योजनाअनुसार बनेन पुल

योजनाअनुसार बनेन पुल

काठमाडौं : काठमाडौं महानगरपालिकाले बनाउन लागेको आकाशे पुल निर्माण योजनाअनुसार सुरु गरिएको छैन। महानगरपालिकाले ०७४/७५ मा आफ्नो क्षेत्रभित्र १० वटा आकाशे पुल बनाउने योजना अघि सारेको थियो। महानगरले चाबहिल, जयबागेश्वरी, माइतीघर, टेकुलगायत १० ठाउँमा आकाशे पुल निर्माण गर्ने कार्यक्रम बनाएको हो। तर, योजनाअनुरूप निर्माण सुरु भएको छैन।

महानगरले ५ वर्षमा दशवटा आकाशे पुल निर्माण गर्ने लक्ष्य राखेको थियो। लक्ष्य पूरा गर्न १२ करोड रुपैयाँ छुट्ट्याएको थियो। काम सुरु गर्न ०७४/७५ लाई आधार वर्ष मानेको थियो। आधार वर्षमा स्थान छनोटलगायत कार्यक्रम समावेश थिए। महानगरले योजनाअनुसार पहिलो वर्षमा कम्तीमा तीनवटा आकाशे पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो। तर, पहिलो वर्षमा काम सुरुसमेत हुन सकेन। कामको जिम्मेवारी महानगरपालिकाको सहरी पूर्वाधार विकास विभागलाई थियो। विभागले अहिलेसम्म काम थालेको छैन।

महानगरका प्रवक्ता ईश्वरीमान डंगोलले भने काममा टेन्डरलगायत विषयमा लामो समय लागेकाले निर्माण ढिलो भएको जानकारी दिए। ‘टेन्डर प्रक्रिया नै लामो हुँदो रहेछ,’ उनले भने, ‘जसले काम सुरु हुन समय लाग्यो। सबै प्रक्रिया सकिएको छ, चाँडै काम सुरु हुन्छ।’ काम सुरु नभएकाले बजेट पनि खर्च नभएको उनले बताए। उनले माइतीघरमा आकाशे पुल निर्माण गर्न ठेक्का दिइएको जानकारी दिए। मौसमको अवस्था हेरेर चाँडै काम सुरु गर्ने उनले बताए।

पुलमा जताततै व्यापार गर्न दिइएको छ। यात्रु पनि आकाशे पुलभन्दा सडकबाटै बाटो काट्न सहज मान्छन्।

अहिले सबै ठाउँमा आकाशे पुल नहुँदा सडकमा जामको समस्या भएको छ। पैदल यात्रीलाई पनि उत्तिकै समस्या भएको देखिन्छ। सहरका मुख्य चोकमा आकाशे पुलको व्यवस्था भए ट्राफिक जाम र दुर्घटना पनि केही हदसम्म कम हुने बताउँछन् ट्राफिक प्रहरी परिसर महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेल। ‘अहिले भएका आकाशे पुललाई व्यवस्थित गर्ने र नयाँ थप्ने हो भने ट्राफिक जाम न्यूनीकरण हुन्छ,’ उनले अन्नपूर्णसँग भने, ‘यसले पैदल यात्रुलाई पनि सुरक्षा दिन्छ।’

भएका प्रयोग हुँदैनन्

अहिले धेरै ठाउँमा आकाशे पुल भएर पनि यात्रुले त्यसको प्रयोग गरेको देखिँदैन। बानेश्वर, वीर अस्पतालअगाडि, सुन्धारा, न्युरोडलगायत ठाउँको आकाशे पुललाई उदाहरण मान्ने हो भने पैदल यात्रु पुलबाट भन्दा सडकबाट बाटो काटेको देखिन्छ। यसलाई प्रयोग गर्न लगाउन ट्राफिक प्रहरीको पनि खासै ध्यान गएको छैन। तर, ट्राफिक प्रहरी भने आकाशे पुल व्यवस्थित नभएकाले यसको प्रयोग नभएको बताउँछ। ‘आकाशे पुल बनाएर पुग्दैन, छेउमा रेलिङको व्यवस्था गर्नुपर्छ,’ प्रवक्ता एसपी पौडेलले भने, ‘छेउमा रेलिङको व्यवस्था गर्‍यो भने यात्रु बाध्यताले पुल चढ्छन्।’ आकाशे पुलको प्रयोग कम हुनुमा अर्को कारण त्यहाँ हुने व्यापारलाई पनि लिन सकिन्छ।

पुलमा जताततै व्यापार गर्न दिइएको छ। जसले गर्दा भीड हुने गर्छ। यात्रु पनि आकाशे पुलभन्दा सडकबाटै बाटो काट्न सहज मान्छन्।

पुलमा हुने व्यापारलाई व्यवस्थित गर्ने काम पनि महानगरको हो। तर, यसमा समेत महानगरको ध्यान गएको देखिँदैन। यस विषयमा विभागका निर्देशक उत्तमकुमार रेग्मीसँग अन्नपूर्णले कुरा गर्न खोज्दा उनले प्रतिक्रिया दिन चाहेनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.