‘चालकका लागि बर्खा डरैडरको याम हो’
गाडी चलाउन थालेको चार वर्ष भयो। बाल्यकालमा खासै पढ्न मन गरिएन। ठूलो भएपछि घरमा गाडी किनिदिनुभयो। बिस्तारै–बिस्तारै गाडी चलाउन सिकियो र यसै लाइनमा लागियो। घर नेपालगञ्ज भएकाले त्यही रुटमा गाडी हालियो। अन्य रुटभन्दा आफ्नै ठाउँमा गाडी चलाउन सहज लाग्यो। काठमाडौँबाट नेपालगञ्ज पुग्न १२–१३ घण्टा लाग्छ। जाम पर्यो भने कति समय लाग्छ, भन्न सकिँदैन।
घरखर्च चलेको छ
यस पेशाले घरपरिवार पाल्न मज्जाले पुगेको छ। महिनामा ४०–५० हजार रुपैयाँसम्म कमाइ हुन्छ। आफ्नै गाडी भएकाले कसैलाई पैसा बुझाउनुपर्दैन। आम्दानीजति आफ्नै हुन्छ। कहिलेकाहीँ गाडी बनाउन खर्च गर्नुपर्छ। आफैँ चलाउने भएकाले ड्राइभरको तलब पनि बचेको छ। जे होस्, गाडीबाट जहानपरिवारको आवश्यकता पूरा गरिएको छ।
हाम्रा लागि प्यासेन्जर देउता हुन्। उनीहरूले गर्दा हाम्रो घरखर्च चल्छ। कतिपयले ‘गाडी लाइनमा राम्रो कमाइ छैन, अरू काम गर्’ भन्छन्। तर, मलाई त गाडी लाइन नै प्यारो लाग्छ। आफ्नो काम र कमाइबाट सन्तुष्ट छु।
सेन्टी गीत मन पर्छ
गाडी चलाउँदा प्रायः प्रमोद खरेलको गीत सुन्ने गर्छु। उनको गीतले मन छुन्छ। गीत स्पिकरमा बजाउने गर्छु। प्यासेन्जरलाई गीत मन परेन भने सानो आवाजमा सुन्ने गर्छु। कोही–कोही प्यासेन्जर कस्तो दुःखी गीत बजाएको भनेर कराउने गर्छन्। तर, मलाई त सेन्टी गीत नै मन पर्छन्।
घुम्न पाइन्छ
ड्राइभरको पेशामा आफ्नो इच्छाअनुसार घुम्न पाइँदैन। गाडी रिजर्भ भई जहाँ–जहाँ जान्छ, त्यही ठाउँ मात्र घुम्न पाइन्छ। गाडीले गर्दा थुप्रै ठाउँ घुम्ने मौका पाएको छु। दार्जिलिङ, पोखरा, मुस्ताङ, इलामजस्ता रमाइला ठाउँ पुगेको छु। त्यहाँको चालचलन, रहनसहनले लोभ्याउँछ। अहिलेसम्म घुमेकामध्ये मुस्ताङ मन पर्छ।
बर्खामा गाडी चलाउनै गाह्रो
बर्सातमा गाडी चलाउन निकै कठिन हुने गर्छ। सबैतिर बाटो बिग्रिएको हुन्छ। पहिरोले गर्दा गन्तव्यसम्म पुग्न कति समय लाग्छ भन्ने ठेगान हुँदैन। बर्खा याम डरैडरमा बित्छ। राम्रो भनिएका बाटोमा पनि पानी परेपछि जाम हुन थाल्छ। साँच्चै भन्ने हो भने मलाई बर्खामा गाडी चलाउन दिक्क लाग्छ।
प्रस्तुतिः आशक्ति