला बजारमा पनि धाराकै पानी खाने चलन थियो। होटलहरू पनि धेरै थिएनन्। हामी भीमसेनस्थान नजिकैको धारामा पानी खान्थ्यौं। त्यसबेला विष्णुमतीलगायतका नदीहरू सफा थिए। हामी जनैपूर्णिमालगायतका चाडबाडमा नुहाउन विष्णुमती जान्थ्यौं। यताउता जाँदा हिँडेरै जाने चलन थियो। हामी कमलपोखरीस्थित मामाघर जाँदा अनि पशुपति जाँदासमेत हिँड्थ्यौं। पछि दक्षिणकाली जाँदा लरी चढेर गएको सम्झना पनि ताजै छ। त्यसबेला ताहाचल छुट्टै अर्थात् बाहिरी संसार जस्तै थियो। साँझ परेपछि भीमसेनथानबाट ताहाचल पुग्न साथी नै चाहिन्थ्यो। मलाई पनि चारपाँच जना साथीहरू मिलेर पुर्याउन आउँथे। विष्णुमती पारि पुर्याएर फर्किन्थे।
पिताजी पठनपठनमा लागिरहनुहुन्थ्यो। उहाँले कहिल्यै परीक्षा दिनुभएन। पछि उहाँले रामायण पनि लेख्नुभयो। आमाले औपचारिक रूपमा शिक्षा लिनु भएको थिएन। तर पनि पढाइका सबै कुरा बुझ्नु हुन्थ्यो। हामीले एसएलसी दिँदा उहाँलाई हाम्रा सबै विषय कण्ठ जस्तै थियो। उहाँले नै हामीलाई परीक्षाको तयारी गराउनुहुन्थ्यो। मैले आईए प्राइभेट परीक्षा दिएर पास गरेँ।। बीए पाटन कलेजबाट पूरा गरेँ। एमए त्रिभुवन विश्वविद्यालयबाट गरेँ।
पछि ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा आमसञ्चार विषय पढ्न बेलायत गएँ। यता आएर ‘द कमनर’ लगायतका पत्रिकामा लेख्न थालेँ। त्यसबेला बाइलाइन लेख्ने चलन थिएन। सोखका लागि लेख्ने गरिन्थ्यो। कुनै सञ्चार माध्यममा जागिर खाने भन्ने कुरा थिएन। मैले त्यसबेलाका सबै सम्पादकसँग प्रत्यक्ष परोक्षरूपमा काम गरेँ। राष्ट्रिय समाचार समितिमा २० वर्ष काम गरेँ। पछि नेपाल समाचारपत्रमा सल्लाहकार सम्पादक भएर पनि काम गर्ने अवसर पाएँ।
पत्रकारिता एउटा विद्यालय जस्तै हो। नियमित लेख्ने, पढ्ने र सुन्ने बानीले पत्रकारितासँगै बग्न सिकाउँछ। पत्रिकाले भाषा सिकाउँछ। आफ्नो भाषा र सञ्चारमाध्यमको भाषासँग तुलना गर्न सिकाउँछ। समाजसँग नजिक पुर्याउँछ। जब हामीमा कुनै पनि कुरा हो वा होइन भन्ने जिज्ञासा पैदा हुन्छ, आफैंसँग दोहोरो संवाद हुन थाल्छ। अनि मात्र केही कुरा सिकिन्छ। नबुझेको कुरा सोध्ने बानी लाग्छ। यसका लागि पनि विद्यार्थीले पढ्नैपर्छ। सुरुसुरुमा थोरै सामग्री बुझेर पढे पुग्छ। रेडियो टेलिभिजनका कार्यक्रम पनि मनोरञ्जनका लागि मात्र हुँदैनन्। त्यसबाट पनि सिकिन्छ। यसलाई पनि पाठ्यपुस्तककै रूपमा लिनुपर्छ।
हामीले धेरै पछि मात्र टेलिफोन देख्यौं। त्यसबेला मोबाइलको कल्पना पनि थिएन। अहिले भने भाइबहिनीका हातहातमा मोबाइल छन्। हामीले नयाँ प्रविधि सिक्नु आवश्यक छ। मोबाइल चलाउन सिक्नु जरुरी छ। यस्ता सामग्री आधुनिक किताब नै हुन्। निरन्तर सिकाउने माध्यम हुन्। तर पढ्ने र खेल्ने समय त्यसमा खर्चिनु हुँदैन। समयको सन्तुलन मिलाउन अभिभावकको सहायता लिनुपर्छ। उहाँहरूका सामुन्नेमा मात्रै चलाउनु पर्छ। सल्लाह सुझाव मान्नुपर्छ।
मिडिया बुझ्ने र नबुझ्ने विद्यार्थीमा अन्तर हुन्छ। मिडियाले संसार देखाउँछ, बुझाउँछ। नत्र आँखै अगाडको संसार मात्रै प्यारो लाग्छ। आफ्नौ दैनिकी र स्वास्थ्य नबिगारी मिडियालाई पनि प्रयोग गर्ने बानी बसाल्नुपर्छ। मोबाइल ल्यापटपजस्ता सामग्रीलाई पनि जीवनका निम्ति चलाउने आदत बसाल्नु पर्छ।
(आमसञ्चार तथा पत्रकारिताका प्राध्यापक रेग्मीसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)